Wednesday, December 8, 2021
Home > समाचार > अशोक दर्जीको घरमा पहिलो पटक देउसी: अलमोडाले भट्याए टंक, डिजे रुपक र टिका पनि साथै (भिडियो)

अशोक दर्जीको घरमा पहिलो पटक देउसी: अलमोडाले भट्याए टंक, डिजे रुपक र टिका पनि साथै (भिडियो)

नरेन्द्र रौले
नेपाली युट्युबको इतिहासमा झापाका अशोक दर्जी त्यस्ता एक्ला व्यक्ति हुन्, जसको एउटै गीतमाथि सर्वाधिक भिडियो बने । अहिलेसम्म उनको एउटै गीत मात्र रेकर्ड भएको छ— मनबिनाको धन ठूलो कि धनबिनाको मन, तर उनको गीतको चर्चा यति चुलियो कि त्यसको अनुमान कसैले गरेका थिएनन् । उनको चर्चासँगै विवाद पनि सुरु भैहाल्यो ।

युट्युबमा अशोक दर्जी टाइप गर्दा २६ हजार ९ सय रिजल्ट देखिन्छ । झापाका सडक तथा होटलहरूमा गीत गाएर गुजारा चलाइरहेका अशोकलाई केही युट्युबरले चर्चामा ल्याए । सुरुमा नवराज उप्रेती, नयाँ–नयाँ न्युज नेपाल र तात्तातो खबरले भिडियो बनाएपछि उनी चर्चामा आए । त्यसपछि डिजे रूपकले झापाबाटै अशोक दर्जीको गीत फेसबुक लाइभ गरे ।

अशोक दर्जीको घरमा पहिलो पटक देउसी भिडियो:

बिस्तारै उनी चिनिँदै गए । मोरङका पत्रकार किशोर श्रेष्ठको अगुवाइमा अशोक दर्जीका लागि कार्यक्रममार्फत केही रकम संकलन गरियो । झापामै उनको गीत रेकर्ड भयो भने दर्जीलाई उर्लाबारीस्थित बेथेल एजुकेसन एकेडिमीमा भर्ना समेत गरियो ।

झापाका सडकमा आफ्नी बहिनीको साथमा गित गाउँदै आशोक दर्जी

डिजे रूपक एवं गायक तथा संगीतकार टंक बुढाथोकीले काठमाडौं ल्याएर अशोक दर्जीको गीत रेकर्ड गराए । त्यसपछि भने सोसल मिडिया, युट्युब तथा अन्य मिडियामा उनको कभरेज चुलिँदै गयो । उनका सामान्य गतिविधि पनि युट्युबमा आउन थाले । यसबीच झापामा अशोकको घर बनाउने अभियान चल्यो । गरिब परिवारमा जन्मिएका अशोकको रेखदेख गायक तथा संगीतकार टंक बुढाथोकीले गर्न थाले । उनले अशोकसँग सम्बन्धित भिडियोहरू लगातार युट्युबमा हाल्न थाले । सांगीतिक कार्यक्रमकै लागि अशोक नेपालका केही सहरसहित दुबई तथा मलेसिया पनि पुगे । उनको घर बनाउने अभियानमा देश, विदेशबाट सहयोग रकम जुट्दै गयो । यसबीच घटनाले नयाँ मोड लियो । पत्रकार श्यामहरि शिवभक्ति र किशोर श्रेष्ठले अशोकको घर बनाउने तथा जग्गा गरिद गर्ने क्रममा आर्थिक हिनामिना भएको बताउँदै प्रश्न उठाए । घर बनाउने रकम पारदर्शी नभएको बताउँदै उनीहरूले रिपोर्ट बनाए ।

फिल्मीकुरा टिभीका श्यामहरि तथा स्थानीय पत्रकार किशोरले जतिजति यो विषयसँग सम्बन्धित सामग्री प्रसारण गर्दै गए, विवाद त्यति नै चर्कंदै गयो । टंक बुढाथोकीका दाइ टीकाले यस विषयमा प्रेस मिट नै गरे । तैपनि स्थिति साम्य भएन । अशोक दर्जीको पढाइ बिगारेर विभिन्न कार्यक्रममा दौडाएको, आफ्ना लागि पैसा कमाउन उनको प्रयोग गरिएको जस्ता आरोप थोपरिँदै गए । यसबीच टीका बुढाथोकी र अशोकले पढ्ने विद्यालयका प्रिन्सिपल दीपक न्यौपानेबीच भएको फोन वार्ता बाहिरियो, जसमा अशोकलाई कसरी प्रयोग गरी कमाउने भन्ने विषयमा छलफल गरिएको थियो । त्यसमा यो विषय उठाउने पत्रकारलाई भुस्याहा कुकुर भनेर गाली गरिएको थियो । आफ्नो बचाउ गर्दै टीकाले फेरि पत्रकार सम्मेलन गर्नुपर्‍यो । ‘आफू चर्चामा आउन र पैसा कमाउन अशोकलाई प्रयोग गरिएको छ ।’ पत्रकार श्यामहरि शिवभक्ति र किशोर श्रेष्ठ एकसाथ भन्छन्, ‘उनको पढाइ बिगारिदैछ ।’ तर यो कुरा टीका र टंक बुढाथोकी स्वीकार गर्न तयार छैन । घर बनेपछि सबै हिसाबकिताब देखाउने बाचा उनीहरूले दोहोर्‍याउँदै आएका छन् ।

सामाजिक सञ्जालमार्फत अशोकको प्रतिभा बाहिर आउनु राम्रो पक्ष भए पनि अनावश्यक प्रचारप्रसारले अशोकलाई मनोवैज्ञानिक रूपले असर पर्ने बताउँछिन्— बालमनोविज्ञ नन्दिता शर्मा । बढी प्रचारप्रसार गर्नतिर लाग्नुभन्दा उसलाई संगीत सिकाउन तथा पढाइ–लेखाइमा केन्द्रित गराउन लाग्नुपर्ने शर्माको सुझाव छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!