Wednesday, December 8, 2021
Home > Uncategorized > परदेशिएका नेपालीहरूकाे पीडाः परदेशमा कहिल्यै आउँदैन दसैं!

परदेशिएका नेपालीहरूकाे पीडाः परदेशमा कहिल्यै आउँदैन दसैं!

‘निधारमा टीका नभएर के भो त? थाप्लोमा हाम्रो आशीर्वाद छँदैछ,’ आमाले फोनमा यसै भन्नुभयो। कता कता मन खिन्न भयो। शरीर स्वचालित यन्त्र भइसकेको छ। मन-मुटु सबै घरतिर पुगेको छ। बच्चा हुँदा टीका लगाएपछि ५ रूपैयाँ भन्दै झगडा गरेको याद ताजै छन्।

टीका लगाएर २० रूपैयाँ दिने अंकल हुनुहुन्थ्यो। त्यति बेलाको २० रूपैयाँ पाउदा आफूलाई संसारकै धनी लाग्थ्यो। केही वर्षअगाडि अंकललाई खाडीले निल्यो। आफूलाई मनपर्ने मान्छे समयले छिटै खोसेर किन लैजान्छ? खाडी छिर्नु मेरो पनि रहर थिएन, बाध्यताले छिरेँ। घरमा आफूलाई मनपर्ने चाड दसैं आएको छ। यो मरूभूमिमा न चाडपर्व आउँछ न रमाइलो।

देश छाडेपछि देशको जति माया अरू केहीको लाग्दैन। चाडपर्व आउँदा होस् वा बिरामी हुँदा, घरको जति याद कसैको आउँदैन। यो देश छाडेर परदेश आउनु धेरै नेपालीको सामूहिक पीडा हो। चाडपर्व नेपालमा आउँछ तर परदेशमा आउँदैन। परदेशमा आउने भनेको नै घर सम्झेर आउने आँशु मात्रै हो। आँशु आउन यहाँ केही हुनुपर्दैन, केही नभएकैले आँशु आउँछ।

चाडपर्व भन्नेबित्तिकै भावनात्मक सम्बन्धसँग पनि निकट हुँदो रहेछ। घरमा रमझम छ, यहाँ फगत मेसिन जस्तो ज्यान मरुभूमिमा भौंतारिएको छ। थाहा छैन घर जाने कहिले हो? यो पनि थाहा छैन, यसपछिको दसैं परिवारसँगै मनाउन पाइन्छ कि पाइँदैन। अघिल्लो दिन सँगै कोठामा सुतिरहेको साथी कहिल्यै नफर्किने गरी अस्तायो। ऊसँग बुर्जखलिफादेखि दुबईका गल्लीगल्ली चहारेको याद ताजै छ। साथी असामको हो, तै पनि आफ्नै नेपाली दाजुभाइजस्तो लाग्थ्यो। नेपाली भाषी भएकाले हाम्रो आत्मियता गहिरो थियो।

यस कारण पनि मन ठेगानमा छैन। सरकारले त खाडी आउन दस हजारभन्दा बढी नतिर्नू भन्छ। सबै कुरा थाहा हुँदाहुँदै पनि फ्रि भिसा पठाउने अलसायाजस्तो कम्पनीमा आउन मैले म्यानपावरलाई एक लाखभन्दा बढी बुझाएको छु। म्यानपावर कम्पनीहरूले विदेश आउने नेपालीसँग एक लाखभन्दा बढी असुल्छन्, रसिद भने दसै हजारको मात्र दिन्छन्।

म्यानपावरले भने जति पैसा नदिए भिसा रद्ध गरिदिन्छु भनेर धम्की दिन्छन्। अनि भनेजति पैसा बुझाएर आउनुपर्ने बाध्यता छ। यसमा नेपाल सरकारको ध्यान कहिले जान्छ पत्तो छैन। सरकारले किन केही गरोस्? नेताका छोराछोरीलाई खाडी आउनुपर्दैन। आउनुपर्ने त गरिबका छोराछोरी न हुन्। साथी भन्दै थियो- घर छोड्दा अरू बेला खासै पीडा हुँदैन जति पीडा चाडपर्वमा वर्षभरीको पीडा एकैदिन हुन्छ।

मैले भनेँ, ‘नेपालमा त भोलि दसैंको टीका पो हो क्यार!’ उसले आँखाभरी आँसु राखेर भन्यो- परदेशीलाई के दसैं, के तिहार? हुन पनि परिवारसँग दसैं मनाउन नपाएको पाँच वर्ष हुन लागेछ। म दुबईको अल्कोज क्याम्पमा छु जहाँ हजारौं नेपाली दाजुभाइ छन्। उनीहरू टीकाका दिन मुटुमाथि ढुंगा राखेर अफिस जान्छन्। बिदा पाउनेहरू बिदा लिन्छन्। खसी काट्छन्। मिलेर पकाउँछन्।

बिदा नपाउनेहरू नि त्यो दिन रमाइलो गर्न भने छाड्दैनन्। दुबईका केही कम्पनीमा नेपाली धेरै छन्। ती कम्पनीले प्रायः नेपालीलाई छुट्टी दिन्छन्। छुट्टी नदिने कम्पनीले पनि टीका लगाउने प्रबन्ध गरिदिन्छन्। तर यो सीमित नेपालीको भाग्यमा हुन्छ। सबै कम्पनीले यो सुविधा दिँदैनन्।

भावनात्मक सम्बन्ध पनि बडो अजिब हुँदोरहेछ। यहाँ जो नेपाली भेटे पनि आफ्नो लाग्छ। बरू नेपालमा आफन्त नै आफ्ना लाग्दैनन्, तर यहाँ हरेक नेपाली आफन्त लाग्छन्। त्यति मात्र कहाँ हो र, यहाँ त दार्जिलिङ, असाम, सिक्किमतिरका नेपाली भाषी पनि आफ्नै लाग्छन्।

घर जान मन कसलाई हुँदैन र? तर रहरलाई बाध्यताले खाइदिन्छ। आर्थिक समस्या ठूलो कुरा रहेछ। यस्तै समस्याले अर्को वर्ष मनाउने भन्दाभन्दै अर्को वर्ष अहिलेसम्म आएको छैन। सबै कुरा मिलाएर घर फर्किने भन्दाभन्दै पनि जवानी बितेको पत्तो नहुने रहेछ।

सधैंको दसैंझै यसपटक पनि हामी कोठामा सँगै बस्ने तीन जनाले छुट्टी मिलाएका छौं। दसैंमा घुम्न जाने त खासै योजना छैन। गर्मीको समयमा घुम्न जान मुस्किलले सकिन्छ।

दसैंमा निधार खाली नराख्न एकअर्काले टीका लगाइदिन्छौं। दुई-चार किलो मासु ल्याउँछौं। यसपटक मदिरा पनि ल्याएका छौं। यसरी नै दसैं मनाउने छौं। तपाईंहरू पनि जहाँ हुनुहुन्छ, त्यहीँ खुसियालीसँगै दसैं मनाउनुहोस्।

(पोखराका अजय अनमोल हाल दुबइमा छन्।)

Leave a Reply

error: Please Dont Copy My Content!! !!