Tuesday, May 18, 2021
Home > विचार > शिक्षक बन्छु भन्दा चड्कन हान्ने सर

शिक्षक बन्छु भन्दा चड्कन हान्ने सर

कक्षा ६ मा पढ्दा एक आफन्तले सोधे, ‘भविष्यमा के बन्न मन छ?’ धेरै नसोचिकन जिस्किएर मैले जवाफ दिएँ, ‘शिक्षक!’ यो जवाफ सुनेर ती व्यक्तिले मलाई गालामा एक चड्कन हाने र सम्झाउन थाले, ‘तिमीजस्तो मान्छे डाक्टर, इञ्जिनियर पो बन्ने हो त। कहाँ शिक्षक बन्छु भनेको!’ मलाई चड्कन हान्ने ती व्यक्ति एक शिक्षक नै थिए।

औपचारिक अध्ययन सकेर पेसागत दुनियाँमा हाम फाल्न खोज्दा अग्रजहरूसँग सल्लाह लिँदै थिएँ। करिब एक दशक सरकारी विद्यालयमा पढाएका एक शिक्षकले उपदेश दिँदै भने, ‘जिन्दगीमा जे बने पनि हुन्छ, तर शिक्षक नबन्नू।’

आजसम्म भेटेका र कुरा गरेका अधिकांश शिक्षकबाट सुनेको छु- शिक्षण एक दुःखी पेसा हो। यसमा जस पाइँदैन। पहिलेको समयमा जस्तो समाजबाट सम्मान मिल्दैन। विद्यार्थीहरूले भनेको सुन्दैनन्। सरकारी स्कुलमा त तलब पनि चार-चार महिनामा मात्र आउँछ। स्थायी बाहेक अरूको त पेसागत सुरक्षाको ग्यारेन्टी पनि छैन। निजीमा मरीमरी काम गर्‍यो, जागिर कहिले जाने हो थाहा छैन।

यो सबै कुरा सुन्दा लाग्छ, विद्यालय तहमा कार्यरत धेरै शिक्षक दुःखी, असन्तुष्ट र निराश छौं। कति त आफूले छनोट गरेको पेसाप्रति पश्चाताप गरिरहेका छौं। यस सम्बन्धी केही अनुसन्धान होलान् तर सरसर्ती शिक्षकसँग कुरा गर्ने हो भने पनि थाहा पाउछौं, शिक्षण पेसालाई गर्वका साथ लिने शिक्षक थोरै नै छौं।

यसले डरलाग्दो भविष्यको संकेत गरिरहेको छ। आज विद्यालयमा ७० लाखभन्दा बढी विद्यार्थी छन्। अनि हामीले त्यस्तो प्रणाली सिर्जना गरेका छौं, जसमा शिक्षकहरू शिक्षण पेसाप्रति हिनताबोध गरिरहेका छन्। उनीहरू नयाँ पुस्तालाई शिक्षक बन्न हौस्याउन सकिरहेका छैनन्। शिक्षकले कुनै विषयसँगै आफ्नो सोच, व्यक्तित्व र व्यवहारबाट पनि सिकाइरहेको हुन्छ। आफैं दुःखी र असन्तुष्ट शिक्षकबाट खुसी, सन्तुष्टि र समृद्धिको शिक्षा कसरी अपेक्षा गर्ने?
ncell in

समाजको वर्तमान र भविष्य तय गर्ने शिक्षण पेसा धेरैको रोजाइको विषय हुन सकेको छैन। शिक्षकहरू ‘रोलमोडेल’ हुन सकिरहेका छैनौं। एउटा सरकारी कर्मचारी, डाक्टर वा इञ्जिनियर समाजमा जति आत्मबलका साथ उभिन्छ, शिक्षकले त्यो आत्मबल पाउन सकिरहेको छैनौं।

फेरि सबैले आलोचना शिक्षकलाई नै गरिरहेका छौं- शिक्षक काम नलाग्ने भए, उनीहरूले सिकाउन जानेनन्, मेहनत गरेनन्। यसमा निजीभन्दा बढी सरकारी स्रोतका शिक्षक आलोचित छन्। अभिभावक, सरकार, निजामती कर्मचारी, पत्रकार, विज्ञ र शिक्षामा काम गर्ने संघसंस्थाको निशानामा शिक्षक नै छन्।

केही वर्षअगाडि सँगै काम गर्ने एक मेहनती शिक्षकले दिक्क हुँदै गुनासो सुनाएका थिए, ‘धेरै मान्छे आउँछन्। पढाउने शैलीमा यो भएन, त्यो भएन भन्छन्। कामचोर भयौ भन्छन्। स्कुलमा भवन बनाउँछन्। कम्प्युटर र प्रोजेक्टर दिन्छन्। तर शिक्षकको सीप र क्षमता बढाउने कुरा कोही गर्दैनन्। आफूले गर्न सक्ने गरेकै छ। आफूले जानेको गरेकै छ। मलाई अझै सिकाउनु र मेरो क्षमता बढाउनु मभन्दा माथिल्ला निकायको दायित्व हैन र! सबैले अपमान गरेजस्तो लाग्छ। आफ्नै मति बिग्रिएर शिक्षक बनिएछ जस्तो लाग्छ।’

सम्पन्न भनिएका देशको उदाहरणबाट हामीले देखेका छौं, शिक्षामा सुधार नगरिकन आर्थिक समृद्धि सहितको लोकतन्त्र हुर्काउन सम्भव नै छैन। सक्षम, प्रतिबद्ध र जागरूक शिक्षकको निर्माण बिना शिक्षामा सुधार सम्भव छैन। दरबार हाइस्कुलको भवन कस्तो बन्यो भन्ने कुराले त्यहाँका बालबालिकाले पाउने शिक्षाको गुणस्तरमा खासै अर्थ राख्दैन। त्यहाँका शिक्षकको क्षमता वृद्धिमा कसरी लगानी गरियो, त्यसले महत्वपूर्ण भूमिका खेल्छ।

शिक्षकको तयारीमा पहिलो पक्ष हो, केही नीतिगत परिवर्तन। शिक्षा संकायको पढाइलाई मजबुत बनाऔं। बालबालिकासँग काम गर्न लगाव भएका, बालबालिकाप्रति असिम प्रेम भएका र सिकाउने क्षमता भएका हरेक संकायका विद्यार्थीलाई शिक्षणका लागि बाटो खुला गरौं।

विद्यालय जानुअगाडि शिक्षकको बेजोड तयारी गरौं। निरन्तर प्रशिक्षण र सहयोगको व्यवस्था गरौं। विद्यालयको प्रशासन र शैक्षिक पक्ष हेर्ने फरक फरक भूमिका हुने संरचना बनाऔं। आजको जस्तो यदाकदा विद्यालयमा झुल्किने विद्यालय निरीक्षक र स्रोत व्यक्ति होइन, शिक्षकलाई केही सहयोग चाहिने बित्तिकै सहजै पहुँच हुने ‘कोच’ को व्यवस्था गरौं। हरेक विद्यालयमा पर्याप्त शिक्षक पठाऔं। दिनको ७-८ घन्टी पढाउनु पर्ने शिक्षकबाट गुणस्तर अपेक्षा गर्नु जायज हुँदैन।

एक त शिक्षकलाई तयारी गर्न विद्यालयको ६ घन्टाको समयले मात्र पुग्दैन। अरू धेरै पेसामा जस्तो कार्यालयबाट निस्केपछि शिक्षकको काम सकिँदैन। एउटा पाठको तयारी गर्न धेरै समय लाग्छ। उक्त पाठ सम्बन्धी विषयवस्तु अध्ययन गर्नुपर्‍यो, शिक्षण योजना बनाउनुपर्‍यो, पढाउने सामग्री खोजेर तयार गर्नुपर्‍यो। क्लासवर्क र होमवर्क हेर्नुपर्‍यो। यो अतिरिक्त समयको ख्याल गर्दै शिक्षकले पाउने सुविधा बढाऔं। सुविधासँगै अनुगमन चुस्त बनाऔं।

बरू विद्यालय सिमेन्टको ठूलो भवनभन्दा बाँसको भाटाको छाप्रो भए हुन्छ, तर शिक्षणमा उत्प्रेरित गर्न र समर्पित बनाउन शिक्षकमाथि लगानी बढाउनै पर्छ। जिम्मेवार, मेहनती र राम्रो नतिजा ल्याउने शिक्षकलाई पुरस्कृत गरौं। विभिन्न तरिकाबाट हौसला बढाऔं। पढाउनै नसक्नेलाई सुधारका लागि केही मौका दिऔं, सहयोग गरौं। जति गरे पनि शिक्षणमा राम्रो प्रस्तुति गर्न नसक्ने र गैर-जिम्मेवारलाई बिदा गरौं। कमजोर र गैर-जिम्मेवारलाई प्रणालीमा राखेर समग्र शिक्षकको अपमान नगरौं।

शिक्षकलाई मजबुत बनाउन आवश्यक दोस्रो पक्ष हो, शिक्षकका लागि उपयुक्त वातावरण तयार गरिदिने। विद्यार्थीलाई भविष्यको लक्ष्यबारे सोध्ने हो भने धेरैले भन्छन्- डाक्टर, इञ्जिनियर, पाइलट, सरकारी कर्मचारी, नर्स आदि। फाट्टफुट्ट कसै-कसैले मात्र ‘शिक्षक’ भन्छन्।

यसमा अचम्म मान्नु पर्ने कारण छैन। हामीले समाजमा शिक्षकको भूमिकालाई खासै महत्व दिएका छैनौं। न शिक्षकलाई कसैले चाकरी गर्छ, न डाक्टर, इञ्जिनियर, वकिल वा हाकिमलाई जस्तो साहेब जोडेर सम्बोधन गर्छ। न शिक्षकलाई कसैले सेलेब्रिटी नै बनाएको छ, सिनेमाको अभिनेता र खेलाडी जस्तो।

कसैले विद्यालयमा पढाउँछु भन्यो भने ‘भुराभुरी पढाउने मान्छे’ भन्दै कतिले त नाक खुम्च्याउँछन्। यस्तो परिवेशमा शिक्षकलाई एक शक्तिशाली र सम्मानित पेसाका रूपमा स्थापित गराउनु आवश्यक छ। मर्यादाक्रमको सम्मानित स्थानमा शिक्षकलाई राख्ने एउटा कुरा, सँगसँगै हरेक नागरिकले शिक्षकको हौसला बढाउनु आवश्यक छ।

हाम्रो परिवार र समुदायमा शिक्षक पक्कै छन्। उनीहरूको हौसला बढाऔं। उनीहरूसँग कुरा गरौं। कक्षाकोठामा उनीहरूलाई खुसी र रमाइलो लागेका क्षण सोधौं। पीडा बुझ्ने कोसिस गरौं। शिक्षण क्रममा गर्व लागेका अनुभव सोधौं। बालबालिकालाई सिकाउने क्रममा आवश्यक पर्ने सहयोगका लागि आश्वस्त पारौं। इमानदार भएर गरिएको उनीहरूको कर्मले कसरी भविष्यको आधार तयार गरिरहेको हुन्छ, यसको महत्व सम्झाऔं।

शिक्षण पेसालाई उत्कृष्ट बनाउन आवश्यक तेस्रो र महत्वपूर्ण पक्ष हो, शिक्षक आफैंले आफूलाई मजबुत बनाउने। कतिपय शिक्षकहरू भन्छौं, आजका विद्यार्थीले हाम्रो सम्मान गरेनन्। हामीलाई ‘नमस्कार’ समेत गर्दैनन्। आजकालका विद्यार्थीमा शिष्टता छैन। शिक्षकसम्बन्धी टिप्पणी गर्ने क्रममा ओशो रजनीशले भनेका थिए, ‘आजको शिक्षक ‘इन्स्ट्रक्टर’को भूमिकामा छ, तर ऊ ‘गुरू’ को सम्मान खोज्छ।’

ओशोले भनेझैं सायद शिक्षक विद्यार्थीको सम्मान खोज्ने मोहबाट मुक्त हुनै पर्छ। बालबालिका जिज्ञासु हुन्छन्। यथास्थितिमाथि विद्रोह गर्छन्। प्रश्न गर्छन्। झगडा गर्छन्। उनीहरूले शिक्षकलाई रिस उठाउँछन्। दिक्क लगाउँछन्। यो बालबालिकाको स्वभाव हो।

तर जुन दिन बालबालिकालाई प्रेम गर्ने र उनीहरूलाई स्वीकार्ने क्षमता हामीमा बाँकी रहँदैन, त्यसपछि शिक्षण पेसा सायद हाम्रो लागि उपयुक्त होइन। यो त बालबालिका र समाजमाथि ठूलो अन्याय हुनेछ। हरेक शिक्षकले आफूलाई प्रश्न गरौं, ‘म किन शिक्षण पेसामा छु?’

‘बालबालिकालाई सिकाउने’ बाहेक अरू कारण छ भने बरू हामी अर्को पेसामा जाऔं जहाँ बालबालिका हुँदैनन्। नीति, संरचना र समाजले शिक्षकका लागि सम्मानजनक ‘स्पेस’ बनाउने एउटा कुरा हो, तर शिक्षकले आफ्नो सोच, व्यवहार र कर्मले ‘शिक्षण’ लाई एक महत्वपूर्ण पेसाका रूपमा स्थापित गर्नै पर्छ। शिक्षकहरूको प्रशिक्षणका बेला प्रयोग हुने एउटा प्रसिद्ध मोडल छ- एकेडेमिक इम्य्पाक्ट मोडल।

यो मोडलका अनुसार शिक्षकको ज्ञान, सीप र मनस्थितिबाट शिक्षकको कर्म निर्धारण हुन्छ। शिक्षकको कर्मबाट विद्यार्थीको मनस्थिति निर्माण हुन्छ। विद्यार्थीको मनस्थितिबाट उनीहरूको व्यवहार निर्माण हुन्छ र त्यसले उपलब्धि निर्धारण गर्छ।

यसको अर्थ शिक्षकले जे सोच्छ, त्यसको प्रत्यक्ष प्रभाव विद्यार्थीको उपलब्धिमा पर्छ। यसकारण शिक्षकले आफ्नो पेसाप्रति गर्व गर्न जरुरी छ। आफ्नो पेसामा नरमाउने र हिनताबोध गर्ने शिक्षकले आफ्नो जीवनसँगै विद्यार्थीको जीवन र समग्र देशको प्रगति धरापमा पार्छ। किनकी उसको सोच कक्षाकोठामा देखिन्छ। शिक्षकले आफूलाई यसरी प्रस्तुत गरौं कि विद्यार्थीलाई असल र इमानदार शिक्षक हुन मन लागोस्। भविष्यको लक्ष्यबारे कक्षाकोठामा सोध्दा धेरैको पहिलो रोजाइ ‘शिक्षक’ होस्।

(लेखक विजयमणि पौडेल किङ्स कलेजका सामुदायिक केन्द्र प्रमुख र टिच फर नेपालमा पूर्व प्रज्ञार्थी हुन्। ट्विटरः @mani_bijaya)

Leave a Reply