Thursday, December 9, 2021
Home > समाज > केहि छात्राहरूकाे यस्तो हर्कतः मधेशी समुदायलाई अपमान गरेको भन्दै ‘रेस्ट्रीकेट’काे माग

केहि छात्राहरूकाे यस्तो हर्कतः मधेशी समुदायलाई अपमान गरेको भन्दै ‘रेस्ट्रीकेट’काे माग

जनकपुरधाम । मधेशी समुदाय र सँस्कृति उपर अपशब्द प्रयोग गरी भिडियो बनाएको विद्यार्थीहरुलाई कारवाहीको माग गर्दै तालाबन्दी गरिएको छ । तराई मधेशको ख्यातीप्राप्त शिक्षालयको रुपमा रहेको लहान प्राविधिक शिक्षालयका केही छात्राहरुले मधेशी समुदाय र सँस्कृति उपर अपशब्द, गालिगलौज जस्ता शब्दहरु प्रयोग गरी सँस्कृति उपर प्रहार गरेको भन्दै उनीहरुलाई कलेजबाट निकाल्नुपर्ने माग समेत गर्दै विद्यालयको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

विद्यार्थी संघर्ष समिति प्राविधिक विद्यालय लहानका विद्यार्थीहरुले दोषीलाई कारवाहीको सट्टा भिडियो खिच्नेलाई यातना तथा गालीगलौच दिइरहेको भन्दै तालाबन्दी गरिएको हो । क्याम्पस प्रमुख योगनारायणले भिडियो अपलोड गर्ने विद्यार्थीलाई यातना दिएको आरोप लगाइएको छ ।

विद्यार्थीहरुको संघर्ष समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै मधेशी समुदायप्रती अपशब्द , गालीगलौज गरेको छात्रालाई शिक्षालयबाट निष्कासन गर्नु पर्ने, शिक्षालय प्रमुखले राजीनामा दिनुपर्ने , विद्यार्थीहरुको लागी प्रयोगशालाको व्यवस्था हुनुपर्ने, पुस्तकालयमा कितावको व्यवस्था हुनुपर्ने, नियमित कक्षा हुनुपर्ने, घाईते विद्यार्थीहरुको निःशुल्क उपचार हुनुपर्ने लगायतका मागहरु समेत अघि सारेका छन् ।

उक्त कलेजमा देशैभरिका सिटिइभिटि अन्तर्गत पर्ने कलेजहरुको प्रमुखको गोष्ठी सम्मेलनको लागि स्वागत गीत र नृत्यको लागि गरिएको तयारीमा केही छात्राहरुले गीतलाई व्यँग तथा त्यसप्रति खिल्ली उडाएको भिडियोले यो प्रकरण तातिएको हो ।

यता, लहान प्राविधिक शिक्षालयका प्रमुख योगनारायण यादवले विद्यार्थीहरुको आरोपलाई निराधार बताएका छन् । शुक्रबार न्यूज ब्यूरोसँग कुराकानी गर्दै प्रमुख यादवले यस प्रकरणका सबै आरोपितलाई कारवाही गरेको दाबी गरे ।

अबदेखि यस्ता प्रकारका उच्छृङगल गतिविध गरिए कलेजबाट निष्कासन गर्ने बोन्ड बनाएर कारवाही गरिएको दाबी गर्दै उनले रिहलसलको क्रममा तीनिहरुले व्यँग मात्र गरेको बताए ।

उनले भने, ‘अब गीत नै धोती कुर्ता गम्छा शब्द सम्मलित छ भने त्यसमा के गर्ने ? दोष उनीहरुको के दोष । गीतमै त्यो शब्दहरु छ । अनि गाउने त ? यसमा अपमान कसरी भयो र ?’

संघर्ष समितिले जारी गरेको प्रेस विज्ञप्ति यस प्रकार छन् ।

विज्ञप्ती

यही मिति २०७५/८/१३ गते लाहन प्राविधिक शिक्षालयमा अध्ययनरत केही छात्रा विद्यार्थीहरु मधेश र मधेशी पहिचानलाई धजिया उडाउदै गाली गलौज अपशव्द प्रयोग गरि भिडियो बनाएर सार्वजानिक गरेका थिए । सो विषयमा लाहन प्राविधिक शिक्षालयका प्रमुख जोगनारायण यादवलाई जानकारी गराउदा उल्टै मधेशी विद्यार्थीहरु माथि शिक्षालय प्रमुखले गालीगलौज तथा मारपिट गरिएको थियो । यस घटनालाई आज मिति २०७५/८/२१ गते शिक्षालय प्रमुखलाई जानकारी गराउदा पुनः गालीगलौज गरी प्रहरी प्रशासन बोलाई विद्यार्थीहरुमाथि लाठी चार्ज गराएको , दर्जनौ विद्यार्थीहरु घाइते भएको घटना प्रती हाम्रो घोर आपती छ ।

माथिको मागहरु पुरा नभएमा मिति २०७५/८/२४ गतेबाट अनिश्चितकाल सम्म शिक्षालयका सम्पूर्ण कार्य बन्द गरिनेछ ।

विद्यार्थी संघर्ष समिति
लाहन प्राविधिक शिक्षालय, लाहन

भिडियोमा ती छात्राहरुले गरेको व्यँग कुनै समुदायलाई लक्षित गरी हेपाहा प्रवृति देखाएको प्रश्नमा प्रमुख यादवले त्यस्तो केही नभएको बताए । उनले तालाबन्दीको सन्दर्भमा भने कुनै प्रकारको तालाबन्दी नभएको दाबी गरे ।

यता, विद्यार्थीहरुले तालाबन्दी गर्न जाँदा प्रहरीले लाठीचार्ज समेत गरेको तथा केही विद्यार्थीहरु घाईते समेत भएको बताएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!