Monday, May 10, 2021
Home > समाचार > फेरि चर्चामा आईन् पुलवाली पार्वती! यस्तो छ चर्चामा आउनुको कारण हेर्नुस्

फेरि चर्चामा आईन् पुलवाली पार्वती! यस्तो छ चर्चामा आउनुको कारण हेर्नुस्

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बुस्थित चालिसे गाउँकी शान बनेकी छिन्, पार्वती भण्डारी । झट्ट हेर्दा मोडेलजस्तै देखिने उनी आफ्नो गाउँमा ‘मोडल’ (नमूना) काम गर्ने आँटिली केटीमा गनिएकी छिन् ।

२२ वर्षीय पार्वतीको मुख्य भूमिकामा चिरुरीखर्क–चालिसे झोलुंगे पुल बनेको छ, करिब ३ महिनाको मिहिनेतपछि ।

निकै मिहिनेतका साथ बनाइएको यो पुलले चालिसे गाउँका बासिन्दालाई अब वर्षामा बन्द बाकसभित्र बसेजस्तो खुम्चिनुपर्ने बाध्यता हटाएको छ । ठाडो खेलामा ज्यानकै बाजी मार्दै वारि–पारि गर्नुपर्ने बाध्यता पन्छाएको छ ।

पार्वतीको गाउँमा वस्ती निकै पातलो छ । धेरैजसो भुजेल र घर्तीमगरको बसोबास छ । पढेलेखेका युवा यो गाउँमा खासै छैनन् । भएका युवाहरु सानै उमेर बिहे गरेर घर ब्यवहारमै व्यस्त छन् ।

कृषिमा आश्रित यो गाउँलाई मेलम्ची खोला सँधै खुट्टामा बाँधिएको जञ्जिर जस्तो थियो, जसले पारी जान मात्रै रोकेन र माथि उठ्नै अल्झाइरह्यो । पुलका लागि गाउँलले धेरै आवाज उठाए, तर बजेट आयो भने काम गर्न सकिन्छ भन्ने आँट कसैैले गरेनन् । बजेट दिने निकायले पनि त्यहाँ काम गर्ने मान्छे नै छैनन् भनेर टारिरहे ।

बजेटका लागि गाउँलेले जति पहल गरे पनि पुल बनाउन सक्छौं भनेर अघि तम्सिएर जाने पनि कोही भएनन् । निरक्षरको बस्ती भएकाले आफूहरु हेपिएको भान गाउँलेलाई नभएको हैन । तर, भरपर्दो नेतृत्वको अभावले चालिसे गाउँलाई मेलम्ची नदीले अरु गाउँसँगको सम्बन्ध बिच्छेद गरिरहेको थियो । यही खुम्चिएको परिवेशभित्रै हुर्किएकी हुन् पार्वती । उनैको मुख्य सक्रियतामा भर्खर एउटा झोलुंगे पुल बनेको छ ।

हेलम्बु गाउँपालिकाले झोलुंगे पुलका लागि बजेट दिएपछि उनले यो पुल निर्माण गर्ने समितिको सचविका रुपमा काम गरिन् । उनका गाउँमा सबै जना यसमा जुटे । गाउँमा पढेलेखेका मान्छे नभएपछि पुल निर्माणका लागि उनैले मुख्य भूमिका खेल्नुपर्‍यो ।

पार्वती यसै पनि गाउँका अरु युवाभन्दा भाग्यमानी पनि थिइन् । भुमेश्वरी स्कुलबाट एसएसली पास गरेकी उनले काठमाडौं आएर प्लस–टु पढ्न पाइन् ।

गत वर्ष घरमा भएको पुजाका लागि काठमाडौंबाट गाउँ पुगेकी थिइन्, पार्वती । गाउँबाट काठमाडौं फर्किनुअघि पुल निर्माणको काममा नेतृत्व गर्न गाउँलेले उनलाई अनुरोध गरे ।

पार्वतीलाई त्यो निर्णय लिन सहज थिएन । किनकी उनले काठमाडौंमा पढाइसँगै जागिर पनि गरिरहेकी थिइन् । त्यो पनि नक्कली कपालको कारोबार गर्ने कोरियन कम्पनीमा ।

राम्रो जागिर नै छोड्नु पर्ने अवस्थामा उनलाई यो निर्णय लिन सहज भएन । तर, बुवाले नै उनलाई भने, ‘गाउँमा पढेलेखेका मान्छे छैनन्, पुलको सर्भे भइसक्यो, समितिमा एक जना त पढेलेखेकै मान्छे चाहिन्छ, पुल नबिन्जेल तँ यतै बस् । काम हुन सकेन भने यो पाली पनि पुलको बजेट फर्किन्छ ।’

 

उनले गाउँले र बुवाका अनुरोधलाई नकारिनन् । केही समय पढाइ नै बिग्रिए र जागिर छोड्नु परे पनि गाउँमा बसेर पुल बनाउने कामको नेतृत्व लिने अठोट लिइन् ।

‘हिउँदमा मेलम्चीमा काठे पुलमा भरमा वार–पार गथ्र्यौं हामी, बर्षा लाग्नासाथै काठे साँघु बगाएर लगिहाल्थ्यो, हामी स्कुल गएपछि बुवाआमालाई छोराछोरी फिर्ता आउँछन् कि आउँदैनन् भन्ने पीर हुन्थ्यो,’ उनी भन्छिन्, ‘खोलाका कारण हामीले भोग्नु परेको सास्ती सम्झिएपछि पुल बनाएरै छाड्ने अठोट हामी सबैले गरेका थियौं ।’

पुल नभएपछि बर्षामा घट्ट जान पनि खोला गर्न २ घण्टा हिँड्नुपर्थ्यो । कतिबेला पहिरोले पुर्ने हो भन्ने भर थिएन । स्कुल जाने विद्यार्थीलाई खोला तर्नु भनेको युद्ध जित्नु जत्तिकै थियो । त्यसैले आफ्नो गाउँको यो कष्ठ टार्न सबैसँग मिलेर काम गर्न सकिने निश्कर्षमा उनी पुगिन् । उपभोक्ता समिति बन्यो, उनकी ठूलीआमा सुमित्रा अध्यक्ष चुनिइन्, उनलाई सचिवको जिम्मेवारी दिइयो ।

सुरुमा काम थाल्दा बजेट छुट्टिए पनि हातमा पैसा थिएन । सरसापट गरेर सिमेन्ट किन्न रकम जोहो गरियो ।

‘त्यतिबेला पैसा भएकाहरु कतिले पनि पत्याएनन्, तर धेरैले सहयोग गर्नुभयो,’ उनले भनिन्, ‘हामीले जग हालेपछि अब त काम हुने नै भयो भन्ने पक्का भयो । बजेट पनि आयो ।’

 

५ महिना पार्वती गाउँमै बसिन् । साढे ३ महिना त फिल्डमै खटिइन्, गाउँलेसँगै । सानै उमेर यो जिम्मेवारी निभाउन उनलाई त्यति सहज पनि थिएन, तर उत्ति बिधि गाह्रो पनि भएन ।

रातको एक बजे पुलका समान बोकेका ट्रकहरु काठमाडौंबाट निर्माणस्थलमा पुग्दा उनको मात्रै हैन, गाउँका कसैको भुइँमा खुट्टै थिएन । सबैको मुखमा एकै शब्द थियो ‘अब पुल बन्यो–बन्यो ! ’

त्यसपछि त गाउँमा आँट गर्न नसक्नेहरु पनि ताते । जतिसक्दो छिटो पुल बनाउने अठोटमा सबै एकबद्ध थिए ।

पुल बनाउँदा अनेकन चुनौती पनि आए । लठ्ठा बाँध्ने पिल्लरका लागि खाल्डो खन्दा ठूलो चट्टान भेटियो । चट्टान फोर्न गाउँमा विष्फोटक पदार्थ हुने कुरै थिएन । त्यसपछि परम्परागत जुक्ति फुराइयो, जोखिम मोलेरै नुन पड्काएर चट्टान फुटाइयो ।

‘कसै न कसैले त यो काम गर्नै पथ्र्यो, तिमिले गर भनेपछि किन नगर्ने भनेर आँटेको थिएँ,’ उनले भनिन्,‘सबैको साथ थियो, सहयोग थियो । मैले उहाँहरुलाई र उहाँहरुले मलाई आँट दिनुभयो ।’

हेलम्बुको १ र ६ नम्बर वडा जोड्ने गरी मेलम्ची नदीमाथि झोलुंगे पुल तयार भइसक्यो । यो पुल बनाउन हेलम्बु गाउँपालिकासहित जनहित ग्रामिण सेवा समिति र टिभिएसयुले सहयोग गरेको हो ।

अब चालिस गाउँ जान फड्को तर्नुपर्दैन । अस्तिसम्म दुःख दिइरहने मेलम्ची नदीलाई १४० मिटर लामो पुलले गिज्याउँदै छ । अब गाउँका लागि मेलम्ची नदी समस्याका रुपमा रहेन ।

गाउँलेलाई यो पुल बरदान जस्तो भएको छ । ‘पुलवाली’ पार्वती गाउँ नै एकबद्ध भएर यो काम गर्न पाएकोमा गर्व गर्छिन् ।

उनलाई निकै ठूलो काम गरेँ भने जस्तो चाँही लागेको छैन । गाउँघरको दुःख हटेकोमा भने असाध्यै खुसी भने छिन् । उनी ‘टिम वर्क’बाट नै जटिल काम सम्भव भएको सुनाउँछिन् ।

‘मेरो गाउँका लागि मैले जे गर्न पाएँ, त्यो अवसरभन्दा ठूलो दायित्व हो,’ पार्वती भन्छिन्,‘यति गरेपछि मलाई पनि थाहा भएको छ, कम्तिमा आफ्नो गाउँका लागि सकेको गर्नुपर्ने रहेछ । हामी जस्तो युवाले थोरै आँट गर्दा गाउँघरको ठूला दुःख हटाउन सकिने रहेछ ।’

झोलुंगे पुल बनाउन प्राविधिक सहयोग गरेको संस्था जनहित ग्रामीण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्मा पार्वतीका जनपरिचालन क्षमता देखेर आफूलाई पनि अचम्म लागेको बताउँछन् ।

‘यो उमेरमै यस्तो कठिन काममा उहाँले बलियो नेतृत्व लिनुभयो । उहाँसँग परिचालन र समन्वय क्षमता पनि गजबकै रहेछ,’ शर्मा भन्छन्,‘उहाँले यसो गरौं भनेपछि सबैले सहयोग गर्ने रहेछन् ।’

शर्मा यो पुलमा निकै गुणस्तरीय काम भएको बताउँछन् । कम लागतमै यति लामो र गुणस्तरीय पुल खासै नबनेको उनको भनाइ छ ।

छोटो समयमै यो पुल बन्यो, हालसम्म हामीले काम गरेको ठाउँमा यस्तो छोटो समयमा काम भएको थिएन,’ उनले भने,‘पार्वतीजीकै नेतृत्वमा अहिले पुलबाट गाउँसम्म जाने बाटो पनि खनिएको छ । उहाँसँग नेतृत्व गर्ने क्षमता देखेर गाउँपालिका पनि अचम्ममा परेको रहेछ ।’

Leave a Reply