Tuesday, October 26, 2021
Home > रोचक > मध्यरातमा युट्युबर नै स्टिङ अपरेशन भन्दै सुतिरहेका जोडिको काेठा भित्र छिरेपछि

मध्यरातमा युट्युबर नै स्टिङ अपरेशन भन्दै सुतिरहेका जोडिको काेठा भित्र छिरेपछि

आइतबार मध्यरात सवा ११ बजेको छ । चार जना युट्युबरसहितको टोली ललितपुरको मंगलबजारस्थित महानरीय प्रहरी प्रभागनजिकैको घरभित्र छिर्छ । क्यामेरासहितका मान्छे घरभित्र पस्न लागेको देखेर घरबेटी आत्तिन्छन् । छिमेकीहरू झ्याल ढाेकाबाट चियाउँछन् । युट्युबरकाे टोलीबाट एक जनाले भुइँ तलाको एउटा कोठा खोलाइदिन छेउकै काेठाकी एक महिलालाई भन्छन् । त्यो कोठाभित्र मान्छे हुन्छन् । समाचार नवराज कुँवरले शिलापत्रमा लेख्नुभएको छ ।

ढोकाबाहिरको पर्दा पन्छाएर ती महिलाले ढकढक गर्दिन्छिन् । चुकुल खोलेको थाहा पाएलगत्तै बुद्ध तामाङ ढोका ठेल्दै भित्र छिर्छन् । क्यामेरा लिएर युट्युबरहरू उनको पछिपछि दौडिन्छन् । सानो-सानो पुरानो कोठा । त्यहीँ किचन र्‍याक । त्यसको छेउमै एउटा बेड । कोठाभित्र हुन्छन्, वीरबहादुर र सुनिता ।

अ’श्लि’ल शब्दले गा-ली गर्दै बुद्धले एकाएक वीरबहादुर र सुनितामाथि आक्रमण गर्छन् । मुक्काले हानेर उनले सुनिताको तल्लो ओठ फु’टा’इदिन्छन् । वीरबहादुरमाथि ला’त र मु’क्का बर्साउँछन् । त्यसपछि युट्युबरले वीरबहादुर र सुनितालाई केरकार गर्छन् । सुनिताकाे ओठबाट र’गत बगिरहेकाे हुन्छ । उनी क्यामेरामा बोल्न इच्छुक देखिन्नन् । तर, युट्युबरले त्यसै छाड्दैनन् । फोकस गरीगरी सुनितालाई देखाउँछन् । कु-टपि-ट र ‘बयान’ पछि उनीहरूले प्रहरी बोलाउँछन् । राति साढे १२ बजे प्रहरी टोली त्यो घरमा आइपुग्छ ।

मध्यरातमा प्रहरीसमेत तिनै युट्युबरजस्तै क्यामेराका माझ अर्काको कोठाभित्र छिर्छ । अनि मोबाइल र क्यामेराबाट भिडियो खिचिरहेका माझ वीरबहादुर र सुनितालाई प्रहरी भ्यानमा हालेर लैजान्छ । भ्यानतिर जाँदै गरेको दृश्य खिचिरहेका बेला एकजना युट्युबर भनिरहेका छन्, ‘११ बजेदेखि हामीले स्टिङ अपरेसन थालेका थियौँ । अहिले १२ः४५ बज्यो । सफल भयौँ ।’ यो भिडियो मोडर्न अनलाइन टिभी नामको युट्युब च्यानलमा प्रत्यक्ष प्रशारण गरिएको थियो । जसलाई अहिले उक्त च्यानलका सञ्चालक सम्पत्ति लामाले सनसनीपूर्ण हेडलाइन दिएका छन्, ‘ना-ङ्गै श्रीमती र नाठो रङ्गे हात भेटेपछि श्रीमानले खोले कालो कर्तुत, १२ बजे राति ना-ङ्गै यसरी समात्यो हेर्नुस्’ ।

कसैको पारिवारिक वा व्यक्तिगत मामिलामा तीनवटा भिडियो बनाएर अपलोड गरेका लामाले चलाएकाे युट्युबको अर्को हेडलाइन यस्तो छ, ‘ना-ङ्गै श्रीमती र ना-ठो रङ्गे हात भेटेपछि श्रीमानले कुटे, भाग्दाभाग्दै प्रहरीले समात्यो हेर्नुस्’ । यससँग सम्बन्धित एउटा भिडियो अहिले युट्युबको ट्रेन्डिङ १३ मा छ ।

सुनिता खासमा बुद्धकी श्रीमती हुन् । तीन छोरीकी आमा सुनिताले बताएअनुसार श्रीमानसँग दैनिक झ गडा हुन थालेपछि तीन वर्षअघि काभ्रेको पनौती-४ स्थित घर छोडेर उनी काठमाडौं आएकी थिइन् । यहाँ उनी मजदुरी गरेर बसेकी छन् । तीन वर्षदेखि श्रीमानसँग उनको कुनै सम्पर्क थिएन । ‘छोरीहरूको माया लाग्छ नि, तर उसले (श्रीमानले) धेरै अन्याय, अत्याचार गरेपछि म घर छोड्न बाध्य भएँ’, सुनिता भन्छिन्, ‘जेठ २०७५ मा मैले घर छोडेर आएदेखि ऊ (बुद्ध)सँग मेरो सम्पर्क थिएन ।’

तर बुद्धचाहिँ सुनिता पनि रक्सी खाएर झगडा गर्न आउने गरेकाे दाबी गर्छन् । र, अहिले सुनिताले सम्बन्ध विच्छेदसँगै सम्पत्ति दाबी गरेपछि आफूले खोजेर पत्ता लगाएको बुद्धको भनाइ छ ।

काभ्रे खरेलथोक- ६ का वीरबहादुरचाहिँ श्रीमतीले डेढ वर्षअघि छोडेर गएपछि मंगलबजारमा एक्लै बस्दै आएका रहेछन् । दुई महिनायता आफू सुनितासँग बस्न थालेको र आफूहरूले विवाह गर्ने निधो गरिसकेको अटो चालक वीरबहादुर बताउँछन् । यो उनीहरूको नितान्त पारिवारिक र व्यक्तिगत मामिला हो । तर, बुद्धको अनुरोध, गुनासोअनुसार सुनिता र वीरबहादुरको कोठामा पुगेको बताउने युट्युबरले उनीहरूको इज्जत बिस्कुनसरी दुनियाँसामु फिँजाइदिएका छन् । वीरबहादुरलाई सुनिताको ‘नाठो’ करार गरिदिएका छन् । अझ ‘सम्बन्धबारे ढाँट्यौ भने डीएनए परीक्षण गराउने’ धम्की दिएका छन् । यो घटनामा प्रहरीले समेत व्यक्तिको घर/कोठामा खानतलासी वा पक्राउ गर्न जाँदा समय र कानुनी बन्धनको हेक्का राखेको देखिँदैन ।

वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ ले व्यक्तिलाई निजी जीवन, पारिवारिक र आवासको गोपनियतासम्बन्धी अधिकार दिएको छ । यो ऐनको दफा ४ मा व्यक्तिको पारिवारिक गोपनियताबारे उल्लेख छ, जहाँ पति र पत्नीबीच मात्र जानकारी हुने एक अर्काको गोपनियतासँग सम्बन्धित विषय पति र पत्नीबीच चलेको मुद्दाका सन्दर्भमा आवश्यक पर्दाबाहेक सार्वजनिक गर्न वा उधिन्न नपाइने उल्लेख छ ।

दफा ७ मा आवासको गोपनियतासम्बन्धी हक छ । ‘कानुनबमोजिम खानतलासी लिन अधिकारप्राप्त अधिकारी वा निजको आदेशबमोजिमबाहेक कुनै पनि व्यक्तिको आवासमा प्रवेश गर्न वा गराउन, खानतलासी लिन हुँदैन’, दफा ७ मा भनिएको छ ।

तर यहाँ प्रहरीले मौखिक गुनासोका आधारमा मध्यराति साढे १२ बजे वीरबहादुर र सुनितालाई कोठाबाटै निकालेर लग्याे । वैयक्तिक गोपनियतासम्बन्धी ऐनको दफा ८ मा अनुसन्धानका लागि कसैको आवासमा प्रवेश गर्दा अगाडि नै सम्बन्धित व्यक्तिलाई लिखित सूचना दिनुपर्ने हुन्छ ।

यसैगरी मुलुकी फौजदारी संहिताले पनि कसैको व्यक्तिगत जीवनबारे बिनाअनुमति केही पनि कुरा बाहिर ल्याउन नपाइने भनेको छ । विदयुतीय कारोबार ऐनको दफा ४५ मा कसैको व्यक्तिगत कुरा बिनाअनुमति प्रकाशन, प्रशारण गर्न नपाइने उल्लेख छ । यही ऐनको दफा ४७ ले व्यक्तिको चरित्र हत्या गर्न नपाइने भनेको छ, यसो गरेमा एक लाख जरिवाना र पाँच वर्ष कैदा वा दुवै सजाय हुन सक्ने साइबर ब्युरोका प्रवक्ता एसएसपी नवीन्द अर्याल बताउँछन् ।

युट्युबरले त ऐनको हेक्का राखेनन् नै, कानुन कार्यान्वयनकारी निकाय प्रहरी स्वयंले कानुन मिचेकाे छ । यसरी आफ्नी आमा र बुवाबारे सार्वजनिक भिडियो देख्दा बुद्ध र सुनिताका ५, ८ र १२ वर्षका छोरीहरूलाई कस्तो असर पर्ला ? प्रहरीले यति संवेदनशील विषयलाई समेत ख्याल गरेकाे छैन ।

‘के यो घटना मध्यराति कोठामै छिरेर मान्छे पक्रिनुपर्ने किसिमको थियो त ?’ प्रहरी प्रभाग मंगलबजारका इन्चार्ज प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले १०० मा फोन आएपछि आफूले प्रहरी टोली पठाएको बताए । घटनाबारे मंगलबजारमा कुनै उजुरी पनि परेको थिएन । भिडियोमा प्रस्ट देख्न सकिन्छ, प्रहरीका असईले घटनाका सम्बन्धमा त्यहीँ नै बुद्ध तामाङसँग सोधपुछ गरिरहेका छन् । अनि त्यहाँ कुनै महिला प्रहरी पनि देखिँदैनन् ।

‘मौखिक सूचनाको आधारमा यस्तो गर्न हुन्थ्यो ?
इन्स्पेक्टर श्रेष्ठले घटनामा प्रहरीको कमजोरी स्वीकारे । ‘इमरजेन्सी नम्बरमा सूचना आएपछि मैले टाेली पठाएँ । तर समय असान्दर्भिक परेकाे कुरा अहिले महसुस भयाे,’ उनले भने, ‘प्रहरी नियत गलत हाेइन । अब यस्ता कुरामा ध्यान दिइनेछ ।’

पक्राउ परेका दुवै जनालाई आफन्तको जिम्मामा छोडिएको पनि निरिक्षक श्रेष्ठले बताए । भिडियो हाल्ने युट्युबर सम्पत्ति लामालाई यसरी मध्यराति अर्काको घरमा छिरेर किन खानतलासी लिनुभएको ? भन्ने प्रश्न गर्दा उनको जवाफ थियो, ‘बुद्ध तामाङको गुनासो आएपछि हामी गएका हौँ ।’

‘त्यहाँ बुद्ध तामाङले हात हाल्दा तपाईंहरू किन मुकदर्शक हुनुभयो ?’ जवाफमा लामा भन्छन्, ‘हामीले त नकुट्नुहोस् भनेका हौँ । उहाँले आवेगमा आएर हात छोडिहाल्नुभयो ।’ यसो भन्दै गर्दा युट्युबर लामाले भिडियो हाइलाइटमा सुनिता र वीरबहादुरलाई बुद्धले कुटेको क्लिप्स रिप्ले गरीगरी राखेका छन् ।

उनले आफ्नो च्यानलमा समाचार र यस्तै सामग्री अपलोड गर्ने गरेको बताए । यसको अर्थ आफू पत्रकारिता नै गरिरहेको उनको आशय थियो ।

युट्युबरले पत्रकारिता गर्नै सक्दैनन् वा पाउँदैनन् भन्ने छैन । तर, पत्रकारितामा समाचारजन्य सामग्री उत्पादन, प्रसारण गर्दा पत्रकारिताका मादण्डहरूको पालना अनिवार्य शर्त हो ।

पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) ले मानिसको गोपनियताको हकको सम्मान गनुपर्ने औँल्याएको छ । ‘पत्रकार तथा सञ्चारमाध्यममले विपत्ति वा शोकमा परेका, दुःख-पीडा भोगिरहेका व्यक्ति वा उनका आफन्तजनमा थप पीडा पुग्नेगरी वा सार्वजनिक संवेदनशीलतामा प्रतिकूल असर पर्नेगरी कुनै पनि विवरण, चित्र, संकेतलगायतका सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्न हुँदैन’, आचारसंहितामा प्रष्ट भनिएको छ ।

३ लाख ६३ हजारभन्दा बढी सब्स्क्राइबर भएको मोडर्न अनलाइन टीभी नामक युट्युब च्यानलका अक्सर भिडियो व्यक्तिका निजी, पारिवारिक विषयसँग सम्बन्धित छन् । बिडम्बना त के भने, अरुको व्यक्तिगत गोपनियता नङ्ग्याइएका यस्ता भिडियो ट्रेन्डिङमा पर्ने गरेका छन् ।

केही साताअघि एउटा यस्तै भिडियो युट्युबको ट्रेन्डिङमा थियो । स्मृति र साजन नामका दुई जनाको कोठामै पुगेर युट्युबर भोजराज थापासहितको टोलीले खानतलासी गरेको थियो । श्रीमानले राम्रो व्यवहार नगरेको भन्दै आफूलाई मन परेका व्यक्ति अर्थात् साजनसँग बस्न थालेकी स्मृतिलाई कोठामै पुगेर युट्युबर र उनका श्रीमानले दुर्व्यवहार गरेका थिए ।

स्मृतिका श्रीमान् भनिएका व्यक्तिले क्यामेराअगाडि नै साजनलाई कु-टपि-ट गरेको देखिन्छ । युट्युबर थापाले उनीहरूको गोपनियता उधिनेर छताछुल्ल पारिदिन्छन् । ‘मेचीकाली खबर’ नामको युट्युब च्यालनमा यो घटनाबारे हेडलाइन आएको थियो, ‘कोठाभित्र रङ्गेहात भेटिए स्मृति र साजन, पेटको बच्चा फालेको हो/होइन ? भोजराजले खोजीखोजी यसरी भेटे’ । भिडियोमा भोजराज भन्दै थिए, ‘तिमेरले कति दुःख दिएको ? मैले त केही रात भयो सुत्न पनि पाएको छैन ।’ पछि भोजराजले यो भिडियो युट्युबबाट हटाइसकेका छन् । यसअघि पनि उनले यस्ता भिडियाे बनाउँदै केही दिनलगत्तै डिलिट गर्ने गरेका थिए ।

युट्युबमा हिजोआज कसैको नितान्त व्यक्तिगत जीवनबारे भिडियो बनाउने, ठाउँको ठाउँ मान्छेलाई अपराधी करार गरिदिने, स्टिङ अपरेसनका नाममा मान्छेका घरकोठामा छिर्ने होडबाजी नै चलेकाे छ । यस्ता भिडियो बढी हेरिने भएकाले नयाँ युट्युबरहरू पनि परिवार र मान्छेका गोप्य घटना खोज्दै हिँड्न थालेका छन् । केही साताअघि सविता भण्डारी मृत्यु प्रकरणमा चितवनमा युट्युबरकाे ‘मेला’ लागेकाे थियाे ।

कतिपय युट्युबरले त मानवीय संवेदना नै नराखी भिडियो बनाउने गरेका छन् । सम्पत्ति लामा र भोजराज थापा त प्रतिनिधि युट्युबर मात्र हुन् । निजी कुरा बाहिर ल्याउन युट्युबरबीच देखिएकाे हाेडबाजीले समाजमा राम्रो संकेत नगरेको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइराला बताउँछन् । कुनै पनि हालतमा यस्तो प्रवृत्तिलाई रोक्नुपर्ने बताउँदै उनी भन्छन्, ‘हाम्रो तर्फबाट हामी सक्दो प्रयास गरिरहेका छौँ ।’

प्रहरीको साइबर ब्युरोका एसएसपी एवं प्रवक्ता नविन्द अर्याल युट्युब, टिकटकलगायतका सामाजिक सञ्जालबाट चरित्र हत्या भएको उजुरी लिएर थुप्रै पीडित आउने गरेकाे बताउँछन् । ‘सकेसम्म हामी तत्कालै कारबाही गर्छौं। तर, केही झन्झटहरूको सामनाचाहिँ हामी आफैँ पनि गरिरहेका छौँ ।’

उनका अनुसार लिंक्डइन, ह्वाट्सएप, युट्युब, फेसबुक, भाइबरलगायतका सोसल मिडियाका सम्पर्क अफिस नेपालमा छैनन् । यसमार्फत हुने अपराधमा प्रहरीले विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही गर्ने गरेको छ । उजुरी परेको ३५ दिनभित्र आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने सीमा छ । तर, सामाजिक सञ्जालहरूका प्रधान कार्यालयबाट जवाफ आउनै दुई महिनासम्म लाग्छ । कतिपयकाे त प्रहरीले जवाफ नै पाउँदैन ।

यसो हुँदा पीडक उम्किने गरेको अर्याल बताउँछन् । विदेशी एजेन्सीसँगको पारस्परिक समन्वय र प्रहरीले सिधै गरी दुई तरिकाले अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाउने गरेको छ । अर्कातिर युट्युबजस्ता सोसल मिडियाको नियमन गर्ने कानुन नै छैन । २०६३ सालमा ऐन आउँदा फेसबुक र युट्युबको यस्तो रूप परिकल्पनै गरिएको थिए । ब्यूराेका प्रवक्ता अर्याल पीडित कानुन र आफ्नो अधिकारबारे पूर्ण जानकार नहुँदा पनि युट्युबरको अ त्या चार सहेर बस्न विवश भएको बताउँछन् । ‘आफ्नो चरित्रहत्या हुँदा कहाँ, कसरी उजुरबाजुर गर्ने भन्नेबारे जानकारी नहुँदा धेरै पीडित पीडा सहेर बसिरहेको पाइएको छ । हाम्रो ध्यानाकर्षण भएको घटनामा त एक्सन लिने गरेका छौँ’, उनले भने ।

प्रहरीलाई परेको अप्ठेरोमा सहजीकरण गर्न गृहमन्त्रालयले के गर्दैछ त ?
गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले साइबर ब्युरोलाई कुनै कानुनी झमेलाका कारण काम गर्न अप्ठेरो परेको भए समाधान गर्ने बताए । ‘उहाँहरूले समस्या ल्याउनुपर्‍यो, हामी त्यसलाई तत्कालै सहजीकरण गर्ने प्रयास गर्छौं । तर, युट्युबसहितका सोसल साइटमा बढ्दो विकृतिलाई रोक्न खुट्टा कमाउन हुँदैन’, उनले शिलापत्रसँग भने ।

महान्यायाधिवक्ताको कार्यालय सरकारलाई आवश्यक कानुनबारे राय दिने निकाय हो । युट्युबमा बढेका विकृति र कारबाहीमा देखिएको कानुनी अस्पष्टता कार्यालयले देखेको छ कि छैन ?

सहन्यायाधिवक्ता एवं कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मी संसदमा विचाराधीन सूचना प्रविधि विधेयकले कानुनकाे रूप पाएपछि धेरै समस्याकाे सम्बोधन हुने बताउँछन् । यद्यपि, युट्युब, फेसबुकलगायतको प्रभावकारी नियमनमा स्पष्ट कानुन नरहेकाले त्यसमा तत्कालै केही गर्नुपर्ने उनकाे भनाइ छ ।

अघिल्लो वर्ष महान्यायाधिवक्ता कार्यालयको प्रतिवेदनमा युट्युबसहितका सामाजिक सञ्जालको नियमनमा सरकारले विशेष कदम चाल्नुपर्ने सुझाव औँल्याइएको उनले बताए ।

युट्युब च्यानल कुनै सरकारी निकायमा दर्ता हुँदैनन् । जबकि, अखबार, टिभी, रेडियो, अनलाइनहरू बिनादर्ता सञ्चालन हुँदा अनाधिकृत मानिन्छन् । समाचारमूलक सामग्री प्रसारण गर्ने माध्यमहरू दर्ता हुनैपर्छ । प्रेस काउन्सिलले युट्युबरहरूलाई सामाचारजन्य भिडियोहरू बनाउँदा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न बारम्बार ध्यानाकर्षण गराउँदै आएको छ । गत जेठमा यही विषयमा काउन्सिलले अनलाइन टिभी (युट्युबमा समाचारजन्य भिडियो प्रसारण गर्ने)हरूसँग अन्तर्क्रिया गरेको थियो । तर, काउन्सिलसँग पनि युट्युबलाई नियमन गर्न पाउने अधिकार छैन ।

युवा पुस्ताको आम्दानीको सबैभन्दा सजिलो माध्यम बनेको युट्युबले देश-दुनियाँमा तीव्र गतिमा सूचना पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेकाे छ । मूलधार भनिएका मिडियाले समेट्न नसकेका थुप्रै विषय र पुग्न नसकेका थुप्रै ठाउँमा पुगेर कतिपय युट्युबरले समाचार बनाउने गरेका छन् । यसलाई सकारात्मक पक्ष मान्नुपर्छ । तर, मान्छेका घरभित्रै छिर्ने, गोपनियता छताछुल्ला पारिदिने अनि आफूलाई सगौरव पत्रकार भन्दै हिँड्ने प्रवृत्तिले भने वास्तविक पत्रकार र व्यावसायिक रूपमा चलेका सञ्चारमाध्यमलाई चुनौती दिइरहेको प्रेस काउन्सिलका पूर्वअध्यक्ष बोर्णबहादुर कार्की बताउँछन् ।

नेपालमा यस्ता धेरै युट्युबर छन्, जसले सूचना र समाचारका नाममा व्यक्तिको नैसर्गिक अधिकारमाथि धावा बोलिरहेका छन् । घर, समाजमा वितृष्ण फैलाउने खालका सामग्री बनाएर प्रसारण गरिरहेका छन् ।

नेपालका सबै युट्युब च्यानल यस्ता छन् अथवा युट्युबरले पत्रकारिता गर्न पाउँदैनन् भन्ने हाेइन । मूलधारका भनिएका अक्सर मिडियाले पनि युट्युबको प्लेटफर्म प्रयोग गरिरहेका छन् । टेलिभिजन र अनलाइन पोर्टलका युट्युब च्यानलहरू छन् । युट्युबका सामग्री मासमा जान्छन्, त्यसैले यो आफैँमा मिडिया हो । तर, ती सामग्री पत्रकारिताका मापदण्ड अनुरुप तयार गरिएका छन् कि छैनन् भन्ने कुरा महत्त्वपूर्ण हो । हामीकहाँ प्रायः युट्युबरले देश, समाजप्रतिको जिम्मेवारीभन्दा ज्यादा डलरतिर आँखा लगाएको पाइन्छ ।

अखबार वा अनलाइनले प्रकाशन/प्रसारण गर्ने सामग्रीमा पत्रकारिताका मापदण्ड, आचारसंहिताको पालना गर्नैपर्छ । विश्वसनीय माध्यमका रूपमा आफूलाई स्थापित गर्दै लगेपछि मात्र यिनले विज्ञापन पाउँछन् । तर, युट्युबरहरूले जति सनसनीपूर्ण हेडलाइन राखेर भिडियो बनाउँछन्, त्यति धेरै भ्युज आउँछ अनि उति नै डलर पनि ।

गुगलले सिंगापुरबाट हरेक महिनाको २१-२५ तारिकमा बैंक खातामा सिधै डलरमा रकम जम्मा गरिदिने गरेकाे छ । त्यही डलर बढाउने हाेडमा कतिपय युट्युबर मान्छेका बेडरूमदेखि पाइखानासम्म छिरिरहेका छन् । ‘पहिलो कुरा सरकारी संयन्त्रले यस्तो प्रवृत्तिलाई कसरी निरुत्साहित गर्न सकिन्छ, त्यो सोच्नुपर्छ । दोस्रो युट्युबर आफैँ सचेत र जिम्मेवार बन्नुपर्छ । यो समाज उनीहरू पनि हो । यो विकृत हुँदा उनीहरूलाई पनि घाटै लाग्छ’, प्रेस काउन्सिलका पूर्वअध्यक्ष कार्की सुझाउँछन् ।

देशमा यस्ता थुप्रै युट्युब च्यानल छन्, जसले स्थानीयसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा समाचार बनाउँछन् । यी च्यानलले साना-ठूला सबै समारोहको जानकारीलाई सनसनीपूर्ण खबर बनाएर प्रस्तुत गरिरहेका हुन्छन् । अन्य आधिकारिक मिडियाले कभर गर्ने सम्भावना कम हुने भएकाले स्थानीय नागरिक पनि यस्ता युट्युब च्यानलहरूलाई नै सूचना दिने गर्छन् । अनि यीमध्ये धेरैले तिललाई पहाड बनाएर भिडियो बनाउँछन् र सुनिता, वीरबहादुर, स्मृति, साजनजस्ता मानिस युट्युबरको अत्याचारमा पर्ने गरेका छन् ।

अदालतमा विचारधीन मुद्दा हाेस् वा समाजमा चलेका घानेघुने हल्ला, युट्युबरले अतिरञ्जित गरेर ठाउँकाे ठाउँ फैसला गर्ने गरेका छन् । अनि त्यसलाई गिजोलिदिन्छन् ।

१० साउन २०७५ मा कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको ब ला त्कारपछि ह त्या भएकाे घटना । भदौ २०७६ मा ‘कथित् आत्महत्या दु रु त्साहन मुद्दा’मा टेलिभिजनकर्मी रवि लामिछानेसहित उनका दुई सहकर्मी पक्राउ परेकाे प्रकरण । भदौ २०७६ मा कपनमा ३१ वर्षीया प्रकृति राई आफ्नै डेरामा झु ण्डिएको अवस्थामा भेटिएकाे मामिला । माघ २०७६ मा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना गम्भीर घाइते र घरमा काम गर्ने दाङका विजय चौधरी मृत भेटिएकाे घटना ।

यी सबैमा युट्युबरले प्रहरी र अदालतलाई हैरान पारिदिएका थिए । संवेदनशील घटनामा युट्युबरले बाटाेबाटाेमै फैसला गरिदिँदा कतिपय मुद्दा गिजाेलिने र अनुसन्धान नै प्रभावित हुने गरेकाे प्रहरीका एक उच्च अधिकारी बताउँछन् । ‘गिजाेल्नेखाले कुनै घटना नभेट्टाउँदा मान्छेका काेठाचाेटामा छिर्न थालेका छन्, यसमा हाम्रो ध्यानाकर्षण भएको छ’, ती अधिकारीले भने ।

समाजशास्त्री दीपेश घिमिरेका अनुसार नेपालमा विश्वसनीय च्यानलभन्दा बढी अरुका दुःख बेच्ने, झैझडा देखाउने, विषय र प्रसंगलाई अतिरञ्जित गर्ने, परिआए प्रहरी, अख्तियार, अदालत सबै बनेर आ तंक सिर्जना गर्ने खालका युट्युबतिर धेरै मानिस अलमलिइरहेको पाइन्छ । ‘यस्तै च्यानल हेरेर हाम्रो समाजले धारणा बनाउन थालेको छ, जुन डरलाग्दाे पक्ष हाे,’ उनी भन्छन् ।

(नाेटः पीडितकाे नाम परिवर्तित हाे )

Leave a Reply

error: Please Dont Copy My Content!! !!