Friday, May 14, 2021
Home > समाचार > भेटेको पर्स फिर्ता गर्दा यसरी बदलियो एउटा गरिबको जीवन

भेटेको पर्स फिर्ता गर्दा यसरी बदलियो एउटा गरिबको जीवन

एजेन्सी। थाईल्याण्डका ४४ वर्षीय वोरालोपसँग गोजीमा मात्र ९ भाट थियो। त्यतिबेला उनले बाटो खसिरहेको ५७९ डलर पर्ने हरमेसको पर्स भेट्छन्। त्यसमा कयौं क्रेडिट कार्ड पनि हुन्छ । त्यो पर्स बेचेर र त्यो क्रेडिट कार्ड चलाएर उनले आफ्नो लागि हप्तौ पुग्ने खाना र लत्ता कपडा किन्न सक्थे। तर, उनले त्यसलाई फिर्ता गर्ने निर्णय गरे। उनको यो निर्णयले उनको जीवन नै बदलिदिएको छ।

त्यस्तो पर्स भेटेको भए जोकोही पनि मनले एकपल्ट त्यसलाई फिर्ता गर्ने वा नगर्ने भनेर सोच्ने थियो होला । तर, वोरालोप भने आफूलाई कहिले पनि पर्स फिर्ता गर्ने दुविधा नभएको बताउँछन्। पर्सका मालिकले पर्स खसाल्दै गरेको देखेर कुद्दै गएर पर्स फिर्ता गर्ने प्रयास समेत गरे। तर, त्यतिबेला पर्सका मालिक गाडी लिएर हुँइकिहाले। लगत्तै उनी प्रहरी कार्यालय पुगेर पर्स हस्तान्तरण गरे।

यता, ३० वर्षीय युवा उद्यमी निटी पोङक्रियान्गोसलाई भने पर्स हराएको पत्तो पनि थिएन । प्रहरीले फोन गरेपछि मात्र उनले यसको चाल पाए । प्रहरीले जब एक घरबारबिहीन व्यक्तिले उनको पर्स फिर्ता गरेको कुरा सुनाए, उनी झन् चकित भए । किनभने पर्सभित्रको केही कुरा पनि हराएको थिएन।

‘गोजीमा पैसा नभएको व्यक्तिले यस्तो पर्स भेटाउँदा पक्कै पनि यो पर्स राख्थ्यो होला । तर, उनी निकै इमान्दार थिए,’ निटीले भने। शुरुमा उनले वोरालोपलाई ५७ डलर पुरस्कारको प्रस्ताव गरे। तर, पछि उनले बैंककमा रहेको आफ्नो फ्याक्ट्रीमा कामको अफर पनि गरे। जसलाई वोरालोपले स्वीकार गरिहाले।

आज वोरालोप महिनाको ३१४ डलर कमाउँछन् । कम्पनीले उनलाई बस्ने ठाउँ पनि दिएको छ।
‘मेरो जीवन बदल्ने मौका दिएकोमा म खुसी छु । एउटा सफा ओछ्यानमा सुत्न पाउन निकै खुसी लाग्छ,’ उनले भने, ‘म निटी र तारिका (निटीकी प्रेमिका)लाई मप्रति देखाएको दयाप्रति आभारी छु।’

तारिकाले वोरालोपले काम गरेको तस्विर सामाजिक सञ्जालमा सेयर गरेकी छिन्। ‘राम्रो कामको राम्रो फल पाइन्छ भन्ने वोरालोप राम्रो उदाहरण हुन्। उनी सबैका लागि प्रेरणाको स्रोत बन्न सक्छन्,’ उनले भनिन्।

Leave a Reply