Friday, May 14, 2021
Home > समाचार > झक्कड थापाले सुरु गरे आफ्नै ब्यवसाय, पहिलो दिनको कमाई देखाउँदै आए लाईभमा (भिडियो)

झक्कड थापाले सुरु गरे आफ्नै ब्यवसाय, पहिलो दिनको कमाई देखाउँदै आए लाईभमा (भिडियो)

कर्णाली राजमार्ग बनेपछि भने चुँडेल र भुतहरु अलि कम भएको उनले महसुस गरेका रहेछन्। ‘बाटो बनाउने क्रममा बमहरु बिस्फोट गराइए, गाडीहरु हिंडे। अहिले चाहीँ राति हिंड्ने क्रममा त्यति डर हुँदैन्,’ उनले भने।

आफै कमाउनुपर्छ भन्ने लागेपछि…
पाँच कक्षामा पढ्थे। गाउँमा लाहुरेहरु कानमा टेप बजाएर, हातमा घडी झल्काएर फर्कन्थे। उनीहरुले आफ्ना छोराछोरीहरुलाई पनि नयाँ नयाँ सामान ल्याइदिन्थे। आफ्ना बालसखाहरु नयाँ सामानमा सजिएको देखेपछि झक्कडको बालमन पनि नलोभिने कुरो भएन्। उनलाई पनि त्यस्तै टेप ल्याउन, घडी लगाउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो।

‘हामीले कहिलेकाहीँ मात्रै नयाँ चीज पाउँथ्यौं। त्यो पनि हात्ती छाप चप्पल,’ उनले बाल्यकालका कुरा सम्झे, ‘त्यो किन्ने बेलामा बुबाले हाम्रो खुट्टाको साइज लठ्ठीमा नाप्दै बजार ल्यान्थे र त्यही नाप अनुसारको चप्पल ल्याइदिन्थे। त्यो कहिले ठूलो हुन्थ्यो, कहिले सानो।’

अन्य बालसखाहरुले राम्रा राम्रा लाएको देखेपछि झक्कडलाई लाग्यो– अब पढाई छाडेर पैसा कमाउनु पर्छ। अनि नयाँ नयाँ चिज किन्नुपर्छ।
झक्कड थापाले सुरु गरे आफ्नै ब्यवसाय, पहिलो दिनको कमाई देखाउँदै आए लाईभमा भिडियो:

एकजना साथीसँग भारत जाने योजना बन्यो। हातमा एक पैसा थिएन्। उनले जुक्ति सोचे, बुबालाई किताब किन्न भनेर पैसा माग्ने।घरमा पैसा थिएन। बुबाले भने, ‘मुसुरो लैजा, त्यो बेचेर किताब किन।’‘हुन्छ’ भन्दै झक्कडले एक बोरा मसुरो बोके र बजार लागे। ‘२९ रुपैयाँ केजी मसुरो थियो। बेच्दा पाँच–छ सय रुपैयाँ भयो,’ उनले सम्झे, ‘त्यो पैसा लिएर साथी र म तीन दिन पैदलै हिंडेर चिसापानी (कैलाली र बर्दियाको सिमावर्ती तराईको स्थान) पुग्यौं।’

साथी पहिले पनि बुबासँग आइसकेका रहेछन्। उनलाई बाटो थाहा रहेछ। ठाउँ ठाउँमा गाउँलेहरुसँग पनि भेट हुन्थ्यो। उनीहरुले सोध्थे, ‘कहाँ जान लाग्या हो?’घरमा भन्दिने हुन कि भन्ने डर हुन्थ्यो। उनीहरु जवाफ फर्काउँथे, ‘बुबाले तराईमा भैंसी लिनु भएको छ, त्यही ल्याउन जान लागेका हौँ।’त्यतिबेला चाउचाउ ‘फेमस’ थियो। तीन दिन उनीहरुको खाना त्यति भयो। जंगलको बाटो थियो। ‘मनमा इण्डिया जाने रहरले डरलाई जित्यो,’ झक्कडले सम्झे।

चिसापानीमा मिठाई किनेर खाँदै थिए। एकजनाले सोधे, ‘घर कहाँ हो?’उनीहरुले जवाफ फर्काए, ‘दैलेख दुल्लु।’जिस्काउँदै ती मान्छेले भने, ‘ए दैलेखी रै छौ, दुल्लुका उल्लु।’‘काम गर्ने हो?’‘के काम हो?’‘जेनेरेटरमा पानी हाल्नुपर्छ, बाख्रा चराउनुपर्छ।’‘कति दिने हो महिनाको?’‘तीन सय।’

अछाम, दैलेख, सुर्खेतका लाहुरेहरु चिसापानी हुँदै भारत जाने र घर फर्कने गर्छन्। त्यसैले त्यो ठाउँमा व्यापार राम्रै हुन्छ। खाजा नास्तासँगै किरानापनि भएको पसलले झक्कड र उनका साथीलाई अफर गरेको थियो। उनीहरु पहिलो जागिरका लागि तयार भए।एक महिना काम गरिसकेपछि झक्कडलाई त्यहाँ काम गर्न मन लागेन्। जंगलमा दाउरा काट्ने र बाख्रा चराउने काममा उनलाई मन लागेन्।नयाँ काम खोज्ने क्रममा उनले गाडीमा सहायक चलाक (खलासी) को काम पाए। तलब थियो, पहिलेको भन्दा दोब्बर ६ सय रुपैयाँ। झक्कड गाडीमा लागे।

जेठमा गर्मी हुन्थ्यो। एक जना चौधरी साथी थिए। उनीहरुले कर्णालीमा नुहाउने योजना बनाए र हाम फाले।कर्णालीको गहिराईको कुनै अनुमान थिएन्। पहिलो ‘डाइभ’ मै उनलाई कर्णालीले बगायो। उनी बाहिर निस्कने प्रयास गर्दै थिए, सकेनन्। ‘झक्कडलाई कर्णालीले बगायो’ भन्दै उनका साथीले गुहार मागे। एकजना अछामकै स्थानीय युवती पौडी खेल्न जान्दिरहिछन्। झण्डै आधा किलोमिटर बगाएपछि पौडी काटेर ती युवतीले कपाल समाप्दै झक्कडलाई नदिबाट निकालिन्।

‘पानीमा बग्दा सुरुमा त जम्प लिँदै थिएँ,’ झक्कडले आफू मरेर बाचेँको उक्त घटना सम्झँदै भने, ‘पछि मुखमा पानी जान थाल्यो। मैले मुख बन्द गरें तर कर्णालीका अघि मेरो केही चलेन्। ती युवतीले मलाई बाहिर ल्याएर बालुवामा पल्टाइन्। सबै मानिस मलाई घेर्न आइपुगेका थिए। म आधा होसमा थिएँ। जुरुक्क उठेर हैट.. भन्ने आवाज निकालें, वरिपरीका सबै मानिस भागे।’

अरुले फालेको मकै खाएर बाँचे
केही दिनमा दैलेखबाट एक हुल मानिस भारत जाने भनेर आएछन्। उनीहरुले कर्णालीमा झक्कडलाई पनि देखे। भारत जाने हो भनेर सोधे। घरबाट नै भारत जान भनेर भागेका झक्कड उनीहरुकै पछि लागे।

‘बागेश्वर भन्ने ठाउँमा पुल बनाउने काम थियो,’ झक्कडले भारतका सुरुका दिन सम्झिए, ‘४५ रुपैयाँ दैनिक ज्याला थियो। ३३ दिन काम गरें। ३ सय ९० रुपैयाँ बचत गरें। ९–५ को ड्युटी थियो। खाजा खान समेत समय हुन्थेन्। लगातार काम गर्नु पथ्र्यो। बाठाहरु त पटक पटक पिसाब फेर्ने बाहनामा समय कटाउँथे, हामी जस्ता सोझा मान्छे दिन भरि दलिनुपर्थो।’

३३ दिनपछि त्यहाँको काम सकियो। बीचमा केही काम पाएनन् उनले। भएको पैसा सबै सकियो। ‘त्यसबेला १० रुपैयाँमा भारतमा खाना पाइन्थ्यो’, उनले सम्झे, ‘काम नहुँदा के खाने भन्ने पनि समस्या भयो। त्यस ठाउँमा काम नपाएपछि हामी बरेली आयौं। रेल वे स्टेशनमा मान्छेहरु मकै खाएर फाल्थे। हामी त्यही फालेका मकैका ठूसाहरु समाप्दै खान्थ्यौं। बाँकी पेट पानी खाएर भथ्र्यौं।’

एक हप्तापछि साँढे तीन सय भारुमा पलियामा भन्ने ठाउँमा एक पसलमा काम पाए। दुबै जना काममा लागे। पलिया धनगढीको सिमावर्ती बजार पनि हो। त्यहाँका अधिकांश ग्राहक नेपाली थिए। दिल्लीबाट सामान आउँथ्यो। उनीहरुको काम त्यो समान पहिलो तल्लाबाट माथिल्लो तल्लामा पुर्याउने हुन्थ्यो। साहुजीले भनेका सामान ल्याइदिने हुन्थ्यो।

‘हामी बच्चै थियौं। समानका बारेमा धेरै थाहा थिएन्’, आँखा रसिलो बनाउँदै उनले भने, ‘केही फरक समान ल्याइयो वा केही टुटफुट भयो भने साहुजीले सिधै पिटथे। निकै रुन मन लाग्थ्यो तर रुन पाइँदैन थ्यो। काम गर्नै मन लागेन्। एक महिना काम गर्यौं अनि छोड्यौं।’

घरबाट भागेको सात महिना बितिसकेपछि झक्कड घर फिर्ती भए। ‘घर फर्कंदा मसँग जम्मा २० रुपैयाँमात्रै बचेको थियो,’ पैसा कमाउने लक्ष्यका साथ घर छाडेका झक्कडले सम्झे, ‘शरिरमा पुरानै हाफ पाइन्ट थियो। जुन बसमा काम गर्दा साहुजीकी श्रीमतीले मेरो खलासीले पैसा हाल्छ’ भन्दै सिलाइदिएकी थिइन्। छोरा बाँचेर घर फर्कियो भन्दै आमा बुबा खुब रोए। म पनि रोएँ। आमा बुबाले ‘जे भयो भयो अब पढ’ भने म फेरि पाँच कक्षामा भर्ना भएँ।’

माओवादीले लाने पीरमा फेरि भारत
झक्कड पाँच पास भई छ कक्षामा पुगिसकेका थिए। माओवादी द्वन्द्व उत्कर्षमा थियो। दुर्गम दैलेखमा माओवादीको आतंक अझै बढी थियो। गाउँमा युवायुवती हुर्के भने माओवादी जनमुक्ति सेनामा भर्ती गराउन बाध्य तुल्याउँथे। आमाबुबाको सहमती बिनै छोराछोरीलाई उठाउँथे। झक्कड पनि जवान हुँदै थिए। बुबा आमालाई पनि माओवादीले झक्कडलाई पनि लैजाने हो कि भन्ने पीर पर्यो।

‘त्यतिबेला बुबाआमासँग दुई विकल्प थिए’, झक्कडले भने, ‘या मलाई माओवादीमा पठाउनु पथ्र्यो या भारत। उहाँहरुलाई दोस्रो विकल्प सजिलो लाग्यो। फेरि म भारत जाने भएँ।’

‘गाउँमा माओवादीहरुले एकदमै गाह्रो गर्थे। राति राति घरमा आएर खान बनाउन भन्थे। जसको छोराले आर्मी पुलिसमा जागिर खाएको छ, उसलाई छोरा निकाल भन्दै बुबा आमालाई धम्की दिन्थे। बुबाआमालाई हामीलाई पढाउन त गाह्रो थियो। उल्टै उनीहरु चन्दा माग्थे। पाथीका पाथी धान, गहुँ लिन्थे। कसैले लभ म्यारिज गरेको छ भने उनीहरुलाई त्यो धान, गहुँ बोकाएर लैजान्थे’, संकोच मान्दै माओवादीले त्यसबेला दिएका दुख झक्कडले सुनाए। जसको कारण आफु परिवारबाट अलग भएर दोस्रो पटक भारत जान बाध्य भएको उनको भनाई छ।

बिहे र आफ्नै बन्ध्याकरण

पुनः बागेश्वर पुगेका झक्कडको ज्याला थियो, महिनाको ७० रुपैयाँ। यता, घरमा झक्कडको बिबाहको कुरो चलेछ।बुबाआमाले छिमेकीकी छोरीलाई सानैमा तिम्रो छोरीको बिबाह मेरो छोरासँग गराउने भन्ने समझदारी गरेका रहेछन्। किशोरावस्थामा पुगेपछि छोरीलाई अरुले कसैले पो लग्ने हो कि भनेर छिमेकीले झक्कडका बुबाआमालाई उनीहरुको बिबाह गराइदिने भनेछन्। दुवै परिवार राजी भएपछि बिबाहको कुरो टुंग्गियो।

केटीको परिवार निम्न वर्गीय थियो। जंगल नजिक उनीहरुको घर थियो। पाँच जना दिदी बहिनीमात्रै थिए। बाख्रा पाठा पालेर उनीहरुको जीविका चलिरहेको थियो। त्यसैले केटीले कति पनि पढ्न पाएकी थिइनन्।‘म भारत मै थिएँ। बुबा आमाले बिबाह छ भनी बोलाए’, जुंगाको रेखी पनि नबसेको उमेरमा बिबाह भएको प्रसंग कोट्याउँदै झक्कडले भने, ‘बुबा आमाले सबै तयारी गरिसकेका थिए। विधिविधान पुर्याएर घरमा बुहारी भित्र्याए।’

घर फर्केपछि झक्कडको पढाई पुनः सात कक्षाबाट सुरु भएको थियो। बिबाह भएपछि बुबा आमाको चाहना नातीनातिना खेलाउने भयो। उनीहरु झक्कडलाई त्यसै कुरामा जोड दिन्थे। तर, झक्कड भने श्रीमतीसँग बोल्न नै शरम मान्थे। श्रीमती एकातिर काम गरिरहेकी हुन्थिन् उनी अर्कातिर लाग्थे।‘बिस्तारै श्रीमतीसँग पनि माया बस्दै गयो’, बुबा बन्दाको अनुभव सुनाउँदै उनले भने, ‘दश कक्षामा पढ्दा मेरो छोरो जन्मियो। जुँगाको रेखी बस्या छैन् बचपनमै छोरा जन्म्यो भन्दै सबैले बधाई दिए। म पनि खुशी भएँ।’

पछि अर्को छोरापनि जन्मियो। दुई छोरा जन्मिसके अब अपरेशन गर्नुपर्छ भन्दै झक्कडले २४ वर्षमा आफ्नो बन्ध्याकरण गराए। प्रायः पाहाडमा महिलाहरुले बन्ध्याकरण गराउने गर्छन्। झक्कडले चाहीँ आफूले गरेका थिए। त्यसकारण झगडा हुँदा आफ्नी श्रीमतीले लगाउने घुर्की उनले रमाइलो पारामा सुनाए, ‘तिम्रोे त अब केही हुन्या हैन्, म त अर्कासँग गयापन छोराछोरी होइजान्या हुन्।’

अटोरिक्सामा गाउँलेलाई घुमाउने सपना

झक्कडले भारतमै काम गरेको पैसा जोगाउँदै नेपालगञ्जमा एक कठ्ठा ऐलानी जग्गा किनेको पाँच छ वर्ष भयो। दिदीहरुले ‘यतै आइज, बच्चाहरुलाई पढाउन लेखाउन सजिलो हुन्छ, उपचार गर्न सजिलो हुन्छ। चामल नेपालगञ्जबाटै लिनुपर्छ’ भन्ने सुझाव दिएपछि उनी नेपालगञ्ज झरेका थिए।अहिले जेठो छोरा ६ कक्षामा पढ्छ। कान्छो एकमा। कम्तिमा १० कक्षासम्म पढाउने झक्कडको धोको छ।

‘आम्दानी केही छैन्। गाई पालौं भनेपनि जग्गा छैन्। घाँस पाइँदैन्। एउटा बाख्रा छ’, छोराहरुका लागि केही व्यवस्था मिलाएका झक्कडले भने, ‘पहिले भाडामा धेरै दुःख हुन्थ्यो। अहिले दुई कोठाको सानो घर छ। आफूले जति कष्ट गरेपनि परिवारलाई सुखै छ।’

‘मेहनत गरेर पाँच–साढे पाँच लाख रुपैयाँ जम्मा गर्ने सोच थियो,’ झक्कडले एकपटक जीवनमा साचेको सपना सुनाउँदै भने, ‘त्यस रकमले अटो रिक्सा किन्ने मन थियो। सिमा (रुपेडिया, नेपालगञ्ज) मा थुप्रै दैलेखीहरु आउँछन्। उनीहरुलाई गन्तब्यसम्म पुर्याइदिन्थें। त्यसैबाट गुजारा चलाउने सोचेको थिएँ। अहिलेसम्म पनि त्यही सोच छ।’

नेपालमै अवसर नपाएर विदेशिने लाखौं नेपाली युवाहरुका प्रतिनिधि पात्र हुन्, झक्कड थापा। यसबेला उनी दोस्रो पटक नेपालमै केही पाइने आशामा भारतको काम छाडेर आएका छन्। र, अवसर खोज्दैछन् काठमाडौं शहरमा।

काठमाडौं कस्तो लाग्यो?
रमाइलो छ। यहाँको मौसम सबैभन्दा राम्रो छ। देशको राजधानी भएर पनि होला, राम्रो छ।

काठमाडौंको के चाहीं नराम्रो लाग्यो?
नागढुंगाबाट काठमाडौं छिर्दा धेरै नै जाम हुने। १५ मिनेटको बाटोमा दुई घण्टाभन्दा बढी जाम भएको पाएँ। त्यो साह्रै झ्याउ लाग्ने रै’छ। त्यो बाटो अलि छिटो बनाएर हामी जस्ता यात्रुहरूलाई सजिलै हिंड्ने वातावरण बनाउनु भए राम्रो हुने थियो। कति जना के के कामले हिंड्नु भएको हुन्छ। बिरामी हुन्छ, के हुन्छ। सबै जाममा पर्दोरहेछ। त्यो अलि नराम्रो लाग्यो।

बाटोमा हिंड्दा झक्कड थापा भनेर कत्तिको चिन्दा रहेछन्?
चिन्नुहुन्छ। विशेष गरी सुरक्षाकर्मी दाईहरूले चिन्नु हुँदोरहेछ। बाटोमा उहाँहरूले झक्कड थापा भाइ भनेर बोलाउनु भयो। ‘अझै राम्रो गर्दै जानु’ भन्दै फोटो खिच्नुहुन्छ। मेरा फ्यानहरू प्रहरी दाजुभाइहरू भेटें।

केटी फ्यानहरू चाहिं कत्तिको भेट्नु भयो?

छैन, मेरा केटी फ्यानहरू। मलाई त्यसरी भेट्ने अनि तपाईंको फ्यान हुँ भनेर कुनै केटी वा महिला दिदिबहिनीहरू आउनु भएको छैन। तर, लुकेर झक्कड थापा भन्दै कानेखुसी गरेको चाहिं देखेको छु। बरु केटा साथीहरू चाहीं मसँग फोटो खिच्न आउनु हुन्छ। रमाइलो लागेको छ।

घरको सम्झना कत्तिको आउँछ?

आउँछ नी, घरमा श्रीमती र दुई छोरा छन्। उनीहरूको माया र याद आउँछ। कुराहरू भइराख्या हुन्छ। यता फेरि धेरै मिडियाका साथीहरूले मलाई अन्तर्वार्ता लिइराख्नुभएको छ। यसैमा व्यस्त भएको छु। एउटा राम्रो काम खोजेर घर जानु छ।

तपाईंलाई काम किन खोज्नु पर्यो?

बाँच्नु परेन? घर बनाएको डेढ लाख रुपैयाँ ऋण छ। त्यो ऋण तिरेर आनन्दले बस्न मन छ। परिवार नियोजन गरेका कारण विदेश जान पाउँदैन भन्छन् साथीहरू, के गर्ने? अब त मर्छु होलाजस्तो लाग्छ। त्यति ऋण तिर्न पाए हुन्थ्यो भन्ने लागेको छ। घरमा छोराहरू छन्, उनीहरूको शिक्षादीक्षा र पालनपोषण गर्नुछ। कति अर्काको देशमा गएर ज्यामी काम गर्नु? यी हेर्नुस् त हातमा ठेला। आफ्नै देशमा मैले सक्ने काम गर्न पाए राम्रो हुन्थ्यो भनेर काम खोजिरहेको छु।

Leave a Reply