Monday, November 23, 2020
Home > समाचार > सकियाे ओली-प्रचण्डबीचको वान टु वान वार्ता, जुट्यो यस्तो सहमति! हेर्नुहाेस्

सकियाे ओली-प्रचण्डबीचको वान टु वान वार्ता, जुट्यो यस्तो सहमति! हेर्नुहाेस्

काठमाडौं । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा केन्द्रीत रहेर छलफल भएको बताइएको छ । छलफलमा ओली-प्रचण्डबीच सचिवालय बैठक बोलाउने सहमति जुटेको स्रोतले बतायो । यद्यपि बैठकको मिति भने तय भएको छैन । यसअघि दुई अध्यक्षबीच कात्तिक ४ गते छलफल भएको थियो ।

त्यसपछि पार्टीभित्र विवाद बढ्दै गएपछि छलफल रोकिएको थियो । पछिल्लो पटकको मन्त्रिपरिषद पुनर्गठन, राजदूत सिफारिस, अन्य नियुक्ति तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव लगायतका विषयमा प्रचण्ड ओलीसँग रिसाएका थिए ।

त्यसपछि ओली निकटका नेताहरु सन्देश लिएर पटक–पटक खुमलटार पुगेपनि प्रचण्डले छलफलका लागि बस्न मानेका थिएनन् । गत बुधबार ओली टिकट महासचिव विष्णु पौडेल र दिउँसो स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ प्रचण्ड निवास खुमलटार पुगेका थिए । त्यसपछि ओली निकटका नेताहरुले लगातार प्रचण्डसँग भेट गरिरहेका छन् ।

बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको सन्देश लिएर खुमलटार पुगेका थिए । शनिबार बालुवाटार जानुअघि बरिष्ठ नेता माधवकुमार नेपालसँग प्रचण्डले छलफल गरेका थिए ।

दुई अध्यक्षबीचको बढ्दो मनमुटावले नेकपाको केन्द्रीय कमिटी बैठक प्रभावित भएको छ । गत २६ भदौमा सकिएको स्थायी कमिटी बैठकले तत्कालका लागि पार्टीको अन्तरविरोध हल गर्दै कार्तिक १५ देखि १६ सम्मका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।

केन्द्रीय कार्यालयका सचिवद्धय श्रीराम ढकाल र इश्वरी रिजालले केन्द्रीय सदस्यलाई पठाएको सूचनामा ‘कार्तिक १५ गतेदेखि आयोजना गरिएको तेश्रो पूर्ण बैठक कोभिड–१९ महामारीका कारण स्थगित गरिएको’ उल्लेख छ । स्थगित बैठक बैठक आगामी मंसिर १५ देखि १७ मा आयोजना हुने सूचना दिइएको छ ।

तर, दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच उत्पन्न मतभेदले वैठक प्रभावित भएको सचिवालयका एक सदस्यले बताए । मन्त्रिपरिषद् हेरफेर, कर्णाली विवाद र रअ प्रमुखको नेपाल भ्रमणले ओली र दाहालबीच तिक्तता बढाएको हाे । कर्णाली विवादमा उनीहरुले भिन्दाभिन्दै निर्देशन जारी गरेका थिए ।

केन्द्रीय कमिटीको दोस्रो बैठकले तय गरेको मिति चैत २५ देखि ३०मा एकताको राष्ट्रिय महाधिवेशन काठमाडौँमा सम्पन्न गर्ने निर्णयअनुसार त्यसमाथि थप तयारीका लागि स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठक आयोजना गर्ने निर्णय गरेको थियो । ‘महाधिवेशनसम्बन्धी कार्ययोजना पारित गर्न कात्तिक १५ देखि १७ गते केन्द्रीय कमिटीको बैठक आयोजना गर्ने’ स्थायी कमिटीको निर्णयमा थियो । केन्द्रीय कमिटीको बैठक प्रभावित भएलगत्तै त्यहाँबाट गर्ने भनिएका काम रोकिने र त्यसले महाधिवेशन अनिश्चत गराउने केही नेताहरुको आंशका छ ।

केन्द्रीय कमिटीको बैठक अगाडि सचिवालयले महत्वपूर्ण निर्णय लिनुपर्ने भए पनि पार्टीभित्र बढ्दो अविश्वासले सचिवालय बैठक सम्भव भएको छैन् । स्थायी कमिटीमा केन्द्रीय कमिटीको बैठकका लागि केन्द्रीय सचिवालयबाट महाधिवेशन आयोजनाको तयारीका लागि दस्तावेज मस्यौदा कमिटी, मूल व्यवस्थापन कमिटीलगायत अन्य आवश्यक संरचना, प्रतिनिधि छनोट विधि र कार्यतालिका लगायत समग्र कार्ययोजना प्रस्तुत गर्ने निर्णय थियो ।

तर, यही एजेन्डामा केन्द्रित भएर स्थायी कमिटी बैठक बस्नै सकेन् । स्थायी कमिटीको बैठक सकिएपछि तीन पटक सचिवालयको बैठक बसेको छ । तर, महाधिवेशनलार्य एजेन्डा बनाएर भने बैठकमा छलफल भएको थिएन ।

महाधिवेशनको तयारीका लागि दस्तावेज मस्यौदा कमिटी, मूल व्यवस्थापन कमिटीलगायत अन्य आवश्यक संरचना, प्रतिनिधि छनोट विधि र कार्यतालिकालगायत कार्ययोजना निर्माणमा ढिलाई हुँदै चैत्रको महाधिवेशन अनिश्चत बन्ने नेताहरुको चिन्ता छ । त्यसमाथि पार्टी एकताको भावना एवम् मर्मअनुरूप सहमतिका साथ महाधिवेशन सम्पन्न गर्ने निर्णयले नेकपा हरेक कुरामा सहमति जुटाउनुपर्ने बाध्यतामा छ ।

नेकपाले महाधिवेशनसँग सम्बन्धित अन्य प्रक्रिया पार्टी विधानबमोजिम अवलम्बन गर्ने तथा महाधिवेशनबाट पार्टीका विचार, नीति, विधि, पद्धति एवम् नेतृत्व सुनिश्चित गर्ने र पार्टी एकतालाई सुदृढ तुल्याउने निर्णय लिएको छ ।

विचार, नीति तथा विधिलाई महाधिवेशन तयारीको महत्वपूर्ण विषयका रूपमा ग्रहण गर्ने र तदनुरूप मस्यौदा दस्तावेजहरू तयार गर्ने, मस्यौदा दस्तावेजहरू तयार भएसँगै वैचारिक, नीतिगत तथा विधिगत विषयमा पार्टीव्यापी बहस, छलफल सञ्चालन गर्ने नेकपाको निर्णय छ । केन्द्रीय कमिटी बैठक बस्न ढिलाई हुँदा यी काम पनि प्रभावित हुने नेताहरु बताउँछन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!