जापानको तोचिगी केन, तोचिगी स्थित एक नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा ६ जना नेपालीहरु घाइते भएको समाचार छ । घाइते हुनेहरुमा महिला समेत छन् ।
पहिलो तलामा रहेको सो रेष्टुरेन्टमा आइतबार राती साडे १२ बजेको समयमा सुरु भएको आगलागी विहानमात्र नियन्त्रणमा आएको प्रहरीलाई उधृत गर्दै आसाही टेलिभिजनले लेखेको छ । के कति कारणले आगलागी भयो भन्ने प्रहरीले जाँच गरिरहेको समाचारमा उल्लेख छ ।
घाइतेहरुको अनुहार जलेको र २९ बर्षिय एक पुरुषको अवस्था गम्भिर रहेको बताइएको छ । प्रहरीका अनुसार आगलागीको समयमा वरपरका वासिन्दाहरुले ठूलो विस्फोटको आवाज र सिसाहरु फुटेको सुनेका थिए ।खास के कारणले आगलागी भएको हो भन्ने एकिन नभएपनि प्रहरीको प्रारम्भिक अनुसन्धानमा कुनै बिस्फोटका कारण आगलागी भएको हुनसक्ने अनुमान छ ।
रेष्टुरेन्टको व्यवस्थापक मध्येका एकले भने ग्याँसको मूख्य भल्ब बन्द रहेको बताएका छन् ।घटना जेआर र्योगोकु लाइन, तोचिगी स्टेशनबाट ३०० मिटर दक्षिणतर्फ रहेको नेपाली रेष्टुरेन्टमा भएको बताइए पनि रेष्टुरेन्टको नाम तथा घाइतेहरुको नाम समाचारमा उल्लेख गरिएको छैन ।