Tuesday, May 18, 2021
Home > समाचार > महिला दिदीबहिनी टीभी सिरियल हेरेर समय बिताउने होइन, सीप सिकेर आत्मनिर्भर बन्नोस् -देवी कार्की

महिला दिदीबहिनी टीभी सिरियल हेरेर समय बिताउने होइन, सीप सिकेर आत्मनिर्भर बन्नोस् -देवी कार्की

पोखरा – जीवनमा संघर्षको सामना गर्दागर्दै देवी कार्कीको परिचय बदलियो । उनलाई थमाइएकोे नियुक्ति पत्रको परिभाषा थियो – गण्डकी क्षेत्रमै सरकारी सेवामा पहिलो महिला सवारीचालक ।नेपाल यातायात महिला चालक संघकी केन्द्रीय अध्यक्ष देवीको जन्म उदयपुर जिल्लाको चुवाडे (हाल त्रियुगा) मा २०३७ सालमा भएको हो । राजनीतिक र सामाजिक सेवामा क्रियाशील थिए बाबु नीरबहादुर कार्की । कार्की दम्पती नीरबहादुर र गोमाले दुःख गरेर देवीलाई ९ कक्षासम्म पढाए

‘अर्काको घरमा जाने जात, अब यति पढेपछि पुग्यो’ भन्दै नीरबहादुरले छोरी देवीको पढाइ अघि बढाउन चाहेनन् । देवीको भाइ भने नियमित स्कूल जान्थे ।परिवारमा छोराजस्तै छोरीको लागि स्वतन्त्रता नभएको उनले महसुस गरिन् । लोकान्तरसँगको कुराकानीमा देवी भन्छिन्, ‘मेरो पहिलो संघर्ष बाबुसँगको प्रतिकार बन्यो ।’

बाबुको स्वीकृतिविना किताबकापी च्यापेर उनी जिल्ला सदरमुकाम गइन् । २०५६ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरिन् । एसएलसीपछि उच्च शिक्षाको ढोका खुुल्यो । क्याम्पस पढ्न राजधानी छिरेर पद्मकन्या क्याम्पसमा भर्ना भइन् । उनले पढ्दै गर्दा बुवाको निधन भयो । घरकी जेठी छोरी भएकाले परिवारको जिम्मेवारी उनको काँधमा आयो ।

सिकारू चालकदेखि गुरूसम्म

काठमाडौंको सडकमा १ दिन टहलिँदा आफूजस्तै महिलाले पिठ्यूँमा बच्चा बोकेर टेम्पो चलाएको दृश्य उनले देखिन् । उनको मनमा आँट पलायो । ‘म पनि गाडी चलाउँछु,’ उनको मनले भन्यो ।

सोधखोजपछि नेपालमै पहिलो महिला टेम्पोचालक सुमित्रा दंगालसँग उनको भेट भयो । देवीले गैरीधारामा उनै सुमित्रासँग कार चलाउन सिकिन् । जसै उनले गाडी गुडाइन्, जीवनले पनि उसैगरी गति लियो ।

उनले करीब ६ महिना त्यही काम गरिन् । पछि आफैंले सन्देश महिला ड्राइभिङ सेन्टर खोलिन् । देवीले काठमाडौं खुलामञ्चमा बिहानसाँझ आफूजस्तै महिलालाई गाडी चलाउन सिकाइन् । एकपछि अर्को सिक्नेको संख्या बढ्दै गयो ।

कति जनालाई गाडी चलाउन सिकाउनुभयो ? सरकारी डे«समा सजिएकी देवीले भनिन्, ‘७ सय नाघ्यो होला सर ।’

‘समाजमा ड्राइभर भनेपछि त्यत्ति राम्रो दृष्टिकोणले हेरिन्न नि सर ! त्यसमा पनि अझ महिला,’ उनले आफ्नो पेशाप्रति सामाजिक दृष्टिकोण बताउँदै भनिन्, ‘यो पेशालाई सम्माजनक पेशा बनाउन चाहन्छु । त्यसका लागि अझैं लडिरहेकी छु ।’

ट्रेड युनियनको स्थापना

ठूलो संख्यामा महिलालाई गाडी चलाउन सिकाएपछि उनलाई लाग्यो – उनीहरूको हकहितको लागि अब केही गर्नुपर्छ । योजना बनाइन् – ट्रेड युनियन गठन गर्ने । २०६९ सालमा नेपाल यातायात महिला चालक श्रमिक संघ विधिवत् दर्ता गरिन् ।

त्यसबेलासम्म नेपालमा धेरै ट्रेड युनियन भएपनि महिला सवारीचालक हकहितको लागि काम गरेको भने पाइएको थिएन । आफूले गठन गरेको युनियन एसियामै पहिलो भएको उनले दाबी गरिन् । ‘दर्ता गर्नमै ठूलै झन्झट भयो,’ उनले सम्झिइन्, ‘सरकारी अधिकारीले पत्याएनन् । सदस्यको विवरण मागे । मैले चुनौती दिँदै भने – आवश्यक परे खुलामञ्चमा ७ सय जना महिला सवारीचालक उभ्याउन सक्छु ।’ निकै दबाबपछि संघ दर्ताको प्रमाणपत्र मिल्यो । सोही वर्ष संघको काठमाडौं महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिन् ।

विवाहपछि सरकारी सवारीचालक

उनका पति सूर्य अधिकारी एक गैरसरकारी संस्था (एनजीओ) का जागिरे थिए । कार्यालय जानेक्रममा भेटपछि सामान्य परिचय भयो । सूर्यको घर स्याङ्जा फेदीखोला हो । उदयपुरकी देवी र स्याङ्जाका सूर्यको काठमाडौंको गुहेश्वरीमा सामाजिक परम्पराअनुरुप विवाह भयो ।विवाहपछि सूर्यले देवीलाई सरकारी सेवा प्रवेश गर्नेबारे बेलाबेलामा सुझाव दिन्थे । देवीलाई लाग्थ्यो – सरकारीतिर गएँ भने युनियनमा आवद्ध महिलाको हकहितको लागि काम गर्ने अवसर पाइँदैन ।

युनियनलाई अगाडि बढाउन सरकारीमा प्रवेश गरे झन् सजिलो हुने भन्दै सूर्यले २०६९ सालमा आएर नेपाल विद्युत् प्राधिकरणको तह–३ अन्तर्गत सवारीचालक पदमा फारम भर्न लगाइदिए । देवीले लिखित परीक्षा पास गरिन् । बाँकी थियो ट्रायल ।प्रतियोगात्मक परीक्षाको लागि भएको ट्रायलको क्षण उनले कहिल्यै भुल्दिनन् । भन्छिन्, ‘त्यो घटना सम्झँदा आँखा अझै रसाउँछ ।’

दुईजीउकी देवीलाई डाक्टरले माघ २ गते सुत्केरी हुने अनुमानित ‘डेट’ दिएका थिए । ट्रायल थियो माघ ३ गते । काठमाडौंमा ट्रायल दिनुपर्ने भयो । शारीरिक रुपमा कमजोर भएपनि मन–मस्तिष्क कमजोर थिएनन् उनका । पोखरा विमानस्थलमा समेत उनको अवस्था देखेर विमान कम्पनीले चढाउन मानेनन् । अन्ततः परिणामजस्तो पनि स्वीकार्ने शर्तमा उनले हस्ताक्षर गरिन् र सहजै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिन् ।उनलाई तत्कालै महाराजगञ्ज शिक्षण अस्पताल लगियो । ठीक माघ २ गते बिहान उनले शिशु (छोरा) लाई जन्म दिइन् । उनी १ छोरी र १ छोराकी आमा बनिन् ।

देवीलाई प्रसव पीडा गहिरो थियो । उता भोलिको लागि ट्रायल छँदैछ । २ दिनकै सुत्केरीलाई काठमाडौं खरिपाटीमा कारको ट्रायल दिन लगियो । पतिसमेत आफन्तजनले हात समातेर कारमा राखिदिए । पतिले शिशु सम्हाले । सुत्केरी देवीलाई जसोजसो कारको सिटमा बसाएपछि परिणामको तीव्र प्रतीक्षा बन्यो ।

शारीरिक रुपमा अति नै कमजोर देवीमा सायद ‘देवी’ उत्रियो क्यारे ! उनको मनोबल बलियो बनेर आयो । मुटु दह्रो पारिन् । एउटा खुट्टा ब्रेक र अर्को खुट्टा क्लचमा अडियो । विस्तारै कार स्टार्ट भयो । सबैले ताली पिटे ।दुई हातले स्टेरिङ घुमाएपछि जीवनको गतिले अर्को मोड लियो । उनले ट्रायल उत्तीर्ण गरिन् । आँखिर सुखद परिणाम आयो, उनी सरकारी जागिरमा छनोट भइन् । नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा पोखरा वितरण केन्द्रमा पोस्टिङको लागि नियुक्तिपत्र थमाइन् ।

गण्डकी क्षेत्रमा त्यसअघिसम्म महिलाले संस्थान तथा सरकारी कार्यालयमा सवारीचालक पदमा नाम निकालेका रहेनछन् । भन्छिन्, ‘पहिलो हुँदा निकै खुशी लाग्यो । छोरासँगै नियुक्तिपत्र च्यापेर पोखरा फर्किएँ ।’ देवीको भोगाइमा असम्भव भन्ने केही छैन । ‘इच्छाशक्ति मार्नु हुन्न, हिम्मत हार्नु हुन्न,’ उनले भनिन् ।

सरकारी सेवाको पहिलो दिन । सोचेजस्तो सुखद भने रहेन । सम्बन्धित कार्यालयका तत्कालीन हाकिमले उनीप्रति राम्रो व्यवहार गरेनन् । देवीले तीतो यथार्थ सम्झिइन्, ‘सुत्केरी छु । १ महिना बिदामा बसेर काममा फर्किन्छु । मिलाइदिनु पर्यो भन्दा हाकिमले मुटु बिझाउने वचन बोल्नुभयो ।’

‘महिलाहरू भन्ने बेलामा आधा अधिकार खोज्छन्, पुरुषभन्दा कम छैनौं भन्छन् । काम गर्ने बेलामा बहानाबाजी गर्छन् । आफ्ना मान्छे छैनन् ? अरु कार्यालयमा मिलाउनू,’ हाकिमको वचन अझै पनि याद छ उनलाई । तीता शब्दवाणले देवी रोइछन् । कतिपय दुःखद परिस्थिति सहजै सामना गरेकी उनलाई त्यतिबेला भने आफू कमजोर बनेको महसुस भयो । ‘म ट्वाइलेटमा गएर धरधरी रोएँ । धिक्कार लाग्यो, मुलुकको कर्मचारीतन्त्र । मानवीयता गुमेको भान भयो,’ उनले सम्झिइन् ।

केन्द्रीय कार्यालयमा अनुरोधपछि प्राधिकरणकै क्षेत्रीय कार्यालय पोखरामा काज सरुवा भइन् । ९ महिनासम्म काज बसिन् । २०६९ सालको सेवा प्रवेश ६ वर्ष पुगिसकेको छ । पोखरा बिरौटामा सरकारी निवासमा छोराछोरीसँग बस्छिन् । छोराछोरी निजी स्कूल पढ्छन् ।

देवी जागिरबाहेक विभिन्न संघसंस्थामा आवद्ध छिन् । उनी सरकारी तथा संस्थान चालक एशोसिएसन गण्डकीको क्षेत्रीय सचिव, नेपाल यातायात मजदूर संघ क्षेत्रीय उपाध्यक्ष, नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको कोषाध्यक्ष हुन् ।

विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा पोखरा वितरण केन्द्रका कार्यालय प्रमुख ई. सुरेन्द्रकुमार शाहले देवीले राम्रै तवरले गाडी चलाएको प्रतिक्रिया दिए । ‘खटाएको ठाउँमा तत्काल जानुहुन्छ, महिला–पुरुष भन्ने विभेद छैन,’ उनले भने ।

देवीको संघर्षपूर्ण जीवन र अहिलेको सफलता अरुको लागि साँच्चै प्रेरणाको स्रोत बनेको छ । त्यसैले त उनलाई पूरै सम्मान मिलेको छ । पोखरा लेडी जेसिजले यसै वर्ष उनलाई पोखरामा भव्य सम्मान गर्यो । विशेषतः नारी दिवसमा थुप्रै संघसंस्थाले उनलाई सम्मान गर्दैआएका छन् ।

देवीलाई लाग्छ – मसँग समाजले केही अपेक्षा गरेको छ । समाजमा अझै धेरै गर्नुछ । उनले भविष्यको योजना सुनाइन्, ‘पुरुषजस्तै यस क्षेत्रका आधा महिलालाई कुशल सवारीचालक बनाउँछु ।’ त्यसमा पनि विपन्न वर्ग, एकल महिला, असहाय, हिंसामा परेका महिलालाई पहिलो प्राथमिकतामा राखेर गाडी चलाउन सिकाउने दृढइच्छा जीवितै छ उनमा । विशेषगरी स्कूल तथा मन्टेश्वरीका भ्यान तथा बसमा महिलालाई कुशल सवारीचालक बनाएर गुडाउने उनको योजना छ ।

क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि पोखरा आउने पर्यटक तथा पाहुना ओसार्न आधाजसो ट्याक्सी चालक महिला भएको देख्ने रहर छ उनको । भनिन्, ‘काठमाडौंमा सञ्चालित सन्देश ड्राइभिङ सेन्टरको शाखा पोखरामा खोल्ने र यही माघ पहिलो सातादेखि गाडी प्रशिक्षण शुरू गर्नेछु । ड्राइभिङ पेशालाई सम्मानपूर्वक बाँच्ने पेशा बनाउने छु ।’

‘महिला दिदीबहिनी टीभी सिरियल हेरेर समय बिताउने होइन । श्रीमान्ले कतिखेर तरकारी ल्याइदिनुहुन्छ र पकाउँला भनेर कुरेर बस्ने होइन । सीप सिकेर आत्मनिर्भर बन्नोस् । महिला आर्थिक रुपमा सम्पन्न भयो भने मात्र महिला हिंसाका कतिपय घटना स्वतः न्यूनीकरण हुँदै जानेछन्,’ उनले भनिन्, ‘झ्यालबाट धेरै देखिँदैन, पूरै संसार हेर्न आँगनमै आउनोस् ।’

Leave a Reply