दाङमा स्कार्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने थप दुई जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा घोराही उपमहानगरपालिका वडा नं. १७ का ३५ वर्षीय विजय अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा सोही ठाउँका ३६ वर्षीय उमाकान्त घिमेर र घोराही-१५ का ३६ वर्षीय समीर पन्त घाइते छन्।
गम्भीर घाइते अधिकारीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए।
घाइते घिमिरे र पन्तलाई घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ। घाइतेमध्ये पन्तको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको टाउकोमा चोट लागेको छ।
त्यस्तै, घिमिरेको गुप्ताङ्गमा चोट लागेका कारण उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार अपराह्न ५ बजेतिर घोराहीतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२२-च ६३६९ नम्बरको स्कार्पियो अनियन्त्रित भई घोराही १७ सिस्ने खोलामा सडक किनारमै पल्टिएको थियो।
जिल्ला प्रहरी प्रवक्ता खड्काका अनुसार उनीहरू पिकनिक खाएर फर्किरहेका थिए। ‘शनिबार मिल्ने साथीहरू आपसमा सल्लाह गरी जंगल क्षेत्रमा पिकनिक खान गएको भन्ने खुल्न आएको छ,’ डिएसपी खड्काले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ।’
घटनास्थल मुर्कुटी सडकखण्डमा पर्छ। यो दाङ-रोल्पा सडकखण्ड हो। स्कार्पियोको चालक को थिए भन्ने खुलिनसकेको डिएसपी खड्काले बताए।