Saturday, February 27, 2021
Home > जीवनशैली > … महजोडीसँगको त्यो रात!

… महजोडीसँगको त्यो रात!

म फुच्चे हुँदाको कुरा । ठूलोबुवाले क्यामेरा किनेका थिए । उनी क्यामेराको औधी सौखिन । त्योबेला क्यामेरा हुनु भनेको ठूलै कुरा नि । ठूलोबुवा याशिका म्याट क्यामेरा झुन्ड्याएर ठाँटसँग हिँडडुल गर्थे । जब-जब उनी क्यामेरा बोकेर निस्कन्थे, म उनको पछाडि लुखुर-लुखुर दौडन्थें ।

एउटा क्यामेरा हेर्न र छुने त्यो बाल-उत्सुकताले डोहोर्‍याउँदै यो बिन्दुसम्म ल्याइपुर्‍यायो । क्यामेराप्रतिको त्यो रहर, लगावमा बदलियो । लगाव, जिम्मेवारीमा बद्लियो । रहर, लगाव, जिम्मेवारी र निरन्तरताले आज मलाई एउटा चिनारी दियो, सिनेम्याटोग्राफरको । चालीस वर्ष बिते छ, यही चिनारी बोकेर हिँडेको । व्यवसायिक सिनेम्योटोग्राफीको चालीस बर्षे यात्रा मेरो निम्ति अद्भूत र आनन्दित रह्यो ।

बाँदरले जुराएको भाग्य
सन् १९७७ । नेशलन जोग्राफीका एउटा टिम ‘अर्थ वाच’ भन्ने कार्यक्रमका लागि नेपाल आएका थिए । उनीहरु काठमाडौंमा बसेर स्वयम्भु, पशुपतिनाथ आदि ठाउँको बाँदरको आनीबानी सूक्ष्म अवलोकन गर्ने रहेछन् । पाँच-सातजनाको यो समूह लाजिम्पाटको मनास्लु होटलमा बसेका थिए । मनास्लुका सञ्चालक मेरा साथी । उनले सुनाए, ‘नेशनल जोग्राफीको टिमलाई केही नेपाली सहयोगी पनि चाहिएको रहेछ । तँ र म काम गर्ने हो ?’

एसएलसी सकाएर बसेको फुर्सदिला दिनहरु थिए त्यो । त्यसबखत एसएलसीको नतिजा आउनै सात-आठ महिना कुर्नुपर्ने । मैले केही सोच्दै नसोची भनिदिए, ‘हुन्छ ।’ टुटफुट अंग्रेजी बोलिहालिन्छ । हामी तीनजना नेपाली उनीहरुको टिममा मिसियौं । मेरो कामचाहिँ स्याम्पलिङ गर्नुपर्ने । बाँदरको फोटो हेर्दै त्यसको पछाडि नाम लेखिदिन्थें ।

हामीलाई लाग्थ्यो, सबै बाँदर एकै हुन्छ । तर, नियालेर हेर्दा उनीहरु पनि फरक-फरक हुने रहेछ । कसैको अनुहारमा खत, कसैको केमा । यसरी बाँदरको अनुहार हेरेर त्यसको मिल्दो नाम न्वारान गरिदिन्थ्यौं । आफ्नै घर-परिवार वा छिमेकीहरुसँग मिल्दो नाम । यसबापत मेरो पारिश्रमिक थियो, ३० डलर । त्यो समूहमा जर्ज भन्ने क्यामेरामेन थिए । मलाई चाहि उनले कसरी क्यामेरा चलाउँछ भनेर बढी चासो हुन्थ्यो । म उनको पछिल्तिर बसेर क्यामेरा चलाएको हेरिरहन्थें ।

एकदिन जर्जले सोध्यो, ‘तिमीलाई क्यामेरामा रुची छ हो ?’
मैले ‘हो’ भनेपछि उनले फिक्स लेन्स भएको सानो क्यामेरा दियो । त्यो क्यामेरा चलाउन पनि सिकायो । त्यसपछि त मेरो रुची अरु बढ्यो । ६ महिनासम्म बाँदरको आनीबानीबारे अध्ययन गरेर उनीहरु फर्के ।

दोस्रोपटक उनीहरु फेरि आए । यसपालि उनीहरुसँग ‘सुपर एट’ क्यामेरा पनि थियो । खासमा यो भिडियो खिच्ने क्यामेरा थियो । उनीहरु बाँदरको भिडियो बनाउने सुरले आएका रहेछन् । जर्जले सोध्यो, जर्जले सोध्यो, ‘के तिमी भिडियो खिच्न चाहन्छौं ?’ मैले उत्सुकता देखाएपछि उनले भिडियो खिच्ने तौरतरिका सिकाइदिए ।

मलाई त के-के नै जानेको जस्तो भयो । उनले एउटा रिल लोड गरेर मलाई सुपर एट क्यामेरा दिन्थे । सात-आठ मिनेटसम्म भिडियो खिच्न सकिन्थ्यो । यसरी खिचेको भिडियो लामो समयपछि प्रोसेसिङ गरेर मात्र हेर्न मिल्ने । त्यो पनि हामी हेर्न पाउँदैनथ्यौं । जर्ज भन्थे, ‘तिमीले राम्रो गरेको छौ ।’

हङकङबाट क्यामेरा लिएर बिहे-भोज खिच्न थालें
खासमा बुवा मलाई ‘व्यवसायी’ बनाउन चाहुनुहुन्थ्यो । बाबुबाजेले व्यापार गरे । मलाई भने क्यामेराको गुरुत्व बलले यसरी तानेको थियो, त्यहाँबाट फुत्कनै नसक्ने ।हङकङबाट सामान ल्याउने र बिक्री गर्ने काम गर्थे । यो काम धन्दाबाट फलिफाप भइरहेको थियो । त्यसै बखत मैले हङकङमा सुपर एट क्यामेरा किनें । तर, नेपालमा छिराउनै गाह्रो ।

आफूसँग क्यामेरा भएपछि कस्तो हुटहुटी भने, केही न केही खिच्न मन लाग्ने । काभ्रेमा साथीहरुको बिहेको भिडियो खिच्न थालें । कार्यक्रमको भिडियो खिचियो । त्यसअघि पनि फोटोहरु खिच्न खुब जाँगर चल्ने । पहिलोपटक मैले खिचेको फोटो, राकेशदास श्रेष्ठ भन्ने साथीका बुवाको । त्यो फोटो अहिले पनि उनले सुरक्षितरुपमा सजाएका छन् । कमलादीको गणेश मन्दिरको फोटो खिचेर पारिश्रमिक लिएको थिएँ ।

व्यापार-व्यवसाय छाडेर यसरी क्यामेरा खेलाउँदै हिँडेको कुरा बुवालाई मन पर्दैनथ्यो । तर, बुवाको इच्छालाई भन्दा मैले आफ्नो रहरलाई सर्वोपरी मानें । हुन त म सानैदेखि जिद्दी । रिसाहा स्वाभावको । त्यसैले सानोमा मेरो नाम नै राखिदिएका थिए, भैरव ।

स्वयम्भुको आनन्द कुटी विद्यापीठमा भर्ना भएर पढ्न थालेपछि भने म, सुधि्रएँ । तीन कक्षासम्म गाउँकै विद्यालयमा पढेपछि मलाई काठमाडौं ल्याएर पढाएका थिए । यहाँ पनि हाम्रो घर थियो, इन्द्रचोकमा । आनन्द कुटी विद्यापीठबाट २०३१ सालमा एसएलसी दिएपछि क्याम्पस पढ्न थालें, पब्लिक युथ क्याम्पस । यसबीचमा व्यपार-व्यवसाय पनि गरियो । तर, क्यामेराप्रतिको आशक्ति छुट्दै नछुट्ने ।

भिडियो फिल्म बनाउने लहड
विद्यालय तहदेखि नै मेरो साथी थिए, गायक किरण प्रधान । उनले जहिले पनि भन्थे, ‘तिमी र म मिलेर एउटा काम गर्नुपर्छ है ।’ त्यसबेला हामीले मिलेर सुपर एट क्यामेराले एउटा फिल्म बनाएका थियौं, रत्नपार्क । फिल्मको ज्ञान त थिएन, लहलहैमा । श्याममोहन श्रेष्ठ थिए, पुनाबाट पढेर आएका । उनीहरु फिल्म बनाउने सिलसिलामा थिए । हामी सुटिङ हेर्न उनीहरुलाई पच्छ्याउने ।

२०३७ सालतिर होला । किरण प्रधान र मैले एउटा भिडियो फिल्म बनायौं, प्रयास । यसरी खिचेको फिल्म भिडियो प्रोजेक्टरले ठाउँ-ठाउँमा देखाउन सकिन्थ्यो । त्यसबेला नेपालमा फिल्म सेन्सर हुँदैन भनेर मुम्बईसम्म पुग्नुपर्थ्यो । त्यसपछि सम्बन्ध, आँखा, अभिलाषा जस्ता भिडियो फिल्म बनायौं । यतिबेलासम्म सबैकुरा छाडेर क्यामेरामा एकोहोरिसकेको थिएँ ।

२०४० सालमा प्रज्ञा भवनमा करारमा जागिरे भएँ । त्यहाँ मञ्चन हुने नाटकको भिडियो खिच्नुपर्थ्यो । ‘मालती मंगले’ भन्ने नाटकमा मैले एकसाथ पाँचवटा क्यामेरा प्रयोग गरें । पछि मञ्जिल श्रेष्ठ, बालकृष्ण मानन्धर, पुरन जोशीसँग मिलेर ए वान स्टुडियो खोलियो । संयोग कस्तो थियो भने, एकातिर हामीले फिल्म पनि बनाउनु । अर्कोतिर नेपाल टेलिभिजनले भृकुटीमण्डपमा आफ्नो हल पनि बनाउनु ।

२०४१ सालमा टेलिभिजनको युग सुरु भइसकेको थियो । टेलिभिजन आएपछि त मलाई कामको अफर आउन थाल्यो । टेली चलचित्र बन्न थाल्यो । रमेश बुढाथोकीले पहिलोपटक नेपाल टेलिभिजनका लागि श्रृंखला बनाए, ‘बाचा बिर्सेको छैन ।’ यो टेलिशृंखला मैले नै खिचें ।

महसँग घुलिएपछि
२०४४ सालमा म महसँग जोडिएँ । मेरो जीवनको यो एउटा यस्तो घुम्ती थियो, जहाँबाट मोडिएर मैले आफ्नो सुदूर भविष्यको सुगम यात्रा गरें । त्यो एउटा स्वणिर्म संयोग थियो ।मदनकृष्ण श्रेष्ठ-हरिवंश आचार्य त्यसबेला चर्चित भइसकेका थिए । स्टेजमा होस् चाहे अडियो क्यासेटमा, हास्यव्याङ्गको अलग आयम स्थापित गरिसकेका थिए । उनीहरुले टेलिभिजनबाट केही फिल्म बनाइसकेका थिए । संभवत त्यसबाट उति सन्तुष्टचाहिँ थिएनन् जस्तो लाग्छ । उनीहरुले मलाई सोधे, ‘गौरीजी तपाईं हामीसँग काम गर्ने हो ?’ ‘किन नगर्ने’ मैले फुर्तीसाथ भनें, ‘मेरो त पेशा, धर्म सबै यही हो ।’

यसरी म महसँग घुलिएँ । सुरुमा मैले ‘रात’ भन्ने टेलिचलचित्र खिचें । यो एड्सको विषयमा बनेको थियो । ‘रात’ अपेक्षाकृत राम्रो भइदियो । यसबाट उनीहरुले मेरो कामको पनि मूल्यांकन गरे । त्यसपछि मेरो अविछिन्न सहकार्य रह्यो । मह सञ्चारले निर्माण गरेका अधिकांश टेलिचलचित्र, चलचित्रमा क्यामेरा सम्हालें । लालपूर्जादेखि मदनबहादुर-हरिबहादुरसम्म । अझै पनि यो यात्रा-शृंखला जारी छ । हामी उत्तिकै जोश र होशले सहकार्य गरिरहेका छौं ।

त्योबेलाको कुरा सुन्दा एकादेशको कथा जस्तो लाग्छ । एउटा क्यामेराको भरमा काम गर्नुपर्ने । रिफ्लेक्टर, न गतिलो ट्राइपोड न लाइट । कलाकार र क्यामेरा मात्र छ । एउटा मात्र लेन्स । जुम लेन्सबाहेक अरु केही हुँदैनथ्यो । क्यामेराका लागि लाइट धेरै लाग्ने । एउटा सेटमा खिचिरहेको दृश्य अर्को ठाउँमा लानासाथ लाइट नमिल्ने । मलाई याद छ, महको ‘लालपूर्जा’ छायांकन गर्न मुस्ताङ गएका थियौं । मुस्ताङको सेटमा छायांकन गरिएको सम्भवतः त्यो नै पहिलो हुनुपर्छ । के भनिन्थ्यो भने, त्यो एकदमै गाह्रो ठाउँ हो । बेपत्तासँग हुरी चल्छ । बालुवा उड्छ, ढुंगा उड्छ ।

त्यहाँ जाँदा सानो टिम मात्र जानुपर्ने बाध्यता । त्यसबेला आरएनएसीले स्पोन्सर गरेको थियो । अनि प्लेनभित्रै सुट गर्दै गइयो । कानमा कपासको साटो चकलेट लगाएको, कपास खाएको जहाजमा उड्दा उड्दै सुट गरियो । त्यहाँ पुगिसकेपछि एयरपोर्ट नै सेताम्मे हिउँ नै हिउँ । त्यहाँ गएर छायांकन गर्न थालेपछि हामीलाई थाहा भो, यो ढुंगाको च्युरा चपाउनु सरह काम हो । किनभने, हामीसँग मात्र एउटा क्यामेरा छ । त्यसपछि कलाकार ।

लाइट, रिफ्लेक्टर कुनै इक्विपमेन्ट छैन । पृष्ठभूमि पुरै सेतो टल्किएको छ । यस्तो पृष्ठभूमिमा अरु बस्तुको दृश्य स्पष्ट देखिँदैन । पुरै कालो हुने, खासगरी त्यसबेलाको क्यामेरामा । समस्याहरुले नै आइडिया जन्माउने हो । अनेक आइडिया गरेर छायांकन गरियो । भात खाने थाललाई रिफ्लेक्टरका रुपमा पनि प्रयोग गरियो ।

लण्डनतिर बरालिँदा
भिडियो फिल्म बनाउने भनेर लन्डन गइयो । लन्डन पुगेपछि मेरो विद्यालयका सहपाठी विनोद मानन्धरसँग भेट भयो । उनले फिचर फिल्म गर्ने कुरा गरे । तर, मलाई सेल्युलाइडको अनुभव थिएन । त्यसैले स्पष्टसँग भनिदिएँ, ‘म त भिडियो फिल्म भनेर आएको । अरु जान्दिनँ । म गर्न पनि सक्दिनँ ।’ त्यसबेलासम्म नेपालका पत्रपत्रिकामा मेरा धेरै अन्र्तवार्ता छापिसकेका थिए । त्यहाँका साथीहरुले भने, ‘कहाँ दाइ, तपाईंका अन्तरवार्ताहरु हामीले पढिसकेका छौं । तपाईं हामीलाई झुक्याउने ?’ बाह्र-पन्ध्र दिन त हामीबीच यस्तै तर्क बिर्तक चल्यो ।

किरण प्रधान दाइले जोड गर्दै भने, ‘उहाँहरुले त्यतिका जोड गरिसकेपछि गर न त । लन्डन पुगिसकेपछि त्यत्तिकै किन फर्कने ?’ सुपर एटमा त मैले काम गरिसकेको थिएँ । उहाँहरुले ढिपी गरेपछि म पछाडि हट्न सकिनँ । मैले एउटा सर्त राखें, ‘मलाई एक क्यान फिल्म किनिदिनू । एउटा क्यामेरा भाडामा लिऔं । त्यो क्यामेरामा फिल्म राखेर एक क्यान फिल्म चाहिँ मलाई प्रयोग गर्न दिनुहोस् । यसमा राम्रो भयो भने फिल्म गर्छु ।’

फिल्म बनाउने हिम्मत गरिरहेका उनीहरुलाई यति सामान्य कुरा गर्न गाह्रो भएन ।
हामी एउटा कम्पनीमा गयौं । कलर फिल्म ल्याब भन्ने थियो त्यो । निकै ठूलो कम्पनीमा पुगिएछ । मेरो भाग्यले साथ दियो । कम्पनीका मान्छेहरु एकदमै मिलनसार र सहयोगी रहेछन् । मैले आफैंले सोझै भनें, ‘मैले सेल्युलाइडमा केही पनि काम गरेको छैन । तिमीहरुले सहयोग गर्छौ भने काम गर्छु ।’

त्यसबेला मलाई म्यागजिनमा रिल लोड गर्नसमेत आउँदैनथ्यो । मलाई म्यागजिन लोड गरेर एउटा क्यामेरा दिए । त्यसपछि विनोद मानन्धर, किरण प्रधान, अजय शेखर विनोदको गाडीमा गयौं । क्रिसमसको बेला थियो । सर्वत्र झिलिमिली । विनोदको गाडीको माथि छत पूरा खोल्न मिल्थ्यो । त्यहीँ उभिएर म खिच्दै हिँड्न थालें । खिच्ने र त्यसको नोट पनि बनाउने । खासमा मेरा लागि यो एक अभ्यास वा सिकाइ नै थियो । ‘कस्तुरी’ भन्ने फिल्म मेरा लागि एउटा खुला पुस्तक भइदियो ।

लड्दै-पड्दै सिक्दै
मैले कहिले एसिस्टेन गरिनँ । सोझै क्यामेरा सम्हालें । म भुँइफ्टटा सिनेम्याटोग्राफर होइन । मैले यस विषयमा कतै शिक्षादीक्षा पनि लिइनँ । बाबुबाजेले व्यापार गरे । उनीहरु चाहन्थे, मैले पूख्र्यौली व्यवसायलाई अरु उचाइमा पुर्‍याइदियोस् ।म के गरिरहेको छु भन्ने कुरा ममीलाई खास चासो थिएन । तर, बुवालाई यो काम पटक्कै मन परेको थिएन । फिल्ममा भविष्य सुरक्षित हुन्न भन्ने पनि थिएन त्योबेला । त्यस्तो क्षेत्रमा लागेपछि अभिभावकको चित्त दुख्नु स्वभाविक थियो ।

तर, म क्यामेराको पछाडि दौडिएँ । मैले राकेश दास श्रेष्ठका बुवाको पहिलो फोटो खिचें । त्यो फोटो अहिले पनि सुरक्षित राखिदिएको छ । आज गर्व लाग्छ, आफूले छाडेका पदचापहरु हेरेर । मलाई कुनै ग्लानी छैन, पछुतो छैन । बरु आत्मगौरवले छाती चौडा छ । मैले कामलाई पूजा गरें । कहिल्यै हेलाहोचो गरिनँ । पैसाको मतलव भएन । पैसाको पछि लाग्ने भएको भए, हङकङतिरको व्यापारले मलाई मालामाल बनाउने थियो होला । तर, आज जुन किसिमको आनन्द प्राप्त भएको छ, त्यो भनेको मेरो रुची, लगाव र निरन्तरताको प्रतिफल नै हो । अनलाइनखबरबाट साभार गरिएको सामाग्री ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *