Wednesday, July 14, 2021
Home > समाचार > निर्मलाका लागि न्याय माग्दा बोली गुमाएका अर्जुनकी आमाको याचना – पुरा हेरी शेयर गर्नुहोला

निर्मलाका लागि न्याय माग्दा बोली गुमाएका अर्जुनकी आमाको याचना – पुरा हेरी शेयर गर्नुहोला

काठमाडौं : छोरा अर्जुन भण्डारा अर्धचेत छन्। एकोहोरो हेरिरहन्छन। इन्जिनियर बन्ने सपना देखेको छोराको अवस्थाले आमा शिवकलाका आँखा रसाउँछन्। जब छोरा फिस्स मुस्कुराउँछ उनको मुहार उज्यालो हुन्छ। उनी कानै नजिक गएर बोल्छिन,‘ आमा ..भन न छोरा।’ यही आवाज शिक्षण अस्पतालको न्युरो वार्डमा रहेको बेड नं ३१५ मा अरुले सुन्छन। तर, २० वर्षीय अर्जुनले सुन्न सक्दैनन्।

अधुरै रह्यो सपना कालिकोटबाट बसाईं सरेर उनी कन्चनपुर आइन्। पुरानो बसपार्कमा दुई कोठा भाडामा लिएर चिया पसल चलाउँथिन्। पन्ध्र वर्षअघि श्रीमान चन्द्रको निधन भयो। त्यसपछि दुःख चुलियो। तीन छोरा र दुई छोरी हुर्काउने, पढाउने जिम्मेवारी एक्लो काँधमा थपियो। माइलो छोरा अर्जुन अध्ययनमा तीक्ष्ण थिए। इन्जिनियर बन्ने सपना पूरा गर्न दाजु एकिन्द्रले आफ्नो पढाइ रोके। मोबाइल पसल खोले। भाइको सपना पूरा गर्न रकमको जोहो गरे।

१० साउनमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनाको विरोध उत्कर्षमा पुग्दै थियो। प्रहरीविरुद्व प्रदर्शन चलिरहेको थियो। ७ भदौ २०७४ मा अर्जुन घरमै थिए। साथी आएर बाहिर जाउँ भन्दै आग्रह गरे। उनले नाइनास्ती गरेनन्। आमालाई केहीबेरमै आइहाल्छु भन्दै उनी निस्किए। विरोधमा प्रदर्शन भइरहेको थियो। केही बेरमै भुटुटु चलेको प्रहरीको गोलीले उनी त्यही ढले। गोली उनको दायाँ खुट्टामा बज्रियो। रोक्नै नसक्ने गरी रगत आउन थाल्यो। छिमेकी पुष्पा आत्तिदैं शिवकला सामु उँभिदै भनिन,‘ अर्जुन दाइलाई गोली लाग्यो।’ … रगताम्य अर्जुनलाई महाकाली अञ्चल अस्पताल पुर्‍याइयो। बाटो र अस्पतालमा रगत लत्पतियो। छोरा भेट्न आमा अस्पताल पुगिन्।

‘मुलबाट पानी निस्के झैं खुट्टाबाट रगतको भल बगेको थियो’, उनले विगत सम्झदै भनिन्। छोराको नाजुक अवस्था र बगेको रगत देखेर उनी त्यही ढलिन्। अर्धबेहोसीमै उनी छोरा सम्झिंदै बर्बराइन्। उता चिकित्सकले अर्जुनको अवस्था खतरापूर्ण भन्दै रेफर गरे। उनलाई सेती अन्चल अस्पताल धनगढी ल्याइयो। त्यहाँ पनि चिकित्सकले काठमाडौं लैजानु पर्ने बताएपछि प्लेनबाट काठमाडौं ल्याइयो। ७ भदौं साँझ शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भए।

खुट्टा काटेर भए पनि बचाउँनू.. ‘खुट्टा काट्नु परे पनि काट्नु तर मलाई बचाउनू’ घाइते अवस्थामा यही वाक्य बोलेका थिए, अर्जुन। त्यसपछि उनी बेहोस भए। बेहोसी अवस्थामै उनको दायाँ खुट्टा काट्नु पर्ने भयो। शिक्षण अस्पतालका चिकित्सकले घुँडा नजिकैबाट खुट्टा काटेर ज्यान जोगाए।

‘यति हुँदा पनि जेठो छोरोले सबै सम्हाल्यो। आमा रोलिन भनेर सबै कुरा भनेन। म भने महेन्द्रनगर अस्पतालमा छटपटाइरहे, ’ शिवकला भाबुक भइन। छोराको मुख हेर्छु भन्दै उनी भदौ १८ गते काठमाडौं आइन्। दिनरात छोरालाई हेर्छिन्। कानै छेउँ गई बोलाउँछिन ,‘छोरा बोल न। आमा भन त ..।’ अहँ । अर्जुनको मुखबाट बोलि निस्कँदैनन।

‘आँखा खोल्यो , मुख खोल्छ कि..’ गोलीको चोटले अर्जुन बेहोस भए। त्यसपछि उनी आँखा बन्द गरे। खोल्दै खोलेनन्। ‘गोली लागेको दुई महिनापछि आँखा खोलेको हो। त्यसपछि एकोहोरो हेरेको हेर्‍यै गर्‍यो। आँखाको परेला नझिम्केपछि डाक्टरले टेप लगाइदिने र खोल्ने गरे। अहिले बल्ल परेला पल्टाउँछ।’ छोराको सुधारोन्मुख स्वास्थ्यबारे उनले जानकारी दिइन्।

अहिलेसम्म अर्जुनको मुखबाट आवाज निस्केको छैन। आमा भने आवाजको प्रतिक्षामा छिन्। हातखुट्टा चलेको छैन। अवस्था अर्धचेत देखिन्छ। ‘पुरै जीवन यस्तै रहन सक्छ। बोली फुट्न पनि सक्छ’, उपचारमा संलग्न चिकित्सकको भनाइ उदृत गर्दै शिवकलाले सुनाइन्।

छोराले मीठो मानेको खानेकुरा खुवाउन पाए हुन्थ्यो भन्ने लाग्छ। उनी बोलाउने प्रयास गर्छिन्। तर छोराको बोली फुट्दैन। ‘ आमा, मलाई यस्तो खान मन लाग्छ भनिदिए हुन्थ्यो भन्ने लाग्छ। हामीले खुवाएकोले पेट भरिन्छ, भरिंदैन केही थाहा पाउँदैनौं।आफै अनुमान गर्ने हो,’ उनले पीडा सुनाइन्।

छोराको उपचारका लागि सरकारले पाँच लाख ५० हजार उपलब्ध गराएको छ। तर, गोली चलाउने प्रहरीलाई कुनै कारवाही गरेको छैन। ‘छोराले के अपराध गरेको थियो र गोली हान्नु पर्‍यो ?’, उनी प्रश्न गर्छिन्।

छोरालाई प्यास लाग्यो की भन्दै उनी पटकपटक उठेर रातति पानी पिलाउँछिन्। दुई-दुई घण्टामा कोल्टे फर्काउँछिन्। दिनरात छोराको हेरचाहमा रहेकी आमालाई भन्छिन्, ‘छोराको खुट्टा गुमेपनि एक पटक आमा भनेर बोलाएको सुन्ने मन छ।’

निर्मलाको न्यायका लागि प्रहरीको गोली खाएका अर्जुन चार महिनासम्म बोल्न सकेका छैनन् भने उता निर्मलाको हत्या भएको चार महिनासम्म उनलेसमेत न्याय पाएकी छैनन्। अझैपनि देशभर निर्मलाको न्यायका लागि दैनिक आन्दोलन चर्किएकाे छ । source : Annapurna post

Leave a Reply

error: Please Dont Copy My Content!! !!