काठमाडौं, मंसिर १९ – कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामाथि अनुसन्धान गरिरहेको टोलीले एक जना शंकास्पद व्यक्तिलाई काठमाडौंबाट नियन्त्रणमा लिएको छ ।
कञ्चनपुरकै एक युवकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको स्रोतले बताएको छ । हाल उनको नाम गोप्य राखिएको छ । पक्राउ परेका व्यक्ति लागूऔषध दुर्व्यसनी हुन् । विभिन्न समितिले घटनामाथि अनुसन्धान गर्ने क्रममा उनलाई पनि शंकास्पदको सूचीमा राखेको थियो ।
यद्यपि, उनी भारत गएको परिवारले दाबी गरेको थियो । तर, पछिल्लो समय उनी काठमाडौंमा देखिएपछि सोधपुछका लागि नियन्त्रणमा लिइएको स्रोतको भनाइ छ । उनको डीएनए परीक्षण गरिने प्रहरीको भनाइ छ ।
उता घटनाको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का निर्देशक प्रहरी नायब महानिरीक्षक (डीआईजी) निरज शाही भने घटनाको अनुसन्धान जारी रहेकाले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने, सोधपुछ गर्ने र छोड्ने क्रम चलिरहेको बताउँछन् । उनले घटनामाथि गम्भीरतापूर्वक अनुसन्धान भइरहेको दाबी गरे ।