Saturday, January 23, 2021
Home > समाचार > मधेसमा ओलीलाई सिके राउतको साथ, हात मिलाउँदै यसरी गरे साथ दिने बाचा!

मधेसमा ओलीलाई सिके राउतको साथ, हात मिलाउँदै यसरी गरे साथ दिने बाचा!

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रुपमा विभाजन भएसँगै मधेसमा आफ्नालागि ‘स्पेस’ खोजिरहेका छन् । आफ्नो राजनीतिक छवि मधेसविरोधी भएकै कारण उनका लागि तराई मधेसमा अनुकुल राजनीतिक वातावरण बन्न सकेको छैन । प्रधानमन्त्री ओलीलाई यतिबेला सिके राउत अध्यक्ष रहेको जनमत पार्टीले तराई मधेसमा राजनीतिक स्पेसका लागि सघाइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेकै दिन जनमत पार्टीका केन्द्रीय सदस्य मोहम्मत अब्दुल खानले विज्ञप्ति जारी गरी संसद विघटनको घटनालाई ‘दुःखद्’ भनेका छन् । तर त्यसपछि प्रधानमन्त्री ओलीको सो कदमका विरुद्ध जनमत पार्टी रहस्यमय रुपमा मौन बसेको छ । बरु सो पार्टी जोडतोडका साथ चुनावको तयारीमा लागेको छ ।

प्रतिनिधिसभा विघटनलगत्तै जनमत पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘नेपालको संघीय सदन कार्यकालभन्दा अगाडि नै विघटन हुनु नितान्त दुःखद् घटना हो । यस विषयमा हाम्रो पार्टीले संविधानविद्हरूसँग परामर्श लिइराखेको अवस्था छ । साथै पार्टीको स्थायी समितिले समेत यस विषयमा छलफल गरिराखेको छ ।’

जनताले मत र विश्वास दिएर पठाएका पार्टीहरू देश, प्रदेश र स्थानीय तहहरू चलाउन पूर्ण रूपमा असफल भएको उल्लेख गर्दै जनमत पार्टीले भ्रष्टाचारलाई घर–घरमा पु-याएको, भागबण्डा र आपसी लुछाचुँडीको राजनीतिले देशलाई बन्धक बनाएको कुराको परिणामकै रूपमा संघीय सदन विघटन हुनुपरेको ठहर गरेको थियो ।

पटक–पटक परीक्षण भएर असफल भइसकेका भ्रष्ट पार्टी र नेताहरूलाई आगामी निर्वाचनमा परास्त गर्दै जनमत पार्टीलाई भारी बहुमतले जनादेश दिएर स्वराज कायम गर्न जनतासँग सो पार्टीले अनुरोध पनि गरेको छ । जिल्ला, पालिकाहरुमा अधिवेशन गर्दै चुनावको तयारीमा जुटिसकेको जनमत पार्टीले मधेसमा आन्तरिक रुपमा प्रधानमन्त्री ओलीलाई सघाइरहेको तथ्यलाई सो विज्ञप्तिले पनि संकेत गरेको छ ।

नेपालबाट मधेसलाई अलग गरेर छुट्टै देश बनाउनुपर्ने भन्दै सिके राउतले लामो समय अभियान नै सञ्चालन गरेका थिए । सोही अभियानको क्रममा उनी पक्राउ परेका थिए । उनी जेलमै रहेका बेला प्रधानमन्त्री ओलीले उनीसँग सहमति गर्दै उनलाई आफ्नो पक्षमा पारेका थिए । सिके राउतले त्यही बेला नै विखण्डनको राजनीति छाडेर मूलधारको राजनीतिमा आउने निर्णय गरेका थिए । सरकारसँग सम्झौता भएपछि बाहिरिएका सिके राउत त्यसयता निरन्तरजसो प्रधानमन्त्री ओलीको सम्पर्कमा रहेको बताइन्छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!