Tuesday, July 13, 2021
Home > समाचार > ०७५ कार्तिक २४ गते शनिबार ई. सं. २०१८ नोभेम्बर १० तारिखको राशिफल हेर्नुहोस

०७५ कार्तिक २४ गते शनिबार ई. सं. २०१८ नोभेम्बर १० तारिखको राशिफल हेर्नुहोस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –चन्द्रमा चौथो घरमा भए पनि आज शुभ ग्रहको दृष्टि पर्नाले दिन बलियो भएको छ । बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । आमाबुवाको स्वास्थ्यमा सुधार आउने छ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु हुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –आज पराक्रम भावमा कमजोर चन्द्रमा बसेको दिन छ, त्यसैले मिश्रित प्रभाव प्राप्त हुनेछ । खानपानको समयमा बदलाव आउने छ । बन्द व्यापार र कृषिक्षेत्रमा मध्यम छ । धार्मिक, सामाजिक र परोपकारी काममा दौडधूप गर्नुपर्ने छ । सामाजिक काममा मरिहत्ते गरी खट्दासमेत चाहेको परिणाम नआउनाले दिक्क लाग्नेछ । कताकता भाग्यलाई दोष दिन मन लाग्नेछ । मनमा वैराग्यको भावना पलाउन सक्छ र आध्यात्मिक र दार्शनिक भावनाको विकास हुनेछ । आज गरिएको परोपकारको कामबाट रोकिएको काम बन्न सक्छ । दाजुभाइ वा नजिकका मित्रले सकेको सहयोग र सद्भाव प्रदान गर्नेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –डुब्न लागेको धन फिर्ता आउने वा लामो समयदेखि रोकिएको काम बन्ने दिन छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । स्वास्थ्यपक्षमा राम्रो सङ्केत छ । बोलीमा मिठास आउने छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । परिवारमा मेलमिलापको वातावरण कायम हुनेछ । मित्र र सहयोगी असाध्यै सहायक सिद्ध हुनेछन् । आर्थिक लाभ प्राप्त हुनेछ । हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । कुटुम्ब वा भाञ्जाभाञ्जीका तर्फबाट खुसीको समाचार आउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –सुरुमा बाह्रौ भावमा र त्यसपछि आफ्नै घरमा चन्द्रमा रहने छ, त्यसैले मनमा देखिएका निराशा र खिन्नता क्रमशः हट्दै जानेछ । बिहान मिश्रित प्रभाव प्राप्त हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । दिन ढल्दै जाँदा निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । आम्दानीमा कमी आउने छैन, समग्रमा आजको दिन तपाईंका लागि लाभकारी नै हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –अशुभ समाचारको आगमनले मनमा उदासी छाउने छ । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । गरेका काममा छिट्टै सफलता प्राप्त नहुँदा दिक्क लाग्नेछ । खर्चालु समय छ, चिताउँदै नचिताएको कुनै क्षेत्रमा खर्च बढ्ने सम्भावना छ । सामाजिक सभासमारोहमा समय खर्च हुनाले केही गर्नैपर्ने काम रोकिन सक्छन् । राजनैतिक वातावरणले निराशा हुनेछ । खानपिनमा तलबितल पर्नसक्छ । राज्यपक्ष वा प्रशासनिक काममा ढिलासुस्ती हुने योग छ । झैझगडाभन्दा टाढा रहनु राम्रो हुन्छ । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । गरेका काममा साथसहयोग वा सद्भाव मिल्न कठिन छ । साथीभाइ टाढिने छन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । साथीभाइबाट सहयोग जुटाउन सकिने छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्र्धीहरू परास्त हुनेछन् । सामाजिक क्षेत्रबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ । अध्ययन अध्यापन सफल रहेको छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तुष्टि प्राप्त हुनेछ । नोकरी र रोजगारी क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । प्रेमीप्रेमिकाका बीचको सम्बन्ध सुदृढ बन्नेछ । सन्तानपक्षमा राम्रो छ । साँझसम्म कुनै आर्थिक लाभको समाचार प्राप्त गर्न सकिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –आज मातापिता वा कुलका बयोबृद्ध सदस्यको आशीर्वादले काम गर्नसक्छ । कर्मसिद्धिको योग भएकाले गरेको प्रयास सार्थक हुनेछ । सामाजिक कामबाट प्रशंसा पाउन सकिन्छ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि राम्रो दिन छ । व्यापार गर्नेले सोचेजस्तै लाभ लिन सक्नेछन् । कर्मचारीले विवादमा रुमल्लिनु परे पनि विजय आफ्नै पक्षमा रहने छ । परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने समय छ । आफन्तबाट सहयोग प्राप्त हुने छ । रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेले महत्त्वपूर्ण अवसर प्राप्त गर्न सक्छन्, प्रशंसा, बढुवा वा उन्नतिका अवसर मिल्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –आज भाग्यबल राम्रो छ, नयाँ उद्योगधन्दा वा कलकारखाना सुरु गर्न आजको दिन अनुकूल देखिन्छ । धार्मिक र सामाजिक क्षेत्रमा धनराशि खर्च गर्न मन हौसिने छ । मानसम्मान र प्रतिष्ठा प्राप्त गर्न गरिएका प्रयास सफल हुनेछन् । बिगतमा भएका कमीकमजोरी सच्याउने मौका प्राप्त हुनेछ । परोपकारी काममा खटिनु पर्ने भएकाले व्यवसायिक गतिविधिमा असर पर्न सक्छ । मातापिताका चाहना पूरा गर्न आजको दिन अनुकूल छ । भाग्यभावमा रहेको चन्द्रमालाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ । पठनपाठनमा प्रगति हुनुका साथै दार्शनिक र आध्यात्मिक भावनाको विकास हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –प्रातःकालको चन्द्रमा तपाईंको अनुकूल रहेकाले दिउँसोसम्म राम्रो दिन छ कुनै महत्त्वपूर्ण काम छ भने बिहानै सिद्ध्याउनु राम्रो हुनेछ । बन्दव्यापारमा राम्रै देखिन्छ, हाँकेका र ताकेका काममा ढिलासुस्ती हुनसक्छ । सुरुमा साथीभाइको सहयोग मिल्ने देखिन्छ तर पछि आफू एक्लै खटेर काम पूरा गर्न सकिने छ । दिउँसो चन्द्रमाले आठौं भावमा प्रवेश गर्ने भएकाले मनमा विरक्तिका भावना सञ्चरण हुनसक्छन् । यद्यपि शुभग्रहको दृष्टि रहेकाले आफूले गरेका मिहिनेत र परिश्रमको प्रतिफल राम्ररी नै प्राप्त हुनेछ । सानातिना व्यवहारिक काम र घरेलु समस्या सुल्झाएर लाभ लिनका लागि दिन अनुकूल नै छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –दिनभरि सातौं भावमा कमजोर चन्द्रमा भएकाले आज दाम्पत्य जीवन वा प्रेमप्रसङ्गमा निरसता आउने छ । दिनको सुरुमा केही झैझगडा र विवादको सम्भावना पनि हुन्छ । त्यसैले तर्कवितर्क र विवाद वा झैझगडामा सतर्क रहनु बेस हुन्छ । सामाजिक क्षेत्रमा गएको धनबाट प्रतिफल नआए पनि सुखसुविधा बढाउन र धनप्राप्तिका लागि गरिएको प्रयास सफल हुनेछ । मायाप्रेम, रतिराग र विलासिताका भावना बारम्बार आइरहने हुनाले मन अस्थिर र अशान्त बन्नेछ । सन्तानपक्षमा राम्रै छ । पेसा वा व्यवसायमा समय दिन सकेमा लाभ नै हुनेछ । साँझमा रामरमाइलो र मनोरञ्जनात्मक क्षेत्रमा ध्यान आकृष्ट हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –आज आमा वा मामाको आशीर्वाद काम गर्ने दिन छ । सुरुमा पाँचौं चन्द्रमाले ज्ञानविज्ञान, अध्यात्म र दर्शनतर्फ आकर्षण बढाउने छ । बौद्धिक र चिन्तनमूलक काममा दिन गएको पत्तो पाउनुहुन्न । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । विवाद सामञ्जस्यका लागि तपाईंको अहम् भूमिका रहने छ । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । पुख्र्यौली सम्पत्तिको मूल्याङ्कन र छलफल गर्ने समय छ । प्रेम तथा प्रणयप्रसङ्गमा मध्यम फल छ । बन्दव्यापारबाट लाभै हुने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –प्रातःकालमा एक्लोपन र निराशा बढ्नाले मन एकतमासको हुनेछ । तर मूलतः आज बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय छ । त्यसैले बौद्धिक क्रियाकलाप, दर्शन र चिन्तनप्रति जसरी भएपनि समय निकाल्न सके राम्रो हुन्छ । हुन त पठनपाठनमा रुचि नभए झैं र सृजनात्मक क्षमतामा कमी भए झैं लाग्नेछ, तथापि बौद्धिक क्षमता राम्रो रहने छ । तत्काल योजना कार्यान्वयन गर्न कठिनाइ हुनेछ तर अध्ययन, अध्यापन र लेखनकार्यमा गरिएको मिहिनेतले पछि काम गर्नसक्छ । प्राविधिक काममा ठूलो सफलता नमिल्न सक्छ । छोराछोरीका समस्यामा केन्द्रित हुनुपर्ने दिन छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

Leave a Reply

error: Please Dont Copy My Content!! !!