काठमाडौं । नेपाल सरकार गृह मन्त्रालयले बेलायतको नक्कली राहदानीमा नेपाल प्रवेश गरेका पाँच पाकिस्तानीलाई निकालेको छ। जाली राहदानी मुद्दामा काठमाडौं जिल्ला अदालतले तोकेको दण्ड जरिवाना भुक्तान गरिसकेपछि गृह मन्त्रालयले उनीहरूलाई निष्कासन गरेको हो। अन्नपूर्ण पोस्ट दैनिकका अनुसार निकालिनेमा पाकिस्तानी नागरिक गौरी नुजाथ नाज, इलिही फिजा, इराम साज्दा, सोहिल मुहम्मद र इलिही जाका छन्।
उनीहरू २०८० मंसिरसम्म नेपाल प्रवेश गर्न पाउनेछैनन्। गृहको निर्णयपछि उनीहरूलाई फिर्ता पठाइएको अध्यागमन विभागका निर्देशक विष्णुहरि उपाध्यायले बताए। बेलायत छिर्ने उद्देश्यले पाकिस्तानी एजेन्टको सहयोगमा उनीहरूले बेलायती राहदानी किनेका थिए।
उनीहरूलाई निकालिए पनि मानव तस्करको सञ्जाल भने खुल्न सकेको छैन। नेपालस्थित बेलायती दूतावासले समेत उनीहरूले प्रयोग गरेको बेलायती राहदानी नक्कली भएको प्रमाणित गरेपछि अध्यागमनले थप अनुसन्धान प्रक्रिया अघि बढाएको थियो। असार पहिलो साता उनीहरू त्रिवि अध्यागमन कार्यालयबाट बेलायतको नक्कली राहदानीमा भिसा लिएर नेपाल प्रवेश गरेका थिए।