पोखरा, १२ कात्तिक- फेवा टेलिभिजनका क्यामरा पर्सन विवेक दाहालमाथि हातपात भएको छ । शुक्रबार बिहान पोखरा महानगरपालिका वडा नं. ११, रानीपौवामा मर्मत हुँदै गरेको सडकका विषयमा समाचार संकलन गर्ने क्रममा क्यामरा पर्सन दाहालमाथि हातपात भएको हो ।
सडक मर्मतका विषयमा जिज्ञासा राख्ने क्रममा क्यामरा पर्सन दाहालमाथि सो सडक मर्मत गर्ने ठेक्का लिएको टीडी कन्ट्रक्सनका ठेकेदार टीका भुजेलले हातपात गरेका हुन् । ठेकेदार भुजेलले अपशब्द बोल्दै क्यामरा पर्सन दाहालमाथि मुक्का प्रहार गरेका थिए ।
ठेकेदार भुजेलले मुक्का प्रहार गरिरहँदा वडा नं. ९ का जनप्रतिनिधि सुरेश खवासले पनि क्यामरा पर्सन दाहाललाई भिडियो खिचेर के गर्छस् भन्दै भिडियो नखिच्न घुमाउरो शैलीमा धम्की दिएका थिए । हातपातको घटनाबारे जानकारी लिन खोज्दा वडा नं. ९ का वडाध्यक्ष रामराज लामिछानेले अनभिज्ञता प्रकट गर्नुभएको छ भने वडा नं. ११ का वडाध्यक्ष मोहनप्रसाद बाँस्तोलाले आफू पोखरा बाहिर भएको भन्दै सत्यतथ्य बुझ्ने प्रतिक्रिया दिनुभएको छ ।