काठमाडौं – नेपालमा भारतीय २०० र २,००० दरका नोट नचल्ने भएका छन्। भारत सरकारले एक वर्षअघि ५०० र १,००० दरका नोटमा प्रतिबन्ध लगाएपछि २,००० दरका नोट प्रचलनमा ल्याएको थियो।
मन्त्रिपरिषदको मंसिर २४ गतेको बैठकले नेपालमा भारतीय रुपैयाँ २००, ५०० र २,००० दरका नोटमा प्रतिबन्ध लगाउने निर्णय गरेको संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।
भारतले नेपालमा रहेका १,००० र ५०० दरका नोट साट्न नदिएपछि नेपाल सरकारले भारतका थप दुई २०० र २,००० दरका नोटमा पनि प्रतिबन्ध लगाएको हो। मन्त्री बाँस्कोटाले उनले भारतले कारोबारमा ल्याउँदा गरेको सहमति अनुसार साट्न नमानेकाले भविष्यमा क्षति नहोस् भनेर नेपाल सरकारले कदम चालेको जानकारी दिए।