Thursday, December 9, 2021
Home > जीवनशैली > #हार्दिक बधाई! २१ वर्षिया पूजा कांग्रेसको महाधिवेशन प्रतिनिधि भइन् !

#हार्दिक बधाई! २१ वर्षिया पूजा कांग्रेसको महाधिवेशन प्रतिनिधि भइन् !

नेपाली कांग्रेसमा यसपाली युवाहरूको आकर्षण देखिएको छ। वडा तहदेखि नै युवाहरू विभिन्न पदमा उम्मेदवार बन्दै लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहेकाहरूलाई हराइरहेका छन्।

साथै कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघमा सक्रिय रहेकाहरू १४ औं महाधिवेशनका लागि पार्टी राजनीतितर्फ मोडिएका छन्। नेविसंघमा लामो समयदेखि महाधिवेशन भएको छैन। नेविसंघमा नेतृत्व लिनबाट बञ्चित भएकाहरू सिधै पार्टी राजनीतिमा लाग्दा युवाको संख्या बढ्दो देखिएको छ।

यसपालि सोलुखुम्बुकी २१ वर्षीया पूजा फुयाल पनि महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन्। आइतबार भएको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिका लागि फुयालले ४०३ मत ल्याएकी थिइन्। उनी खसआर्य महिलातर्फ उम्मेदवार बनेकी थिइन्। उनीजस्तै उक्त पदमा प्रतिस्पर्धा गरेकी टंकीमाया बस्नेतले पनि ४०३ मत नै ल्याइन्। एक पदका लागि भएको निर्वाचनमा उम्मेदवारबीच बराबर मत आएपछि गोलाप्रथा गर्दा पूजाले बाजी मारिन्।

कांग्रेसको निर्वाचन निर्देशिकामा उम्मेदवारबीच मत बराबर भएको खण्डमा गोला प्रथाबाट टुंगो लगाउने उल्लेख छ। पूजा नेविसंघको राजनीति गर्छिन्- भक्तपुरस्थित सानोठिमी क्याम्पसमा। उनी यसअघि सोलुखुम्बुकै नेचा-सल्यान गाउँपालिका वडा नम्बर ३ बाट क्षेत्रीय प्रतिनिधि बनेकी थिइन्। त्यसबेला पनि उनले २०२ मतसहित निर्वाचन जितेकी थिइन्।

पार्टी राजनीति गर्न नेविसंघकोभन्दा गाह्रो छ। तैपनि पूजा पार्टी राजनीतिमा होमिएकी छन्। आफू उम्मेदवार हुँदा युवाहरूबाट साथ र सहयोग पाए पनि लामो समयदेखि पार्टीमा काम गर्दै आएकाहरूबाट भने उनले सोचेजस्तो सहयोग पाइनन्। ‘भर्खर २१ वर्षकी भयौ महाधिवेशन प्रतिनिधि जाने बेला भएको छैन भनेर केहीले भन्नुभयो,’ पूजाले सेतोपाटीसँग भनिन्, ‘तैपनि मैले हिम्मत गरेँ, महाधिवेशन प्रतिनिधि पनि भएँ।’

उमेर कम भएको भन्नेहरूलाई आफूले काम गरेर विश्वास जित्ने पनि उनले अठोट लिएकी छन्। ‘म पहिले नेविसंघको राजनीति गर्थे। अहिले पार्टी राजनीतिमा छु। महाधिवेशन प्रतिनिधि भएपछि मेरो जिम्मेवारी र भूमिका झन् बढ्नेछ। मैले अब जिल्लाभर नै काम गर्नुपर्नेछ,’ उनले भनिन्, ‘पढाइ र राजनीति सँगसँगै लैजान्छु। पहिले पनि म राजनीति र समाजसेवामा थिएँ त्यसैले मलाई सजिलो नै हुनेछ।’

उनले पार्टीमा नेतृत्व हस्तान्तरण भने सहज नरहेको पाइन्। ‘आफ्नै टिमभित्रबाट पनि कहिलेकाहीँ सहयोग नहुने रहेछ,’ उनले छोटोमा आफ्नो अनुभव सुनाइन्। पूजालाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बधाई दिएका छन्। पार्टीमा युवाको बढ्दो लहर देखिएको शर्माको भनाइ छ।

‘पार्टीमा बढ्दो युवा लहर र जागरणको एक प्रतिनिधि अनुहार २१ वर्षीय पूजा फुयाल हुन्,’ शर्माले भनेका छन्। महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका शर्माले हालै पार्टीमा ‘किशोर केन्द्रीय सदस्य’ अवधारणा पनि सार्वजनिक गरेका थिए। पार्टीमा ४० प्रतिशत क्रियाशील सदस्य युवा भएकोले उनीहरूलाई स्थान दिन पनि ‘किशोर केन्द्रीय सदस्य’ आवश्यक पर्ने उनको भनाइ छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!