Sunday, December 5, 2021
Home > समाचार > दशैं टीका : शीतल निवासभन्दा निर्मल निवासमा सर्वसाधारणको घुइँचो ! (फोटो फिचरसहित)

दशैं टीका : शीतल निवासभन्दा निर्मल निवासमा सर्वसाधारणको घुइँचो ! (फोटो फिचरसहित)

काठमाडौँ, २ कात्तिक ९रासस० ः राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गर्नुभयो ।राष्ट्रपतिले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित हेमचन्द्र ढकालबाट टीका–प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गर्नुभएको हो ।

स्वस्तिवाचनसहित मूल पुरोहित अर्याल र अन्य पुरोहितहरुले आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी स्थापना गरिएको पूर्ण कलशको जलले राष्ट्रपतिमा अभिषेक गर्नुभएको थियो ।शास्त्रोक्त विधिपूर्वक प्रतिपदाका दिनदेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाअर्चना तथा सप्तशती पाठ गरिएको हनुमानढोका दशैघरबाट पूर्णकलशको जल, जमरा, तिलक र रक्षासूत्र ल्याइएको थियो ।

राष्ट्रपति भण्डारीले मूल पुरोहित, राष्ट्रपति कार्यालयका पुरोहित र अन्य ब्राह्मणलाई टीका, जमरा र दक्षिणा प्रदान गर्नुभयो ।त्यसअघि राष्ट्रपतिले दीप, कलश र गणेशको पूजा गर्नुभएको थियो । राष्ट्रपति भवनको प्रेक्षालयमा टीका मङ्गलटीकाको कार्यक्रम भइरहँदा नेपाली सेनाको एक टोलीले मन्द तर मधुर ध्वनिमा मङ्गलधुन बजाइएको थियो ।

राष्ट्रपतिले आफ्ना पूजनीय माता मिथिला पाण्डेबाट टीका–जमरा र दक्षिणा ग्रहण गर्नुभयो । साथै उहाँले काका डेकेन्द्र पाण्डेबाट पनि नवदुर्गा भवानीको प्रसादस्वरुप टीका–जमरा ग्रहण गर्नुभयो ।

राष्ट्रपति भण्डारीले छोरीज्वाँइ उषाकिरण र उमेश थापा तथा निशाकुसुम र अभिषेक यादवलाई टीका–जमरा लगाइदिनुभयो । उहाँले परिवारका अन्य सदस्यका साथै राष्ट्रपति कार्यालयका कर्मचारी, सुरक्षाकर्मी र समाचार सङ्कलन गर्न पुगेका सञ्चारकर्मीलाई पनि टीका जमरा लगाइदिनुभयो ।

उता, पूर्वराजा ज्ञानेन्द्र शाहले पनि विभिन्न दलका नेता, शुभचिन्तक तथा सर्वसाधारणलाई टीका लगाईदिनु भएकाे छ । निर्मल निवासमा टीका ग्रहण गर्नेहरुकाे लामै लाइन लागेकाे देखियाे ।

दिउँसो सवा तीन बजेदेखि खुला गरिएको निर्मल निवास परिसर र बाहिरको सडक पेटी टीका थाप्नेहरुको भिडले भरिएको थियो। पूर्वराजाले गत वर्ष सर्वसाधारणलाई टीका लगाइदिनुभएकाे थिएन । यस वर्ष भने राजतन्त्रप्रति झुकाव राख्ने राजनैतिक व्यक्तित्वदेखि सर्वसाधारणसम्म पूर्वराजा-रानीकाे हातबाट टीका तथा जमरा ग्रहण गर्न निर्मल निवास पुगेका थिए ।

पूर्वराजा शाहले यस वर्ष विजयादशमीको दिन टीका थाप्न निर्मल निवास पुगेका सर्वसाधारणलाई दिउँसो ३ बजेदेखि टीका जमरा लगाइदिनुभएकाे हाे । राप्रपाका अध्यक्ष कमल थापाले पनि सधैँझैँ यस सालकाे दशैँमा पनि पूर्वराजा-रानीबाट टीका ग्रहण गर्नुभएकाे छ ।

अपराह्न तीन बजेदेखि निर्मल निवासमा पूर्वराजा शाह र रानी कोमलले सर्वसाधारणलाई टीका लगाईदिनु भएकाे थियाे । टिका लगाउन निर्मल निवासमा सर्वसाधारणको घुइँचो लागेकाे थियाे । गणतन्त्रको १० औँ वर्षको विजयादशमीमा पूर्व राजा ज्ञानेन्द्र र रानी कोमलको हातबाट टीका लगाउनेको भिड अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको प्रत्यक्षदर्शीहरुले बताए।

Leave a Reply

error: Please Dont Copy My Content!! !!