काठमाडौं ।
पछिल्लो समय बढ्दै गइरहेको वायु प्रदूषणले काठमाडौं उपत्यकामा बस्न समस्या सिर्जना हुन थालेको छ । विश्वका सर्वाधिक वायु प्रदूषण भएका ५० शहरहरुमा पहिलो स्थानमा रहेको काठमाडौंमा अनावश्यक बाहिर ननिस्किन भनिएको छ । यो बीचमा वातावरण विभागले घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।
विभागले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटु सम्बन्धी रोगका बिरामीलाई सकेसम्म घरबाहिर ननिस्किन अनुरोध गरेको छ । विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले मंगलबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, !
‘उपत्यकामा बिहान र बेलुकीको समयमा प्रदुषण अत्यधिक बढेको पाइएको छ । यसबाट तपाईं हाम्रो स्वास्थ्यमा नकरात्मक असर पर्न सक्दछ ।’विश्वमा सर्वाधिक वायु प्रदूषण भएका शहरहरुमा काठमाडौं पहिलो, आँखा पोल्ने समस्या शुरु
विज्ञप्तिमा नेपालगञ्ज, विराटनगर लगायतका क्षेत्रमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको पाइएको उल्लेख गर्दै तराई क्षेत्रका नागरिकलाई पनि विशेष सतर्कता अपनाउन भनिएको छ । विभागले फोहोर र आगो बाल्दा पनि वायु प्रदूषण बढ्ने भएकाले त्यस्तो नगर्न पनि सुझाएको छ ।