Friday, May 14, 2021
Home > समाचार > निर्मला हत्याकाण्ड : संघर्ष समितिको आन्दोलन स्थगित, यस्तो छ कारण !!

निर्मला हत्याकाण्ड : संघर्ष समितिको आन्दोलन स्थगित, यस्तो छ कारण !!

काठमाडौं, १४ पुस । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको न्यायिक आन्दोलनमा होमिएको नागरिक संघर्ष समितिले आन्दोलन स्थगित गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

पुर्व घोषित कार्यक्रम अनुसार दुई दिन आन्दोलन स्थगित गरिएको नागरिक संघर्ष समितिले जनाएको छ । शुक्रबार नागरिक संघर्ष समितिको बैठकले भीमदत्त नगरपालिकाले गर्न लागेको जैविक म्याराथुन दौड प्रतियोगिता सफल पार्न आन्दोलन स्थगित गरेको हो ।

नागरिक संघर्ष समिति कञ्चनपुरका प्रवक्ता नरबहादुर साउदले भीमदत्त नगरपालिकाले जैविक मार्गमा १५ पुसमा आयोजना गर्न लागेको म्याराथुन दौड प्रतियोगिता २०७५ लाई मध्य नजुर गर्दै (पुष १४ र १५ गते) आन्दोलन रोकिएको बताए ।

‘हामीले आन्दोलन पूर्ण स्थगित गरेका होईनौँ, ‘उनले भने, ‘केबल जैविक मार्गको कार्यक्रमलाई हेरेर दुई दिनको लागि मात्रै रोकेका हौँ ।’ प्रवक्ता साउदका अनुसार भीमदत्त नगरको सम्बृद्धि र दिगो विकासका लागि आयोजना हुन लागेको कार्यक्रम सफल पार्नका लागि आन्दोलन स्थगित गरिएको छ ।

संघर्ष समितिको पुर्व घोषित कार्यक्रम अनुसार १४ पुसमा कञ्चनपुर बन्द र १५ पुसमा महेन्द्रनगर बजारमा बृहद र्‍याली थियो । अब उक्त कार्यक्रम पुर्व निर्धारित समयमा नभई १६ र १७ गते हुने तय भएको छ ।

नागरिक संघर्ष समितिका सदस्य एवं अधिकारकर्मी शारदा चन्दले भीमदत्त नगरकै गौरबको योजना जैविक मार्ग भएकाले नगरको विकासका लागि कोही बाधक बन्न नहुने बताएन् ।

नागरिक संघर्ष समिति कञ्चनपुरका संयोजक मिना भण्डारीले आन्दोलनले मात्रै न्याय नपाइने भएकाले पुनः १८ पुसमा बैठक राखेर थप आन्दोलनका कार्यक्रम घोषणा गरिने बताइन् ।

Leave a Reply