एजेन्सी । भारतको उत्तराखण्ड राज्यमा धर्म परिवर्तन गरेर विवाह गर्ने दुलहीसहित चार जनाविरुद्ध मुद्दा दर्ता भएको छ । धर्म परिवर्तन गरेर मुसलमान युवकसँग विहे गरेकी देहरादुनकी २० वर्षीया युवतीसहित चार जनाविरुद्ध विवाह भएको तीन महिनापछि मुद्दा दर्ता भएको हो।
मुद्दा पर्नेमा २२ वर्षीय मुसलमान पुरुष, उनकी पत्नी, उनका काका र विवाह गराउने काजी रहेका छन् । करिब दुई वर्षअघि निर्माण भएको उत्तराखण्ड धार्मिक स्वतन्त्रता अधिनियम, २०१८ अन्तर्गत यो मुद्दा दर्ता भएको हो। उच्च अदालतको आदेशमा जिलाधिकारी देहरादूनले प्रहरीलाई यो मुद्दाको छानविनको जिम्मेवारी दिएकाे छ।
मुद्दा दर्ता भएपछि पीडित युवतीले आफ्नो निजी जीवनमा धक्का लागेको गुनासो गरेकी छन्। उनले आफूलाई कसैले धर्म परिवर्तन गर्न दाबाब नदिएको र स्वइच्छाले विवाह गरेको बताएकी छन् ।