Wednesday, May 12, 2021
Home > Uncategorized > सिआइबीले पक्राउ गरि सार्वजनिक गरेका यी डाक्टर, जस्को पोल खुलेपछि बनायो सबैलाई चकित

सिआइबीले पक्राउ गरि सार्वजनिक गरेका यी डाक्टर, जस्को पोल खुलेपछि बनायो सबैलाई चकित

काठमाडौं– केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा एक महिनाभन्दा पहिले एउटा सूचना आयो–‘अस्पतालमा कार्यरत केही डाक्टरको शैक्षिक प्रमाणपत्र नक्कली छ।’ डाक्टरकै शैक्षिक प्रमाणपत्र नक्कली भएको सूचना पाएपछि अनुसन्धान गर्न सिआइबीले एसपी श्यामकुमार महतोको नेतृत्वमा एउटा टोली नै बनाएर अनुसन्धान सुरु गर्‍यो।

एमबिबिएस अध्ययनका लागि नेपाल मेडिकल काउन्सिमा इलिजिबिलिटी कमिटि हुन्छ। उक्त कमिटिले एमबिबिएस अध्ययनका लागि योग्छ छ÷छैन भनेर शैक्षिक प्रमाणपत्र हेर्ने काम गर्छ। राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ लागु भएपछि यो वर्षदेखि भने चिकित्सा शिक्षा आयोगले यो काम गर्दै आएको छ।

सिआइबीले मेडिकल काउन्सिलसँग शंकास्पद डाक्टरहरुको शैक्षिक प्रमाणपत्र माग गर्‍यो। ‘काउन्सिलबाट लिइएका शैक्षिक प्रमाणलाई राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयसँग भएको रेकर्डसँग म्याच गराउँदा मेल खाएन’ सिआइबीका निर्देशक तथा डिआइजी सहकुल बहादुर थापाले भने, ‘त्यसपछि उनीहरुलाई पक्राउ गरिएको हो।’

एसएलसीको शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सप्तरी विष्णुपुर–२ घर भई हाल मोरङ विराटनगर महानगरपालिका–५ सम्झनाचोक बस्ने २८ वर्षीय मोहमद सिद्दिक, सप्तरी मकरपुरा–९ घर भई हाल मोरङ बरगाछी बस्ने ३१ वर्षीय अखिलेश कुमार देव, महोत्तरी मनरा–५ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका–२ आदर्श वस्ती बस्ने २७ वर्षीया पल्लवी सिंह, ललितपुर महानगरपालिका– २ सानेपाका २९ वर्षीय फराज हुसेन खाँ पक्राउ परेका छन् ।

यस्तै, महोत्तरी सरपल्लो–६ घर भई हाल जनकपुर उपमहानगरपालिका–७, जिरोमाइल बस्ने २९ वर्षीय सुभाष प्रसाद साह, धनुषा सवैला नगरपालिका–५ घर भई हाल ललितपुर महानगरापालिका–२ महालक्ष्मीस्थान बस्ने २८ वर्षीय मोहम्मद शाहिद राजा र मनाङ साविक चामे गाविस–५ का दिपेन्द्र गौतम पक्राउ परेका हुन्। पक्राउ परेकाहरु सबैलाई जिल्ला अदालत काठमाडौंबाट लिखतसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।

पक्राउ पर्नेमध्ये २८ वर्षीय मोहमद सिद्दिक न्यूरो अस्पताल विराटनगर, २९ वर्षीय सुभाष प्रसाद साह जनकपुर चिल्ड्रेन अस्पताल, २८ वर्षीय मोहम्मद शाहिद राजा दीर्घायु गुरु अस्पताल चाबहिल, ३१ वर्षीय गौतम चौरझारी अस्पतालमा कार्यरत रहेको सिआइबीकी प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

बंगलादेश जानकै लागि कीर्ते
पक्राउ परेका उनीहरुले बंगलादेशमा एमएमबिबिएस अध्ययन गर्नका लागि नै एलएलसीको शैक्षिक प्रमाणपत्र कीर्ते गरेको पाइएको छ। पक्राउ परेका मध्ये ६ जनाले बंगलादेशबाटै एमएबिबिएस अध्ययन पुरा गरेका हुन् भने पल्लवी सिंह नेपालमै अध्ययनरत रहेको पाइएको छ।

‘नक्कली’ डाक्टरमाथि अनुसन्धान गरेका सिआइबीका एसपी श्यामकुमार महतोले जिपिए पुर्‍याउनका लागि शैक्षिक प्रमाणपत्र कीर्ते गरेको पाएको बताए।

बंगलादेशमा एमबिबिएस अध्ययनका लागि निश्चित जिपिए तोकिएको हुन्छ। एसएलसीको बंगलादेशमा शैक्षिक प्रमाणपत्रको अंक र प्लस टुको शैक्षिक प्रमाणपत्रको अंक जोडेर जिपिए निकालिन्छ। एसपी महतोका अनुसार यी दुबैको अंक जोडेर ७ जिपिए आयो भने निजी कलेजमा पढ्न योग्य हुन्छ। ८ आयो भने सरकारी क्याम्पसमा पढ्न योग्य हुन्छ।

हाल पक्राउ परेकाहरुको एसएलसीको वास्तविक प्रमाणपत्रका आधारमा दुबै जिपिए नपुग्ने भएपछि उनीहरुले एसएलसीको शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अनुसन्धानमा खुलेको छ।

बागबजारमा बन्यो कीर्ते
जनकपुरका अरुण चौधरी काठमाडौं बागबजारमा ज्योतिदिप इन्टरनेश्नल कन्सल्टेन्सी सञ्चालन गरेर बसेका व्यक्ति हुन्। उनी पनि अहिले सिआइबीको नियन्त्रणमा छन्। ७ जना डाक्टर पक्राउ परेपछि उनी पक्राउ परेका हुन्।

पक्राउ परेका डाक्टरहरुले नक्कली सर्टिफिकेट उनै चौधरीले बनाइदिएको भनेर बयान दिएपछि उनलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता एसपी गंगा पन्तले बताइन्।

हाल पक्राउ परेका सबै जनाको नक्कली शैक्षिक प्रमाणपत्र उनै चौधरीले बनाएका थिए। निश्चित रकम लिएर उनले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गरेको पाइएको छ। स्वास्थ्य खबर पत्रिका बाट

Leave a Reply