Tuesday, May 18, 2021
Home > समाज > दाइजोकै कारण माधुरीको हत्या भएकाे हाेः एउटी आमाले रुँदै न्याय माग्दै

दाइजोकै कारण माधुरीको हत्या भएकाे हाेः एउटी आमाले रुँदै न्याय माग्दै

काठमाडौँ । नेपालगञ्जमा एक महिलाको रहस्यमय मृत्यु भएको छ । महिलाका आमा र बुवाले छोरीको हत्या भएको दाबी गरेका छन् । वीरगञ्जकी २६ वर्षीया माधुरी वर्णवालको गएको वर्ष मङ्सिरमा नेपालगञ्जका मनिष बर्णवालसँग बिहे भएको थियो ।

माधुरीले गएको पुस १७ गते राति कोठाभित्र पङ्खामा झुण्डिएर आत्महत्या गरेको खबर आफूहरुलाई दिएको माधुरीका आमा पुष्पा बर्णवालले बताइन । आफ्नी छोरीलाई कमजोर आर्थिक अवस्थाको घरपरिवार भएको र दाइजो नल्याएको भन्दै घर परिवारबाट विभिन्न खालको मानसिक यातना विगतमा दिइएको सम्झँदै आमा पुष्पाले शनिबार नेपालगञ्जमा पत्रकारहरुसँग आफ्नी छोरीको हत्या गरिएको दाबी गरिन ।

छोरीलाई यसअघि परिवारले विभिन्न खालका मानसिक यातना दिने गरेको भन्दै बुवा वेदप्रकाश बर्णवालले छोरीले आफूहरुलाई कुनै जानकारी नदिई आत्महत्या गर्न नसक्ने दाबी गरे ।

‘केही समयअघि छठमा वीरगञ्ज जाँदा ‘छोरी मन पर्दैन भने अलग हुनुस् भनेका थियौं’, बुवा वेदप्रकाशले भने, ‘त्यसबेला ज्वाईले तपाईँकी छोरीलाई केही हुँदैन, म लिखित जिम्मा लिन्छु भनेका थिए । अहिले छोरीलाई मारिदिए ।’

घटनाको अघिल्लो दिन छोरीले आफूहरुलाई फोन गरी ढोका थुनेर राखेको र खाना समेत खान नदिएको जानकारी गराएको उनले बताए । अर्को दिन दिउँसो छोरीले ढोका थुनेर बसेको जानकारी गराएको उनको भनाई छ ।

माधुरीका पति मनिषका आमाले सम्बन्ध विच्छेद गर्न दवाव दिँदा मनिषले ५० प्रतिशत सम्पत्ति दिनुपर्छ भन्ने गरेको दाबी पुष्पाको छ । ‘एउटी आमाले रुँदै न्याय मागेकी छ’, भावविह्वल हुँदैं पुष्पाले भनिन्, ‘अबदेखि कुनै पनि छोरीले अनाहकमा ज्यान गुमाउन नपरोस भनेर हामी लडिरहेका छौं ।’

प्रहरीले छोरीलाई झुण्डेको नदेखिक नै अत्महत्या भनेको र सुरुमा जाहेरी लिन नमानेको भन्दै माधुरीका आमाबुवाले प्रहरी अनुसन्धानमाथि आशंका जनाउँदैं पोष्टमार्टम रिपोर्ट पनि सही आउनेमा आशंका रहेको बताए ।

Leave a Reply