Tuesday, May 18, 2021
Home > प्रवास > विदेशमा कोरोनाले लियो ३७२ नेपालीको ज्यान, कति भए संक्रमित ?

विदेशमा कोरोनाले लियो ३७२ नेपालीको ज्यान, कति भए संक्रमित ?

एजेन्सी । कोरोनाका कारण एक वर्षमा २१ मुलुकमा रहेका ३ सय ७२ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार पछिल्लो एक सातामा भारतमा मात्रै २० जना नेपालीको कोरोनाका कारण मृत्यु भएको छ । पछिल्लो एक सातामै भारतमा २०, कुवेतमा २ र कतारमा १ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाउनु परेको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए ।

उनले पछिल्लो समय भारत लगायतका विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको समेत बताए  । नयाँदिल्लीमा मात्रै १० जना र भारतका अन्य क्षेत्रमा थप १० जना नेपालीको निधन भएको हो । निधन हुनेमा अधिकांश ५० वर्षभन्दा मुनिका छन् । योसँगै हालसम्म विश्वका विभिन्न २१ मुलुकमा संक्रमणका कारण ३ सय ७२ जना नेपालीको निधन भएको छ । हालसम्म मृत्यु भएकामध्ये २ सय ४५ जना मध्यपूर्वका रहेका छन् ।

अहिलेसम्म विश्वका ५४ मुलुकमा कोभिड–१९ का कारण संक्रमित हुने नेपालीको संख्या ६८ हजार ५ सय ६ जना पुगेको छ । कुल संक्रमितमध्ये ९४ दशमलव ६ प्रतिशत अर्थात् ६४ हजार ७ सय ४४ जना संक्रमणमुक्त भएका छन् । यो साता भारत, कुवेत, कतार, युएई, रोमानिया, रुस, फिनल्यान्ड, डेनमार्क, चेक रिपब्लिक, पोल्यान्डमा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको संयोजक सापकाटोले जानकारी दिए ।

पछिल्लो एक वर्षमा सबैभन्दा बढी मे महिनामा ६८ जना, सेप्टेम्बरमा ६५ जना, अगस्टमा ३६ जना नेपालीको निधन भएको थियो । यो वर्ष सुरु भएपछि भने यही अप्रिल महिनामा २३ जना नेपालीको निधन भएको स्वास्थ्य समितिले जनाएको छ ।

गत वर्षको जुन, जुलाई, डिसेम्बर र यो वर्षको जनवरी महिनामा सबैभन्दा धेरै नेपालीहरू कोरोना संक्रमणबाट मुक्त भएका थिए । संयोजक सापकोटाका अनुसार महामारीका दौरान २ सय ५० जना डाक्टर र नर्सहरू परिचालन गरिएको जानकारी दिए । नेपालबाहिर करिब ५ हजार डाक्टर र १५ हजारको हाराहारीमा नर्सहरू रहेका छन् । ती सबै स्वास्थ्यकर्मीलाई एनआरएनमा जोड्न प्रयास भइरहेको समेत सापकोटाले बताए ।

कोभिड महामारीसँगै विश्वभर छरिएका नेपालीहरूमा मानसिक स्वास्थ्य समस्या देखिएको चिकित्सकहरूले बताएका छन् । महामारीका कारण व्यापार–व्यवसाय बन्द हुने, संक्रमित हुने तथा परिवारमै मृत्यु हुने, रोजगारी गुम्नेलगायतका समस्याले मानसिक समस्या बढ्दै गएकाले नेपालीहरूमा थप समस्या आउन सक्नेसमेत सापकोटाले बताए ।

Leave a Reply