Monday, May 10, 2021
Home > समाचार > ओली सरकारकाे अर्काे चमत्कार, सुरूङमार्ग् निर्माणमा विदेशी कम्पनी आकार्षित

ओली सरकारकाे अर्काे चमत्कार, सुरूङमार्ग् निर्माणमा विदेशी कम्पनी आकार्षित

काठमाडौं । धादिङको सिस्नेखोलादेखि काठमाडौंको सतुंगल जोड्ने नागढुंगा सुरुङमार्ग निर्माणका लागि ६ विदेशी कम्पनीले इच्छा देखाएका छन् । सरकारले यसै आर्थिक वर्ष २०७५/०७६ को बजेटमार्फात पनि यो आयोजनाको निर्माण सुरु गर्ने भनेको छ । नौबीसेदेखि थानकोटसम्मको सडक खण्ड घुमाउरो र उकालो ओरालो भएका कारण यो क्षेत्रमा ट्राफिक जाम हुने गरेको छ । यस्तो ट्राफिक जाम न्युनीकरण गर्ने भन्दै सरकारले यस्तो योजना अघि सारेको हो ।

सडक विभागले गरेको ग्लोबल टेण्डरमा चिनियाँसहित जापानी कम्पनीहरुले इच्छा देखाएको सडक विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिए । टेण्डर मूल्यांकन प्रक्रियामा अलमल हुँदा सुरुङमार्ग निर्माणको कमा थाल्न ढिलाइ भएको छ । अहिले ठेक्कामा सहभागी कम्पनीहरुको प्राविधिक प्रस्तावको मूल्यांकन भइरहेको विभागको वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख केशवकुमार शर्माले जानकारी दिए ।

प्राविधिक मूल्यांकनबाट ‘सर्ट लिस्टेड’ भएका कम्पनीको आथिर्क प्रस्ताव खोलिनेछ । त्यसपछि सबैभन्दा कम रकम कबोल गर्ने कम्पनीले सुरुङमार्ग निर्माणको जिम्मा पाउनेछ । सम्झौताका लागि लागि दातृ निकाय जापानी सहयोग नियोग (जाइका)को स्वीकृति आवश्यक पर्छ । आगामी वैशाखसम्म छनोट हुने कम्पनीले सुरुङमार्ग निर्माणका लागि फिल्डमा पुगेर काम सुरु गर्ने अपेक्षा गरिएको शर्माले बताए ।

यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर ) तयार भइसकेको छ । सुरुङमार्गको डिजाइन जापान सरकारले गरेको हो । सुरुङमार्गका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । जापानले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । उक्त परियोजनामा १६ अर्ब लागत अनुमान गरिएको छ ।

विभागका अनुसार यो सुरुङमार्गको लम्बाइ २.३५ किलोमिटर हुनेछ । अहिले सडकमा सानो अवरोध आउँदा पनि नौबीसेदेखि काठमाडौ प्रवेश गर्न नाकामै तीन घन्टासम्म पनि जाममा बस्नुपर्ने बाध्यता छ । सुरुङमार्ग निर्माण भएपछि भने २० मिनेटमा काठमाडौं प्रवेश गर्न सकिने विभागको दाबी छ ।

यो सुरुङमार्गभित्र दुबैतर्फका सडक बेला–बेलामा दुई लेनमा परिणत हुने र कुनै बेला एक लेनमा खुम्चिन्छन् । एकापट्टिको सडक दुई लेन हुँदा अर्काेपट्टि एक लेन हुन्छ, जुन फेरबदल भइरहन्छ । १२ मिटर चौडाइको सुरुङमार्गमा दुवैतिर पैदलयात्रीका लागि १/१ मिटरको पेटी राखिने छ ।

सुरुङमा भेन्टिलेटर र जेट फ्यान जडान गरिनेछ । आकस्मिक समयमा उद्धारका लागि अर्को एक लेनको सहायक सुरुङ पनि बनाइनेछ । नेपाल आयल निगमको थानकोट डिपोमुनि निस्कने सुरुङमार्गलाई पुनः त्रिभुवन राजपथमा ल्याएर जोड्न २.२५ किलोमिटरको एक्सेस रोड पनि निर्माण गर्नुपर्नेछ ।

तीन लेनको सहायक मार्ग लागि सडक विभागले आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया पनि चलिरहेको छ । यो सहायक मार्ग सतुंगलको टेलिकमको कार्यालय नजिक आएर मुख्य राजमार्गमा नै जोडिनेछ । धादिङको सिस्नेखेलातर्फ भने सहायक मार्ग निर्माण गर्नुपर्ने छैन ।

यो सुरुङमार्ग निर्माण भएपछि काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनको इन्धन पनि बचत हुन्छ । यात्रुको समयसँगै सवारी साधनको इन्धन पनि बचत हुने भएका कारण यसबाट देशलाई आर्थिक लाभ हुने प्रवक्ता गौतम बताउँछन् ।

Leave a Reply