Wednesday, November 30, 2022
Home > समाचार > भरतपुरमा प्रचण्ड माथि आक्रमणको वास्तविकता यस्तो! खुकुरी प्रहार निराधार

भरतपुरमा प्रचण्ड माथि आक्रमणको वास्तविकता यस्तो! खुकुरी प्रहार निराधार

चितवन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि चितवनमा कुनै किसिमको अभद्र व्यवहार नभएको उनको सचिवालयले जनाएको छ।दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार बुधबार र बिहीबार प्रचण्ड चितवनमा विभिन्न कार्यक्रम सहभागी भए पनि कुनै किसिमको अभद्र व्यवहार र अप्रिय घटना नभएको प्रष्ट पारेका छन्।

बिहीबार बिहान भरतपुर महानगरपालिका–२३ कृष्णचोकमा पार्टी प्रवेशको कार्यक्रममा एक व्यक्ति मदिरा पिएर कार्यक्रम स्थलमा पुगेका थिए।मदिरा पिएर कार्यक्रमस्थल बाहिर सामान्य हल्ला गरेको र उक्त व्यक्तिलाई सुरक्षाकर्मीले सम्झाई बुझाई पठाएको सचिवालयले बताएको छ। कतिपय सञ्चारमाध्यमले भने प्रचण्डविरुद्ध खुकुरी

नचाएको भन्दै समाचार लेखेपछि सचिवालयले आपत्ति जनाएको हो।यसरी मदिरा पिएर कार्यक्रमस्थलभन्दा बाहिरै बसेर प्रचण्डलाई गाली गर्ने माओवादीका कार्यकर्ता रामबहादुर रिमाल भएको खुलेको छ। उनले प्रचण्डलाई सुरक्षाकर्मीले भेट्न नदिएको भन्दै गाली गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

यही सामान्य विषयलाई अतिरञ्जित गरी केही सञ्चारमाध्यमले समाचारसमेत प्रकाशित गरेकामा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको सचिवालयले बताएको छ।सचिवालयले जनयुद्ध र योद्धाको समेत अपमान हुने गरी कपोलकल्पित र भ्रमित तवरले प्रकाशित समाचारप्रति विश्वास नगर्न सबैमा आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले पनि दाहालको दुईदिने चितवन बसाईका क्रममा कुनै किसिमको अभद्र व्यवहार नभएको दाबी गरेको छ।

Leave a Reply