Friday, May 14, 2021
Home > समाचार > ‘गरिबीले होइन गलाले आइडल बनायो, गरिबी मेरो वास्तविकता हो’- रवि ओड

‘गरिबीले होइन गलाले आइडल बनायो, गरिबी मेरो वास्तविकता हो’- रवि ओड

सुदूरपश्चिम। धनगढीका रवि ओड गत शनिबार नेपाल आइडलको दोस्रो संस्करणका विजेता बने। पुरस्कारस्वरूप उनले २२ लाख रुपैयाँ र एउटा होन्डा डब्ल्यूआरभी कार हात पारे। उनी ठाडो भाका, लोकदोहोरी, पप, हिन्दी, नेपाली सबै खाले गीत गाउन सक्छन्। शिव परियार, सुगम पोखरेल र हेमन्त रानालाई आदर्श मान्ने रविसँग ‘सम्पूर्ण’का लागि सृजना खड्काले खुलस्त संवाद गरेकी छिन्।

नेपाल आइडलको दोस्रो सिजनको विजेता बन्छु भन्ने लागेको थियो कि थिएन ?
अडिसन पार गरेपछि सांगीतिक क्षेत्रमै आफ्नो जीवन अगाडि बढाउँछु भन्ने सोचिसकेको थिएँ। तर, आइडल नै बन्छु भनेर चाहिँ सोचेको थिइनँ। सपना हो कि विपना जस्तो भइरहेको छ।

आइडल विजेताको घोषणा भइरहँदा स्क्रिनमा आफ्नो फोटो देख्दा कस्तो लाग्यो ?
सुरुमा थर्ड रनरअपको फोटो स्क्रिनमा आयो। त्यो फोटो अस्मिताको थियो। बाँकी हामी तीन जना थियाँै। फस्ट, सेकेन्ड र थर्डमध्ये एक भएछु भन्ने लाग्यो। तर, मुटु कामिरहेको थियो। सेकेन्ड रनरअपमा सुमितको नाम आयो। विक्रम दाइ र म बाँकी भयौँ। त्यसपछि फस्ट र सेकेन्डमा एउटा भएछु भनेर ढुक्क भएँ। डर हरायो। फस्ट र सेकेन्ड जे भए पनि म खुशी थिएँ। विजेताको रूपमा स्क्रिनमा आफ्नो फोटो आउँदा त खुशीको सीमा नै रहेन। भावुक भएँ। भोट गरी मलाई जिताउने सबैलाई मनमनै धन्यवाद दिएँ।

उपाधि जित्दा साह्रै भावुक हुनुभएको थियो…
सोच्दै नसोचेको सफलता हासिल गरेँ। त्यो मेरा लागि जीवनको सबैभन्दा खुशीको क्षण थियो। त्यसैले आँसु थाम्नै सकिनँ। खुशीले रोएको थिएँ।

‘विक्रम र सुमित रविभन्दा भर्सटाइल र आवाजका हिसाबले उत्कृष्ट छन्’ भन्ने टिप्पणी बाहिरिएका छन्, यसलाई तपाईंले कसरी लिनुभएको छ ?

यस्ता कुराले मलाई खासै असर गरेको छैन। विक्रम दाइ र सुमित दुवै जना राम्रो गाउँछन्। त्यसमा म सहमत छु। मलाई पनि उनीहरूको गायकी मन पर्छ। उनीहरूका आ–आफ्नै विशेषता छन् र मेरो आफ्नै। हामी सबैको स्वर छुट्टाछुट्टै क्वालिटीको छ। सबैको भोकल टेक्स्चर फरक छ। भोकल टोन पनि अलग छ। कसैलाई विक्रम दाइ मन पर्ला, कसैलाई सुमित र कसैलाई मेरो स्वर मन पर्ला।

‘गरिबी देखाएर भोट मागियो’, ‘जनतालाई इमोसनल ब्लकमेल’ गरियो’ भन्नेहरू पनि छन् ?
यी कुरा मैले पनि सुन्दै आइरहेको छु। तर, गरिबी देखाएर म नेपाल आइडलको विजेता बनेको होइन। मलाई गरिबीले होइन, गलाले आइडल बनायो। गरिबी मेरो वास्तविकता हो, यथार्थ होे। मैले आफ्नो हरेक प्रस्तुतिमा बेस्ट दिने कोसिस गरेको छु। आज ‘गरिबी देखाएर भोट माग्यो’ भन्नेहरू भोलि ‘रवि गरिबी होइन, कलाका कारण विजेता बनेको हो’ भनून् भन्ने कोसिस गर्नेछु। कडा मेहनत गरेर आफ्नो कलामा थप निखार ल्याउने प्रयास गर्नेछु।

पहिलो संस्करणका विजेता बुद्ध लामा चर्चा र व्यस्तताका हिसाबले फस्ट र सेकेन्ड रनरअप निशान भट्टराई र प्रताप दासभन्दा पछाडि छन्। तपाईं चाहिँ आइडलपछिको यात्रा कसरी अगाडि बढाउने सोचमा हुनुहुन्छ ?
त्यो कुरा मैले पनि महसुस गरेको छु। आफ्नो स्वरलाई सुहाँउदो गीत गाउनेछु। शतप्रतिशत दिएर अगाडि बढ्नेछु। मन पराउनु-नपराउनु दर्शकका हातमा हुन्छ। अहिलेका लागि आइडलको टाइटल जितेँ। आगामी दिनमा संगीत क्षेत्रका अन्य टाइटल जित्न बाँकी नै छन्। यसलाई मैले जिम्मेवारीको रूपमा लिएको छु। अबका दिनमा अझै जिम्मेवार भएर संगीतमा लाग्नेछु। संगीत भनेको अथाह सागर हो। जति सिके पनि पुग्दैन। मैले अझै धेरै कुरा सिक्न बाँकी छ।

अस्मिता, विक्रम, सुमित र तपाईंको मित्रताको खूबै चर्चा भयो। आइडलपछि तपाईंहरूको मित्रतामा ईष्र्या वा मनमुटावले ठाउँ पाएको छ कि छैन ?
हामीबीच मित्रता अहिले पनि उस्तै गाढा छ। उनीहरूलाई एकछिन मात्रै पनि देखिनँ भने म आफैँ हराएको जस्तो लाग्छ। चार जनामा एक जना मात्रै भएन भने पनि नरमाइलो र एक्लो महसुस हुन्छ। नेपाल आइडलको विजेता म मात्रै होइन। हामी चारै जना हौँ।

विक्रम दाइको फ्यान फलोअर धेरै छन्। सुमितलाई माया गर्ने पनि उत्तिकै छन्। अस्मिताका फ्यान पनि कम छैनन्। त्यसैले हामी पहिला जस्तो थियौँ अहिले पनि उस्तै छौँ।

आइडल सकिएपछि भारतको सुरतमा बस्दै आउनुभएका तपाईंको बुबालाई पनि फूलमाला लगाएर सम्मान गरियो भन्ने समाचार आइरहेका छन्, यो सुन्दा कस्तो लागिरहेको छ ?
एकदमै खुशी छु। बुबालाई नेपाल आइडलको स्टेजमा ल्याउने मेरो ठूलो धोको थियो। तर, त्यो सम्भव भएन। वाचम्यानको काम गर्ने भएकाले उहाँले छुट्टी पाउनुभएन। आइडल जितेपछि सुरुमा बुबासँग नै फोनमा कुरा गरेँ। फोन गर्दा उहाँ रोइरहनुभएको थियो।

त्यही बेला बुबालाई त्यहाँ साथीहरूले सम्मान गरिरहेका थिए। ‘‘तेरो छोरो हल्लेर हिँड्छ’ भनेर सुनाउनेहरूलाई तैँले गरेर देखाइस्’ भन्नुभयो। घरको जेठो छोरो भएकाले परिवारलाई यसले केही गर्ला भन्ने आश थियो। आफूसँगैको साथीहरू काम गरेर घरमा पैसा पठाएको देख्दा मलाई पनि नरमाइलो लाग्थ्यो। बुबाको १० हजार भारुले चार जनाको पढाइ र घरखर्च चलाउनुपथ्र्यो। अब त्यो अवस्था रहेन।

आमा त फाइनल हेर्न काठमाडौँ आउनुभएको थियो नि हैन ?
हो, आउनुभएको थियो। मैले जितिसकेपछि आमा पनि स्टेजमा आउनुभएको थियो। उहाँलाई त्यहाँ के भइरहेको छ, केही थाहा थिएन। उहाँलाई अंगालो हालेर मैले ‘मैले जितेँ’ भनेँ। उहाँलाई के जित्यो, के जित्यो भएको थियो। उहाँलाई नेपाली बोल्न आउँदैन। नेपाल आइडल के हो ? उहाँलाई थाहा छैन। उहाँ मेरी दोस्री आमा हो।

कान्छो भाइ तीन महिनाको हुँदा हाम्री आमा बित्नुभयो। हामी चार जनालाई उहाँले आफ्नै सन्तानजस्तै हुर्काउनुभयो। सबैका दोस्री आमा खराब हुँदैनन्। उहाँले मलाई सपोर्ट नगर्नुभएको भए आज म भारतको कुन गल्लीमा भाँडा माझिरहेको हुन्थेँ।

म्यादी प्रहरीमा पनि जानुभएको रहेछ ?
घरको अवस्था नाजुक थियो। दोहोरीमा काम गरेर पकेट खर्च चलाइरहेको थिएँ। दोहोरी अचानक बन्द भयो। काम नभएपछि के गर्ने ? भयो। त्यही बेला म्यादीका लागि भर्ना खुलेको थाहा पाएँ। त्यो बेला हल्काफुल्का डान्स पनि सिकाउँथेँ। डान्स सिकाउने भएकाले शारीरिक रूपमा फिट थिएँ। म्यादीमा जाऊँ, जाऊँ लाग्यो। गएँ, छनोट पनि भएँ। त्यहाँबाट पाएको पैसाले सामसुङको एउटा मोबाइल किनेँ। बाँकी पैसा घरखर्चका लागि आमालाई दिएको थिएँ।

विजेता भएपछि २२ लाख रुपैयाँ बराबरको ‘क्यास प्राइज’ पाउनुभएको छ, के गर्नुहुन्छ त्यो पैसाले ?
बुबाले अहिलेसम्म हाम्रो लागि धेरै दुःख गर्नुभयो। बल्ल उहाँलाई सुख दिने पालो आएको छ। अब भारतमा हुनुभएको बुबालाई नेपाल फर्काउँछु। उहाँका लागि एउटा व्यवसाय गर्ने जमर्को गरिदिन्छु। उहाँले आफ्नै देशमा आफ्नै व्यवसाय चलाएर बसेको हेर्ने इच्छा छ। अहिले उहाँलाई भारतमा धेरै ठाउँबाट साथीभाइले सम्मानको लागि बोलाइरहनुभएको छ। केही दिनमा नेपाल फर्किनुहुन्छ। त्यसपछि के गर्ने ? भनेर सल्लाह गर्नुपर्ला।

कार चाहिँ के गर्नुहुन्छ ?
अहिलेसम्म सोचेको छैन। मेरो जीवनको अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धिको रूपमा मैले यसलाई लिएको छु। त्यो एउटा कार मात्रै नभएर सबैले मलाई दिनुभएको माया हो।

ड्राइभिङ आउँछ कि आउँदैन ?
आउँदैन। बिस्तारै सिक्नुपर्ला।

गायन चाहिँ कहिलेबाट सुरु गर्नुभएको थियो ?
स्कल पढ्दादेखि नै हो। सानैमा काठमाडौँको एउटा गायन कम्पिटिसनमा आएको थिएँ। त्यो बेला म १३ वर्षको थिएँ। पहिलो पटक हार्मोनियम छोएको त्यही बेला हो। गाउँमा हुँदा ‘लोटस टप तारा’ भन्ने गायन प्रतियोगिता भएको थियो। मैले जितेँ र त्यही स्कुलमा छात्रवृत्तिमा पढ्ने मौका पाएँ। त्यो बेलामा घरनजिकैको एउटा निमाविमा पढ्थेँ। लोटस कैलालीभित्र चलेको स्कुल थियो। धनाढ्यका छोराछोरीले मात्रै त्यहाँ पढ्थे।

अहिले पढाइ कहाँसम्म पुर्‍याउनुभयो ?
म्यानेजमेन्टमा प्लस टू सकेर बसेको छु। पढाइभन्दा गीतमा मन गयो। वर्षमा दुई महिना पनि राम्रोसँग कलेज जाँदैनथेँ पढाइ छुटाए पनि कलेजको गीत गाउने कार्यक्रम भने कहिल्यै छुटाइनँ।

नेपाल आइडलमा कसरी आइपुग्नुभयो ?
पहिलो सिजन नेपालगञ्जसम्म मात्रै आएको थियो। धनगढीमा आएको थिएन। त्यो बेला म धनगढीमा एउटा दोहोरीमा काम गर्थें। दोस्रो सिजनमा दोहोरी कै दाइहरूले नेपाल आइडलमा जान सल्लाह दिनुभयो। धेरैले ‘नेपाल आइडलमा जा’ भनेर फोन गरे। अडिसनको अघिल्लो दिन म सुर्खेतमा थिएँ। साँझ ६ बजेको गाडी चढेँ। आधा बाटोबाट ट्रकमा चढेर भोलिपल्ट धनगढी आएर अडिसन भ्याएको थिएँ।

आइडलभरि कुन गीत एकदमै राम्ररी गाएँ भन्ने लाग्छ ?
ओमविक्रम विष्टको ‘म मौनतामा अल्झिरहेको एउटा जीवन’ भन्ने गीत एकदमै न्याय गरेर गाएको जस्तो लागेको थियो।

‘यो गीत मैले बिगारेँ’ भन्ने लागेको चाहिँ ?
सुरेश कुमारको ‘प्रिय तिम्रो सम्झनामा’ भन्ने गीतको मैले लिरिक्स बिगारेँ। एकदमै नरमाइलो लागेको थियो। गीत बिगारेको दिन आफूलाई आफैँ गाली गर्थें।

आफूलाई भोट दिएर जिताउने प्रशंसकलाई के भन्न चाहनुहुन्छ ?
फाइनलको भोटिङका बेला हाम्रोतिर दुई–तीन दिन बत्ती गएछ। ठाउँ–ठाउँमा जेनेरेटर बालेर मोबाइल चार्ज गर्दै धेरैले मलाई भोट गर्नुभएको रहेछ। अमेरिकाको एक जना दाइ त मेरा लागि भनेर मरिमेटेरै लाग्नुभएको थियो। देश–विदेश जताततैबाट मैले निकै साथ र माया पाएँ। उहाँहरू सबैप्रति आभारी छु।

रविको ‘लभ अफेयर छ-छैन’ भनेर चासो राख्नेहरू पनि छन् नि ?
घरबाट बिहेको कुरा आउन थालेको धेरै भइसक्यो। तर, पहिला घर बनाउनुपर्छ अनि मात्र बिहे गर्ने हो भन्दै टार्दै आइरहेको छु।

तपाईंलाई धेरैले ‘सुदूरपश्चिमको शान’ भन्छन्, सुदूरपश्चिमेली गीत–संगीतलाई कसरी अगाडि बढाउनुहुन्छ ?
मेरो टोनमा लोक फ्लेभर छ। त्यसैले मैले सारा नेपालीको माया पाएको हुँ। लोकसंगीतको लागि केही गर्ने मन छ। अहिले देउडा मोर्डनमा आइरहेका छन्। फिल्ममा पनि लोकगीत भाका चल्न थालेका छन्। नेपाली लोकगीत–संगीतलाई प्राथमिकता दिनेछु।

संगीत क्षेत्रमा आफ्नो आइडल कसलाई मान्नुहुन्छ ?
शिव परियार, हेमन्त, राना र सुगम पोखरेललाई मान्छु।

Leave a Reply