Saturday, February 27, 2021
Home > विचार > प्रचण्डको बोलीको काउन्टरमा अब ‘राधिका आमा’

प्रचण्डको बोलीको काउन्टरमा अब ‘राधिका आमा’

राधिका शाक्यलाई अब सबैले ‘राधिका आमा’ भन्ने भए । केपी ओलीलाई थोरैले मात्र ‘बा’ भन्थे । केपीलाई बा भनिएकोमा डाहा लागेर माधवकुमार नेपालले उग्र र असामाजिक विरोध गर्नुभयो । माधव नेपालको बोलीको काउन्टरमा केपी ओलीलाई सर्वसाधारणले, खासगरी युवा वर्गले बा भन्न थाले ।

अहिले ‘केपी बा’ देशव्यापी बनेको छ । माधव नेपालका कारण केपी ओली देशकै ‘बा’ बन्नुभयो । वास्तवमा माधवलाई केपी ओलीले यसका लागि धन्यवाद दिनुपर्ने हो । अब प्रचण्डले केपी शर्मा ओलीकी पत्नी ‘राधिका शाक्य’लाई राधिका आमा बनाइदिनुहुने भयो ।

परिवारवादमा माधवको योगदान
राधिका शाक्यलाई ‘राधिका आमा’ भनिने प्रसंगमा एउटा पुरानो घटना स्मरण गर्नुपर्ने हुन्छ । माधव नेपालले पत्नी गायत्री नेपाललाई स्वकीय सचिव बनाउनुभयो । त्यसबेला माधव उपप्रधानन्त्री बन्नुभएको थियो । मनमोहन अधिकारीको नेतृत्वमा एमालेको अल्पमतको सरकार बनेको थियो । २०५२ सालको कुरा हो यो ।

माधवले पत्नीलाई स्वकीय सचिव बनाएकोमा ठूलो विवाद भयो । त्यसबेला गायत्री कुनै बैंकको कर्मचारी हुनुहुन्थ्यो । पत्नीलाई नियुक्त गर्न पाउनुपर्छ भन्ने माधवको अडान थियो । उहाँ आफैं पार्टी महासचिव हुनुहुन्थ्यो । विवाद चर्कंदै गयो । त्यसपछि माधवले गायत्रीलाई स्वकीय सचिव पदबाट हटाउनुपरेको थियो ।

कम्युनिष्ट पार्टी सरकारमा पुगेपछि नातागोतालाई पोस्ने कामको औपचारिक सुरुवात माधव नेपालले त्यसरी गर्नुभएको थियो । माधवले थालेको विकृति केही समयका लागि सच्याइयो तर नातागोता पोस्ने माधव नेपाल प्रवृत्तिले जरा हालिहाल्यो ।

परिवारवादका अग्रणी पुष्पकमल
कम्युनिष्ट पार्टीमा परिवारवादलाई संस्थागत गर्नेमा अग्रणी नेता चाहिँ पुष्पकमल दाहाल प्रचण्ड नै हो । उहाँका भाइभतिजा, छोरीज्वाईं, सम्धी आफन्त सबैले पद पाएका छन्, अवसर पाएका छन् । राणाकालमा श्री ३ महाराजका परिवार सबैले जन्मँदै पद पाउँथे । प्रचण्डको परिवारमा चाहिँ वालिग भएपछि मात्र पद पाउँछन् । प्रचण्डको नातीनातीना पनि हुर्कंदैछन् । प्रचण्ड सत्ता र शक्तिमा फेरि पनि पुग्न सक्नुभयो भने उनीहरुले पनि पद र अवसर पाउने होला ।

नेपालमा कम्युनिष्ट पार्टीमा परिवार नपोस्ने या पोस्न नचाहने कैयन नेता छन् । त्यस्ता नेतामा अग्रणी केपी शर्मा ओली हो । ओलीका छोराछोरी छैनन् त्यसैले पद पाएनन् भनेर प्रचण्डले अभिव्यक्ति दिनुभएको छ । मेरा सन्तान छन्, नातीनातीना छन्, यसमा मेरो के दोष भन्नुभएको छ प्रचण्डले । यति उच्च राजनीतिक पदमा पुगेको मानिसले यति घटिया टिप्पणी गरेको विश्वमै दुर्लभ होला ।

श्री ३ र श्री ५ जस्ता प्रचण्डको खलक
आफ्ना शाखासन्तान र नातेदार सबैले पद र अवसर पाएको कुरा ढाकछोप गर्न केपी ओली निसन्तान भएको प्रसंग उठाउनु पर्छ र ? यो बोल्न मिल्ने कुरा हो ? प्रश्न केपी ओलीका सन्तान छन् कि छैनन् भन्ने होइन, प्रचण्डको परिवार श्री ५ या श्री ३ जस्तो कसरी बन्यो भन्ने चाहिँ प्रश्न हो । केपी ओलीलाई निसन्तान भनेर आफूले सन्तानलाई पद र अवसर दिएको तथ्य ढाकछोप हुन्छ र ? कसैको सन्तान हुनु र नहुनु राजनीतिक विषय हो र ?

केपी ओली निसन्तान भनेर प्रचण्डले इतिहासकै सर्वाधिक घटिया, अति निच र कानले सुन्नै नसक्ने अभिव्यक्ति दिनुभएको छ । उहाँको यो अभिव्यक्तिसँगै अब केपी ओलीलाई बा भन्नेको संख्या झन् बढ्ने भयो । आज देशभरका युवायुवतीले केपीलाई बा भन्छन् । केही महिना अघिसम्म ओलीलाई बा भन्नेको संख्या थोरै थियो । केपीलाई कार्यकर्ताले श्रद्धापूर्वक बा भनेकोमा डाहा भएर माधव र प्रचण्डले विरोध गर्नुभयो । त्यसपछि जताततै ओलीलाई बा भन्न थालियो । प्रचण्डको यो अभिव्यक्तिपछि केपी ओलीकी पत्नी राधिका शाक्यलाई पनि जनताले, युवायुवतीले ‘राधिका आमा’ भन्न थाले भने अचम्म नमाने हुने भयो । अर्थात्, केपी बा, राधिका आमा ।

ओली र राधिकाका सन्तान चिनौं
हो, केपी ओलीका सन्तान छैनन् । तर, यो देशका लाखौंलाख युवायुवती केपी ओलीका सन्तान हुन् । यो कुरा प्रचण्ड र माधव नेपालले राम्रोसँग बुझ्नुभएन । प्रचण्ड र माधवहरु आफ्ना सन्तानलाई मात्र सन्तान मान्नुहुन्छ तर ओलीले देशभरीका युवायुवतीलाई सन्तान मान्नुहुन्छ ।
सन्तान थिए भने ओलीले पनि प्रचण्डकै पारामा सन्तान पोस्नुलाई आफ्नो राजनीतिक उद्देश्य बनाउनुहुन्थ्यो कि हुन्नथ्यो होला ? धेरैलाई यो जिज्ञासा लाग्न सक्छ । ठोकुवा गरेर भन्न सकिन्छ– प्रचण्डले जसरी केपी ओलीले गति छाड्नुहुने थिएन ।

केपी ओलीका सन्तान छैनन् तर आफन्त छन्, नातागोता सबै छन् । दाजुभाइ दिदीबहिनी छन्, ससुराली छन्, मावली छन् । भान्जाभान्जी छन्, भदाभदै छन्, सालासाली छन्, भतिजाभतिजी छन् । ओलीले को आफन्तलाई पद दिनुभयो ? कसलाई अवसर दिनुभयो ? ओलीको परिवारका कसैले अकूत सम्पत्ति लुटेको हल्ला समेत सुनिँदैन । नातागोता आफन्त कसैलाई नपोस्ने ओलीले सन्तान थिए भने पनि तिनलाई थान्कोमा राख्नुहुन्थ्यो, आफैं अवसर सिर्जना गर भन्नुहुन्थ्यो भनेर ठोकुवा गर्न सकिन्छ ।

प्रचण्डको टिममा रहेकाहरुले आफन्त मात्र पोसेका छैनन्, प्रेमिका समेत पोसेका छन् । नेपाली कम्युनिष्ट आन्दोलनमा नातागोता पोस्नेहरु जति छन्, सबै प्रचण्डको साथमा छन् । जो एउटै पार्टीमा छैनन्, उनीहरु पनि प्रचण्डलाई समर्थन गर्छन् । जस्तो कि बाबुराम भट्टराई । बाबुराम र प्रचण्ड बेग्लै पार्टीमा हुनुहुन्छ तर उहाँहरु अहिले एकढिका हुनुहुन्छ । केही समयपछि बाबुराम र प्रचण्ड एउटै पार्टीमा देखिनुहुने पनि बुझिन्छ । बाबुरामले सशुराली पोसेको दुनियाँले देखेको छ । बाबुरामले सुशुराली खलककाहरुलाई छानीछानी पद दिनुभएको थियो ।

जनताका छोराछोरीलाई बन्दूक बोक्न लगाएर बाबुरामले आफ्नी छोरीलाई भने विदेशमा पढाउनुभयो । बन्दूक बोकेर प्रचण्डलाई नेता बनाइदिनेहरुको विजोग छ तर पद र अवसर जति प्रचण्डको परिवारले मात्र पाएको छ । प्रचण्डले छोरीहरुको विवाह जनयुद्धका छापामारहरुसँग गरिदिनुभएन । भारत लगेर सुरक्षित जीवन बाँच्ने व्यवस्था मिलाइदिएर छोरीहरुको विवाह गरिदिनुभएको थियो । सामन्तवादका विरुद्ध लड्नुपर्छ भनेर प्रचण्डले १७ हजार मार्नुभयो । तर आज आफैं श्री ५ र श्री ३ बन्नुभएको छ । उहाँका परिवार अहिले राजखलक जस्तो बनेको छ ।

असामाजिक आक्रमणको काउन्टर
प्रचण्डको राजनीति सम्पूर्ण रुपमा सन्तान र परिवारलाई अगाडि बढाउनेमै केन्द्रीत छ । प्रचण्ड कति परिवारवादी मानिस हो भने छोराले बहुविवाह गरेर बिना मगरलाई ल्याए । दुवैजनालाई बहुविवाहमा मुद्दा चलाउनुपर्नेमा प्रचण्डले बुहारीलाई सांसद् बनाइदिनुभयो । त्यसपछि मन्त्री बनाइदिनुभयो । बुहारी बिनालाई केपी ओलीले मन्त्री पदबाट हटाइदिनुहुन्छ कि भनेर रातोदिन खबरदारी गर्नुभयो । प्रचण्डलाई दशकौंदेखि साथ दिएका सिनियर नेताहरुले मन्त्री बन्न पाएनन् तर बुहारीले आकर्षक मन्त्रालयमा मन्त्री बन्न पाइन् ।

प्रचण्डले केपी ओलीलाई निसन्तान भन्दै जुन असामाजिक ढंगले आक्रमण गर्नुभएको छ त्यसको सबैले भत्र्सना गर्न जरुरी छ । सभ्य समाजमा यस्तो टिप्पणी गरिँदैन । केपी ओली र प्रचण्डमा को परिवारवादी ? केपी ओलीका नातागोता आफन्त र प्रचण्डका नातागोता आफन्त कहाँकहाँ कस्तो अवस्थामा छन्, केके लाभ लिएका छन् भन्ने तुलना गरेर हेरे धेरै कुरा छर्लङग हुनेछ ।

प्रचण्डको असामाजिक अमर्यादित टिप्पणी केपी ओलीतिर मात्र नभएर राधिका शाक्यतिर समेत लक्षित छ । राधिका शाक्य ती महिला हुनुहुन्छ जो प्रधानमन्त्रीकी पत्नी भएर पनि कुनै विवादमा हुनुहुन्न । गृहिणीका रुपमा सीमित हुनुहुन्छ । विगतका कतिपय प्रधानमन्त्रीका पत्नीले कसरी पतिको आडमा शक्तिको दुरुपयोग गरेका थिए भन्ने जगजाहेर छ । राधिका शाक्यको भूमिकामा कसैले प्रश्न उठाउन सकेको छैन । यस्ती महिलालाई लक्षित गरेर आरोपको आक्रमण गर्नु प्रचण्डलाई सुहाउँदैन ।

प्रचण्डको अभिव्यक्तिको काउन्टरमा अब सर्वसाधारणले राधिका शाक्यलाई पनि ‘राधिका आमा’ भन्ने अभियान चलाउन सक्छन् । त्यसबेला प्रचण्ड र माधव नेपालहरुको जवाफ के हुने होला ?

कृष्ण थापाको लेख सनराइजखबरबाट साभार गरिएकोमा क्षमाप्रार्थी छाैं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *