Sunday, January 17, 2021
Home > जीवनशैली > नेपाली श्रीमान प्रदेशमा बितेपनि नेपालमै एकल जीवन बाँचिरहेकि फिलिपिनी बुहारी रूजान!

नेपाली श्रीमान प्रदेशमा बितेपनि नेपालमै एकल जीवन बाँचिरहेकि फिलिपिनी बुहारी रूजान!

जनकपुर । फिलिपिन्सकी २९ वर्षीय रुजान जोय र धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१० का मोहम्मद मजहर दुबै कतारको एकै कम्पनीमै बिक्रेताका रूपमा केहि बर्षदेखि सँगै काम गर्थे । एकै कम्पनीमा एकैसाथ एउटै प्रकृतिको काम गर्दा उनीहरूबीच प्रेम भयो । दुवै अलग-अलग देश र समुदायका भएपनि तेस्रो मुलुक कतारमा उनीहरूबीच गहिरो प्रेम भयो । दुवै एकैसाथ बस्न पनि थाले । रुजानभन्दा मजहर २ वर्ष कान्छो थियो ।

रुजानका अनुसार मजहरले शुरूमा प्रेम प्रस्ताव गरेको थियो । जसलाई सहर्ष स्वीकारेको उनले बताइन् । त्यसपछि बिहे गर्ने प्रस्ताव पनि मजहरबाटै आयो । मैले त्यसलाई सहर्ष स्वीकार गरें,’ रुजानले भनिन्, ‘मैले पनि आफ्नो घरमा बिहेबारे कुरा गरें र मजहरले पनि नेपालमा आफ्ना आमाबुवासँग बिहेबारे कुरा गर्यो ।’रोजगारी पूरा गरेपछि दुवै जना नेपाल आए । जनकपुरमा मुस्लिम धर्म रीतिरिवाज अनुसार दुवै जनाको ‘निकाह’ भयो । दुवै जनाले २०७० फागुन २६ गते ‘कोर्ट म्यारिज’ गरे ।

जिल्ला प्रशासन कार्यालय धनुषामा दुवै जना पुगेर विवाह दर्ता ऐन २०२८ बमोजिम एकअर्कालाई पतिपत्नीको रूपमा ग्रहण गरी मजहर र रुजानबीच विवाह दर्ताको प्रमाणपत्र वितरण गरिएको थियो । मजहर फेरि वैदेशिक रोजगारीमा गए । यसबीच दुवैले छोरी याजी एन्जेला पाए । छोरी एन्जेला अहिले ५ वर्षकी छन् । छोरी भएपछि रुजान जनकपुरमै सासुससुरासँग बस्न थालिन् । कहिलेकाहीँ माइतीघर फिलिपिन्स पनि जाने-आउने गर्थिन् ।

पछिल्लो पटक मजहर घर फर्किएर आउँदा ५ महिना जति बसे । त्यही क्रममा रुजान पुनः गर्भवती भइन् । मजहर पुनः कतार काममा फर्किए । गत अक्टोबर ५ तारिखमा राति समुद्रमा नुहाउन गएको बेला डुबेर उनको निधन भयो । मजहरका बुवा अब्दुल सहमत मोमिनले भने, ‘त्यहाँको समाचार पत्रमा समुद्रमा नुहाउन जाँदा डुबेर मृत्यु भएको उल्लेख थियो ।’

रुजान नेपालमै जनकपुरमा सासुससुरासँग बस्दै आएका छन् । उनको पेटमा अहिले ५ महिनाको गर्भ छ । पतिको निधन भएपछि अब उनी आफ्नो देश फिलिपिन्स फर्केलिन् कि भन्ने जनकपुरको घर परिवारमा चिन्ता थियो । तर रुजानले अब जनकपुरमै आजीवन बस्ने निधो गरेकी छन् । मजहरको निधन भएपछि उनले आफ्नो देशको नागरिकता समेत परित्याग गर्दै नेपाली नागरिक बन्न जिल्ला प्रशासन कार्यालय धनुषा पुगेका थिइन् ।‘मेरो घर परिवार र सारा संसार भनेको यहीँ जनकपुरमा नै छ ।

अब फिलिपिन्स फर्किने कुरा सोच्नै सकिन्न,’ रुजानले भनिन्, ‘घरमा सासु, ससुरा, देवर, जेठाजु सहितको सम्पूर्ण परिवार छ । अब यहीँ नेपालमै बसेर आफ्नो छोरीलाई पालनपोषण गर्नेछु ।’ उनले घरमै गृहिणी भएर बस्ने बताइन् । छोराको निधनपछि सासु ससुराले पनि आफ्नो पुरापुरी ध्यान राख्ने गरेको उनले बताइन् ।

बुहारीलाई नेपाली नागरिकता दिलाउन पहल गरेका ससुरा अब्दुल सहमत मोमिनले भने, ‘म आफैं पनि टेलर मास्टर हुँ । मैले पनि कमाएर बुहारी र नातिनीलाई आर्थिक समस्यामा पर्न दिन्न ।’ उनका अरु २ जना छोरा पनि छन् । जेठो छोरा ३० वर्षीय मोहम्मद अजहरुद्दीनको बिहे भइसकेको छ भने कान्छो छोरा मोहम्मद अथरको बिहे भएको छैन ।

निधन भएका मजहर माइलो छोरा थिए । बुहारीलाई सजिलो होस् भनेर नेपाली नागरिकता बनाइदिएको उनले बताए । ५ वर्षकी नातिनी एन्जेला जनकपुरकै एक निजी विद्यालयमा पढिरहेकी छिन् । रुजानलाई मैथिली भाषा बोल्न त आउँदैन ।तर अरुले बोल्दा मैथिली बुझ्न थालेकी छन् ।

विगत ५ वर्षदेखि जनकपुरमै बस्दै आएकाले मैथिली भाषा बुझ्न समस्या नभएको उनले बताइन् । रुजान नेपालमै बस्ने भएपछि रुजानका आमाबुवाले असहमति जनाएनन् । ज्वाइँको निधनपछि रुजानकी आमा पनि जनकपुर आएकी थिइन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!