दैलेख —
युवाहरुलाई अमेरिका पठाउँछु भन्दै ठगी गर्ने इटहरी उपमहानगरपालिका–४, सुनसरीकी २४ वर्षीया विद्या शर्मा (विद्या सरकार) लाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको समन्वयमा महानगरीय प्रहरी परिसर, टेकुले उनलाई पक्राउ गरी दैलेख पुर्याएको हो ।शर्माले दैलेखका युवाबाट झण्डै दुई करोड रुपैयाँ ठगेको प्रहरीको अनुमान छ । उनलाई दैलेख प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।
समाजसेवाको बहानामा दैलेख पुगेकी शर्माले अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी, सिंगापुरको नेपालस्थित प्रमुख कार्यकारी अधिकृत (सीइओ) भन्दै असुली धन्दा चलाएकी थिइन् ।कोरोना महामारीको नियन्त्रणका लागि भन्दै उनी स्वास्थ्य सामग्री, त्रिपाल, सेनिटाइजर, मास्क, पन्जा र खाद्यान्न वितरण गर्न बैशाखमा दैलेख पुगेकी थिइन् ।
उनी एक जिल्लाबाट ठगी गरेको रकम लिएर अर्को जिल्लामा राहत वितरणलगायत काममा संलग्न हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनले विद्या शर्मा र विद्या सरकारका नामबाट दुई वटा नागरिकता बनाएकी छिन् ।शर्माले नारायण नगरपालिका–१ का २८ वर्षीय विवेक थापालाई अमेरिका पठाउने भन्दै वैशाखदेखि असोज १८ गतेसम्म ५२ लाख १४ हजार रुपैयाँ पठाउन लगाएकी थिइन् ।
उनका साथी मनोज थापाले पनि बैंकमार्फत शर्मालाई बैंकमार्फत ९० हजार रुपैयाँ पठाएका थिए । ठगिएको भन्दै उनीहरुले प्रहरीमा उजुरी दिएपछि शर्माको खोजी भएको थियो । शर्माले युवाहरुलाई विभिन्न सामग्री उधारोमा किन्न लगाई राहत वितरण गरेको प्रहरीले जनाएको छ ।शर्माले दैलेखका ८/१० जना युवाबाट रकम उठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अहिलेसम्म दुई जनाले शर्माविरुद्ध उजुरी दिएको प्रहरी निरीक्षक इन्द्रजित सुनारले बताए ।‘धेरै जना ठगिएका छन्,’ उनले भने, ‘तर रकम दिएको कागज र अन्य प्रमाण नहुँदा उजुरी नपरेको हुनसक्छ ।’ उनका अनुसार जिल्ला अदालतले पुस ९ गते उनलाई पक्राउ गर्न अनुमति दिएको थियो । तर शर्मा काठमाडौका विभिन्न ठाउँमा लुक्दै बसेकाले महानगरीय प्रहरी परिसरसँग समन्वय गरिएको उनले बताए ।