Monday, November 23, 2020
Home > समाचार > टिपर दुर्घटनाले लियो एककाे ज्यान!

टिपर दुर्घटनाले लियो एककाे ज्यान!

बुटवल । पाल्पामा चुनढुंगा बोकेको टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पाल्पाको निस्दी गाउँपालिका–७, मठेखर्कमा ना ८ ख ७९०५ नम्बरको टिपर दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिकाका ४० वर्षीय पूर्णबहादुर श्रेष्ठको मृत्यु भएको हो । चुनढुंगा बोकेर नवलपुरको सर्दीस्थित होङ्सी शिवम् सिमेन्ट्स उद्योगमा जाने क्रममा मंगलबार साँझ टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए ।

ओरालो सडकमा अनियन्त्रित भइ टिपर करिब १० मिटर तल खस्दा चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी गिरीले बताए ।

प्रचण्डलाई ‘फकाउने’ प्रयास जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक २५ गते प्रचण्डलाई लेखेको १० पन्ने पत्रको अन्त्यमा भनेका थिए, ‘कमरेड प्रचण्डले मलाई बेलाबेलामा भन्ने गर्नुहुन्छ- मलाई फकाउनुस् न, म फकिने मान्छे, फकिन्छु नि ! कसरी र के भन्दा कमरेड फकिनुहुन्छ ? भन्नुस् न त !’

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रचण्डलाई फकाउन तयार रहेको बताउँदै पत्रको बिट मारेका थिए, ‘मुलुकको समृद्धिका लागि, जनताको खुसहालीका लागि, नेपाली कम्युनिस्ट आन्दोलनको अग्रगतिका लागि पार्टीलाई थप सुदृढ गर्नका लागि … हुन्छ । म तपाईंलाई फकाउन तयार छु । ल मैले फेरि फकाएँ… आउनुस् गुटबन्दी र दाउपेच छाडौं, हाम्रो यो प्यारो पार्टीलाई एकजुट बनाऔँ ।’

आफूलाई फकाउन तयार रहेको प्रधानमन्त्री ओलीको पत्रको जवाफमा कार्यकारी अध्यक्ष प्रचण्डले कात्तिक २८ गते लेखेको ७ पन्ने जवाफी पत्रमा यसो भनिएको थियो, ‘नयाँ आधारमा नयाँ एकता कायम गर्दै देश, जनता, पार्टी र आन्दोलनलाई नयाँ एकताका लागि कमरेडले थोरै मात्र आत्मसमीक्षा, आत्मालोचना र त्यागको स्पिरिट देखाउनुभयो भने त्यो ठूलो कुरा हुनेछ । मेरो विचारमा यो सबैका निमित्त थोरै त्याग गर्ने पालो तपाईंको छ । त्यति भएमा तपाईको पत्रको अन्तिममा भनेझैं न सजिलै फकिने छु ।’

केपी शर्मा ओली र प्रचण्डवीच बाहिर जतिसुकै भनाभन भए पनि शुक्रबारको बैठकयता ‘फकिने’ र ‘फकाउने’ सिलसिला भित्रभित्रै चलिरहेको छ । नेताहरुका अनुसार मंगलबार बिहान खुमलटारमा भएको महासचिव विष्णु पौडेल र प्रचण्डवीचको भेट अनि साँझ शीतल निवासमा भएको राष्ट्रपति र प्रचण्डवीचको भेटवार्ता त्यही फकाउने/फकिने सिलसिलाको कडी हो ।

शुक्रबारको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले अप्रत्याशित रुपमा केपी ओलीमाथि प्रहार गर्दै राजनीतिक प्रस्ताव र व्यक्तिगत पत्र दर्ज गराएपछि प्रधानमन्त्री ओली आक्रोशित र अचम्मित बनेका थिए । यही आक्रोशका वीच प्रधानमन्त्रीले बैठक सकिनासाथ माधव कुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेललगायतका नेताहरुसँग छुटट्ै छलफल गरे । र, अब प्रचण्डसँग सँगै हिँड्न नसकिने स्थितिको आँकलन गरे । तर, माधव नेपाल र वामदेव गौतमले समस्या केपी ओलीभित्रै रहेको बताएपछि उनी निरुत्तरित जस्तै देखिए ।

भोलिपल्ट शनिबारसम्म प्रधानमन्त्री ओली प्रचण्डलाई फकाउने ‘मुड’मा थिएनन् । शनिबार दिँउसो ओलीले उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटारमा बोलाएर डेढ घण्टा एक्लाएक्लै छलफल गरे । तर, त्यो छलफलमा पनि उपाध्यक्ष गौतमले प्रचण्डलाई फकाएर अघि बढ्नुको विकल्प प्रधानमन्त्रीलाई सुझाए ।

वामदेव गौतमसँगको छलफलपछि प्रधानमन्त्री ओलीले शनिबार बै बालुवाटारमा बरिष्ठ नेता माधवकुमार नेपालसँग दुईघण्टा छलफल गरेका थिए । सो छलफलमा पनि बरिष्ठ नेता माधव नेपालले प्रचण्डलाई समेत विश्वासमा लिएर अघि बढ्नुको विकल्प नरहेको पुरानो अडान दोहोर्‍याए । हुन त सो भेटमा प्रधानमन्त्री ओलीले प्रचण्डविरुद्ध आक्रोश नै पोखेका थिए ।

तर, आइतबार र सोमबार तिहार सकिनासाथ प्रधानमन्त्री ओली आफूले पत्रको अन्त्यमा लेखेजस्तै जसरी हुन्छ, प्रचण्डलाई फकाउने अन्तिम कसरतमा जुट्ने निश्कर्षमा पुगेको देखिएको छ । र, प्रधानमन्त्रीको त्यही संकेतका आधारमा महासचिव विष्णु पौडेल र राष्ट्रपछि विद्यादेवी भण्डारी प्रचण्डलाई ‘फकाउन’ जुटेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!