Wednesday, November 30, 2022
Home > प्रवास > अस्ट्रेलियामा नेपालीहरूकाे यस्तो खबर! नक्कली जोडीकाे भयो बिगबिगी

अस्ट्रेलियामा नेपालीहरूकाे यस्तो खबर! नक्कली जोडीकाे भयो बिगबिगी

हिरा कंडेल, अष्ट्रेलिया । अस्ट्रेलिया विकशित देशमध्येको पनि उत्कृष्ट देश हो। जहाँ स्वदेशी र विदेशीजनलाई न्यायको समान आँखाले हेरिन्छ। सरल भाषामा भन्नुपर्दा यहाँ कानुनी राज्यको गतिलो आभास पाइन्छ। कानुनको पालना र उपयोग जनताको दैनिकीसँग जोडिएकाले मानिसहरू कानुनलाई धर्मशास्त्र जतिकै पवित्र मान्छन्। अर्थात, यहाँ राज्य (सरकार ) र जनता दुबै कानुनले बाँधिएका हुन्छन्। सही उपयोग गर्नेहरू सरल हिसाबमा जिन्दगी जिउँछन् भने दुरूपयोग गर्नेलाई कठोर कानुनी दायरामा उभ्याइन्छ। अध्यागमन कानुन पनि समानता र कठोर पालनामा आधारित छ।

भनिन्छ, अस्ट्रेलियाको अध्यागमन कानुन धेरै जटिल र बुझ्न कठिन छ। आप्रवासीहरु त्यही कठिन र जटिल कानुनको मातहतमा रहनुपर्ने र सतप्रतिशत पालना गर्नुपर्ने सर्तमा प्रवेशआज्ञा (भिसा) पाएका हुन्छन्। हाम्रो जस्तो फितलो कानुनी राज्यबाट यहाँ आएका मानिसलाई यसको सही पालना गर्न नसक्दा भोग्नुपरेका कठिनाई वर्णन गर्न त्यति सजिलो छैन।

यस्तो कठिनाईबाट बच्ने एउटै मात्र उपाय भनेको एसको सही र सतप्रतिशत पालना गर्नु नै हो। हजुरहरूको भिसा कपिमा त्यो कुरा उल्लेख गरिएको हुन्छ र विस्तारमा बुझ्न चाहनुहुन्छ भने रजिस्ट्रड माइग्रेसन एजेन्टसँग राय लिन सकिन्छ।

हाम्रो समुदायको आकार अस्ट्रेलियामा बढिरहेको छ र यो हाम्रा लागी खुसीको कुरा हो। मानव विकास बसाईसराइको इतिहास भएको हुँदा आफूलाई खुसी मिल्ने ठाउँमा समाहित गर्नु वा सर्नु जायज कुरा पनि हो।

सानो खोलाको पानी ठूलो सागरमा मिसिँदा पुरानै रङ र गतिमा कायम रहन सक्दैन। यो ध्रुब सत्य कुरा हो। त्यसैले हाम्रो समुदायमा विभिन्न खालका अनौठा घटना घटेको हामी देखिरहेका छौ। त्यो मध्येको एउटा हो नक्कली विवाह गरेर अस्ट्रेलिया आउनु र पछि पछुताउनु। यसका अध्यागमन जटिलता र यसले निम्ताउने नतिजाका बारेमा यहाँ उल्लेख गर्नु मैले अती सान्दर्भिक ठानेको छु।

नक्कली विवाह दर्ता गराएर आफ्ना छोराछोरी अस्ट्रेलिया पठाउने बाबुआमाहरू सबैभन्दा दोषि हुन्। गलत बाटो समाएर आएका छोराछोरीको कार्य अध्यागमनले पत्ता लगायो भने उनीहरूको भिसा रद्ध मात्र हुने होइन कम्तीमा पनि ३ वर्ष अस्ट्रेलियाको कुनै पनि भिसा आवेदन गर्न पाइदैन। यो कुरा अस्थायी भिसाहरू जस्तो स्टुडेन्ट भिसामा मात्र होइन पर्मानेन्ट भिसा (पिआर ) हरुमा समेत लागू हुन्छ।

नक्कली विवाह गर्नेहरू सँगै पनि बस्दैनन् र सब्सिकोयन्ट भिसा भनेको मुख्य भिसाधारीलाई मानसिक र भौतिक रुपमा सहयोग मिलोस भनेर अस्ट्रेलियन सरकारले दिएको सुबिधा हो र यसको दुरूपयोगले सक्कली निबेदकलाई ठूलो असर गर्छ। त्यसैले तेस्ता जोडिहरुको भिसा रद्द पनि हुनसक्छ।

नक्कली जोडीहरू घरेलु दुर्व्यवहारको सिकार हुनसक्ने हुँदा प्रहरी र कानुनको फन्दामा सजिलै पर्न सक्छन्। अस्ट्रेलियामा कानुनी प्रक्रिया अति महंगो छ। नक्कली विवाहधारि अति छोटो समयमा वा आफ्नो काम भएपछि सम्बन्ध बिच्छेद गरिहाल्ने हुँदा पछि सक्कली सम्बन्धमा जान जटिल मात्र हुने होइन अन्य कानुनी जटिलतामा पर्न सक्छ्न्।

यस्तो कार्यले ठगी गर्नेलाई प्रोत्साहन मिल्छ र यसरी आएका बिद्यार्थी र डिपेन्डेड बारम्बार पीडित हुनु पर्छ। यस्ता कार्यबाट यहाँ आउन सहज भए पनि बिभिन्न कारणले पछि फर्किन भन्झटीलो हुनेगर्छ।

यदि कुनै विद्यार्थी एक वर्षभन्दा लामो समयको पढ्न जाँदैछ भने आफ्नो परिवारबाट टाढा बस्न नपरोस् भनेर दिइएको सहुलियत पनि हो। अर्कोतिर एक जनाको पढाईका निम्ति आर्थिक रूपमा अर्का सहयोगी बनुन् भनेर यस्तो भिसाको व्यवस्था गरिएको हो। तर, राज्यले प्रदत्त गरेको सुविधालाई खराब नियतले गलत प्रयोग गर्नु पनि अपराध भित्र पर्ने हुनाले यसबाट सचेत हुनुपर्छ।
अन्त्यमा कानुनी राज्य भएको देशमा नक्कली विवाह गरि अहिले राम्रो गरेझै लागे पनि भविष्यमा पछुताउने कार्य आफू पनि नगरौं र अरूलाई पनि गर्नबाट सचेत गरौं।

यसरी नक्कली बिवाह गरेर आउने नेपालीको संख्यामा ह्वात्तै वृद्धि भएका कारण अहिले डिर्भोसको संख्यामा पनि अधिकतम् वृद्धि भएको देखिन्छ। जुन नेपाली समाजका लागि असुभ संकेत पनि हो।

(लेखक अस्ट्रेलियाका रजिष्टर माइग्रेशन एजेन्ट हुन्।

Leave a Reply