Sunday, January 17, 2021
Home > रोचक > मलाई माफ गर

मलाई माफ गर

त्यसबेला ऊ पोखरा बसेर फरेष्टी साइन्स पढ्थ्यो। म आरआरमा नेपाली साहित्य पढ्थें। म प्राय: सामाजिक संजालमा आफ्नो विचार राखिरहन्थें। पत्रपत्रिकामा अलिअलि लेख लेख्थें। ऊ मेरो लेखाइबाट ज्यादै प्रभावित भएको रहेछ। साइन्स र साहित्य नितान्त अलग विषय हुन्। फेरि कसरी मिल्यो हाम्रो केमेष्टी ?

उसले मलाई बारम्बार मेसेज गरिरहन्थ्यो। म सकेसम्मको रिप्लाई गर्थें। च्याटमा देशको राजनीतिक अस्थिरता, समाजमा भएको अराजक गतिविधिको बारेमा हाम्रो बहस भैरहन्थे। हामी एक अर्काको विचारको सम्मान गथ्र्यौं।

मेरो दिउँसोको जागिर र बेलुकाको पढाइ थियो। कोठामा पुग्दा साँझको सात आठ बजिसक्थ्यो। मैले आफूलाई रोबर्ट जस्तै सम्झन्थें। जब कोठामा पुग्थें उसको म्यासेजले मान्छे बनाउँथ्यो।

हाम्रो च्याटमा कुरा भएको एक वर्षपछि ऊ मलाई भेट्न काठमाडौं आयो। ऊ आएपछि मेरो मनमा चन्द्रमा उदाए।
केही समय बसेर पोखरा फर्कियो।

च्याटमा हाम्रो संवाद उसैगरी दोहोरियो। हामी राजनीतिबाट प्रेमसम्म पुग्यौं। प्रेम प्रस्ताव उसैले राख्यो। मैले सोचेर उत्तर दिन्छु भन्दिएँ। ऊ काठमाडौं आउँदा मसँग भेट भैरहन्थ्यो। थाहै नपाई हामी प्रेममा परिसकेछौं।

उसको बिएस्सी सकियो। मैले एमए सकें। ऊ लोकसेवा पढ्न काठमाडौं आयो। त्यसपछिका दिनमा हाम्रो निरन्तर भेट हुनथाल्यो। ऊ साइन्सको विद्यार्थी भए पनि साहित्य मन पराउन्थ्यो। प्राय:जसो हामी थिएटरमा नाटक हेर्न गइरहन्थ्यौं।

नाटक, साहित्यिक जमघट, कफी र चिया हाम्रा दैनिकी हुन्थे। ऊ मलाई विवाहदेखि मृत्यु हुने बेलासम्मको सपना देखाउँथ्यो। हामी आफन्तको आँखा छलेर कहिले नगरकोट, कहिले गोदावरी पुग्थ्यौं।

जिन्दगी आफ्नै रप्तारमा कुदिरहेको थियो। जिन्दगीमा दुइटा कुरा सधै विशेष लागे। एउटा कफी अर्को ऊ। मेरा खुसीका आधार यिनै दुई हुन् सोच्थें।

माघ महिनाको एक साँझ उसको फोन आयो। आफू डिल्लीबजारको हिमालयन क्याफेमा रहेको बताउँदै छिटो आउन आग्रह गर्‍यो। साँझ परिसकेकाले सडक किनारमा बत्ती बल्न थालिसकेका थिए। सडकमा गाडीको रप्तार उस्तै।

बाहिर चिसो भए पनि मनको मायाले मौसमलाई जित्यो। उमंग र खुसी बोकेर म कोठाबाट निस्किएँ। उसलाई सम्झँदै कति छिट्टै डिल्लीबजार पुगेछु पत्तो पाइनँ। म मुस्कुराउँदै उसको नजिक पुगें।

झुस्सपालेको दाह्री। ग्रहण लागेजस्तो अनुहार। अँध्यारो मुस्कुरायो। ऊ चुपचाप थियो। दुई कप चिया मगाएँ। उसले व्यागबाट केही निकालेजस्तो गरेर मेरो हातमा थमाइदियो। हेरेँ,विवाहको कार्ड रहेछ।

कार्डमा नाम हेर्दै थिएँ। ऊ पिसाव लागेको बहाना गरेर बाथरूमतिर लाग्यो। केही समयपछि आउँदा उसका आँखा रसाएका थिए। पिसाब फेरेर उसको शरीरमा शीतलता प्राप्त भयो कि मनमा? मैले जानिनँ।

‘अहो ! विवाह गर्दै रहेछौ व्यापक बधाइ,’ मैले भनें। उसको ओठका घाम अस्ताए। ‘किन निरास हुन्छौ साकार ? बिहे गर्दैछौ। नयाँ जिन्दगी सुरू हुँदैछ।’

साकारले भन्यो, ‘मलाई माफ गर। मैले साथ दिन सकिनँ। घरकाले चिना मिलेन भनेर तिमीलाई अस्वीकार गरे। मैले बाबाआमा त्याग्न सकिनँ। उहाँहरूले खोजेकासँग विवाह गर्नुपर्ने बाध्यतामा फसें।’

उसका कुराले शरीरको कमजोर अङ्गमा चुम्बन गर्‍यो। तर आफूलाई बलियो बनाउने प्रयास गरिरहें। भनें, ‘प्रेम र विवाह जिन्दगीका अलग पाटा हुन् साकार।’

के विवाह गर्दैमा प्रेम सकिन्छ र ? प्रेमको अन्तिम गन्तव्य विवाह हो र ? संसारमा धेरैका प्रेम असफल भएका छन्। प्रेम असफल हुनु भनेको मुटुको माया सकिनु होइन। दूरी बढ्नु भनेको बिर्सनु होइन।

विवाहजस्तो ‘तुच्छ सम्झौता’ले प्रेमजस्तो पवित्र सम्बन्धलाई मार्न सक्दैन। तिमी तिम्रो जिन्दगीमा खुसी रहनू। तिम्रा आगामी जिन्दगी सुखद रहून्। चिना मिलेकी केटीसँग तिम्रो मन पनि मिलोस् परिवारको खुसी पनि मिलोस्। ’

उसले भन्यो, ‘माफ गर्छौ त मलाई ? उसले कस्तो गल्तीको माफ खोजेको हो ? के प्रेम गर्नु गल्ती हो र ?

मैले भनें, तिमीले गल्तीले नै के गरेका छौ र साकार ? म तिमीलाई माफ गरूँ? मेरा कुराले फेरि उसका आँखा भरिए। रोक्ने प्रयास गर्दै थियो सेतो सर्टमाथि तप्प आँसु खसे।

कस्तो अचम्म ! प्रेम प्रस्ताव राख्ने ऊ। विवाहको सपना देखाउने पनि ऊ। विवाहको कार्ड बोकेर भेट्न आउने पनि ऊ। अनि ऊ फेरि रूने पनि ऊ? कति अजिव छ है दुनियाँ!

अहो ! टेवलमा चिया सेलाइसकेछ। उसले एकैपटक चिया पिएर भन्यो, ‘म अब निस्कन्छु।’ मैले उसलाई रोक्न सकिनँ।

म उसको विवशता बुझ्थें। मलाई थाहा छ मान्छेले जिन्दगी पाउने भनेको एक पटक मात्रै हो। उसको जिन्दगीमा। उसको रहरमा । उसका सपनामा । म कहिल्यै पनि हस्तक्षेप गर्न सक्दिनँ ।

सेलाएको चिया र मर्न लागेका आफ्नो जिन्दगीको रहर सम्झें। त्यसपछि लाग्यो, जिन्दगी उसको हो रहर उसका हुन्। मैले मन सानो बनाएर उसलाई रोक्न हुँदैन। उसले चाहेको जस्तो जिन्दगी बाँच्न दिनुपर्छ। बाहिर बत्तीको झिलिमिली उस्तै थियो। मेरो मनमा निभेको दियो फेरि बल्न सक्ला त ?आफैंसँग प्रश्न गरें।

खलिल जिब्रानको एउटा भनाइ छ, ‘एकदिन तिमीले मलाई सोध्ने छौ, मेरो जिन्दगी बढी महत्वपूर्ण छ कि तिम्रो ? मैले मेरो जिन्दगी भन्नेछु र तिमीले मलाई छोडेर जानेछौ यो थाहा नपाइकन कि तिमी मेरो जिन्दगी हो।’

उसले छोडेर गयो खुसी होस्। म उसलाई आदर्श प्रेम गर्छु। प्रेम त मैले उसलाई अथाह गरेको थिएँ। कुनै आश र अपेक्षा नगरी। फेरि सम्झें, आफ्नो समय त्यसको निम्ति खेर फाल्नु हुँदैन जसले मेरो प्रेम चिन्न सकेन।

ऊ निस्केपछि विगतका घटनाहरू आँखामा आइरहे। अघिको उत्साह र उमंग हरायो। शरीर र मुटु दुवै चिसा भए। आफूलाई सम्हाल्नभन्दा अर्को विकल्प थिएन। चुपचाप निस्किएर पुतली सडकतिर लागें।

***
कोठामा पुगें । फेसबुक खोलें। बुद्धिसागरको एउटा नयाँ स्टाटस पोष्ट भएछ। ‘मान्छेलाई चिन्नु ज्ञान हो भने मैले तँलाई चिने भन्नु अज्ञानता हो।’ मैले मेरो प्रेम चिनें। हैसियत थाहा पाएँ। एउटा नमिठो भ्रमबाट मुक्त भएँ।

उसले दिएको पीडा मुटुमा सुल बनेर रोपियो तर कुनै प्रतिक्रिया जनाइनँ। अचेल सामाजिक संजालमा दु:ख, पीडा, धोका, वेदनाको चित्कार मात्र सुन्न पाइन्छ। यस्ता अभिव्यक्तिले थाहा हुन्छ कि संसारमा धेरै मान्छे खुसी छैनन्।

मलाई वर्तमान युवा पुस्ताको प्रेम त्यति मन पर्दैन। मन परुन्जेल आफ्नो प्रेमी प्रेमिकाको फोटो र प्रेमिल अभिव्यक्ति सामाजिक संजालमा छरपष्ट बनाउँछन्। मन पर्न छोडेको दिन व्लक लिस्टमा राख्छन्। उसको खराब पक्षको व्याख्या गर्न थाल्छन्। विशेषगरी प्रेमलाई विवाहमा जोड दिन्छन्।

तर म त्यसो गर्ने छैन। साकारसँग बिहे नभए पनि म उसलाई प्रेम गरिरहन्छु। केहीदिन उसले फोन गरेन। मैले पनि डिस्टर्व गर्न जरूरी ठानिनँ। म आफ्नो काम र करिअरमा फोकस हुनथालें।

विवाह हुनुभन्दा ५ दिन अगाडि एक बिहान उसको फोन आयो। पुरानै शैलीमा बोलें। सामान्य कुराकानीभन्दा बढी केही भएन। उसले आफूलाई केही सहयोग गर्न आग्रह गर्‍यो। नाइँ भन्न सकिनँ। उसलाई सपिङ गर्ने साथीको आवश्यकता रहेछ।

दिउँसो हामी महाबौद्धमा भेटियौं। साँघुरो बाटो छिचोल्दै असन पुग्यौं। मैले उसँग गरेका सयौं यात्रा सम्झें। बाटोका वारिपारि राखेका श्रृङ्गारका पसल देख्दा कटक्क मन खान्थ्यो। राता साडी र घुम्टोको पसल देख्दा भक्कानिन्थें। उसले भर्खर प्रेम बसेको बेलामा गरेकाबाचाहरू सम्झिन्थें।

कयौं पटक उसको हात समाएर हिँडेको गल्लीमा उसको हात छुट्ने बेलामा उसलाई कसरी सम्बोधन गरूँ? हामी श्रृङ्गार पसलमा छिर्‍यौं। अपसोच ! म भाग्यमा श्रृङ्गार नभएकी मान्छे। उसले एक पटक भूगोल पार्कमा बस्दा भनेको थियो तिमी बेहुली हुँदा कस्ती देखिन्छौ होला?

म लाजले निहुरिएकी थिएँ। मेरा मनमा गुराँस र पारिजात एकै पटक फुलेका थिए । तिनैदिन सम्झेँ। मुटु चिसो भयो। वैगुनीले आफैंले खनेको बाटोमा आफैंले काँडा लगायो।

उसले दुलहीका लागि रातो चुरा किनिसकेछ। म झस्कें। सामान्य जस्तो देखिए पनि मनमा पीडाको बाढी उर्लिएको थियो। असन, इन्द्रचोक, न्युरोड पूरै घुमेर उसको विवाहको लागि सामान किनियो।

फर्कंदा रात परिसकेको थियो। मैले असल साथी बन्ने प्रस्ताव राखेँ। ऊ मुस्कुरायो अनि भन्यो, ‘आज ढिला भयो कुनै दिन भेटौंला।’ नाइँ भन्ने हिम्मत गरिनँ। एक्लै कोठामा फर्कें।

प्रेम गरियो विवाह भएन। असल साथी बनेर साकारलाई दु:खमा साथ दिन्छु सोचकी थिएँ। कोठामा पुगें। बत्ती बाल्न पनि मन लागेन। त्यसो त यहाँभन्दा पहिला उज्यालोसँग मेरो कुनै दुस्मनी थिएन।

बाहिर सामान्य देखिए पनि भित्री मनमा पीडाको महासागर थियो। के खराबी थियो र मसँग उसले मेरो प्रेम लत्याएर अरुसँग विवाह गर्दैछ। के छैन र मसँग जो अरू स्वास्नी मान्छेसँग मात्रै छ।

आँखाबाट आँसुको भल बग्यो। मनमनै भनेँ, निष्ठुरी मेरा आँसुले तिम्रा खुसीका बाटो नछेकून्। उसलाई फोन नगरी निदाउन सक्दैनथेँ। तर बानी पार्न थालेँ।

उसको विवाहको अघिल्लो रात उसलाई बधाइ दिन मेसेज गर्न खोजेँ। उसको नाम फेसबुकमा खोजेँ भेटिनँ। अर्को आइडीबाट सर्च गरेर गरेँ। म त व्लक लिस्टमा परेछु। सम्झेँ, अक्सर प्रेम गर्ने मान्छे व्लक लिस्टमा पर्दा रहेछन्।

उसले नयाँ स्टाटस पोष्ट गरेको रहेछ। फिलिङ ह्याप्पी। छिट्टै खुसीका दिन सुरू हुँदैछन् … म पनि खुसी भएँ। परिवारले चिना मिलाएछन्। उसले मन मिलाएछ। मसँग कति मिठो अभिनय गर्‍यो। तर पनि उसको जीवन सदा खुसी रहोस् सोचेँ।

घडी हेरेँ। रातको बाह्र बजेछ। फेसबुकमा एउटा स्टाटस पोष्ट गरेँ। प्रेम र विवाह फरक विषय हुन्। साकार म तिमीलाई अझै आदर्श प्रेम गर्छु!

शुभद्रा ढकाल/सेतोपाटीबाट

Leave a Reply

error: Please Dont Copy My Content!! !!