Monday, October 26, 2020
Home > समाचार > अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द

अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द

काठमाडौ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ । काठमाडौँ उपत्यकाभित्र कोभिड–१९ सङ्क्रमितको जोखिम बढेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा कोभिड–१९ को दर अत्यधिक बढिरहेकाले सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमा सेवाग्राहीको भीडभाड अत्यधिक भई सेवाग्राहीमा समेत फैलन सक्ने अवस्था भएको उहाँले उल्लेख गर्नुभयो ।

गत असोज २६ गते बसेको मन्त्रिपरिषद् बैठकले ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेको जिल्लाको कुनै पनि भागमा कुनै पनि सेवा रोक लगाउन सक्ने निर्णय गरेको थियो । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९०० नाघेकाले जिल्लाभित्रका सम्पूर्ण सरकारी कार्यालयका अत्यावश्यक बाहेकका सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जिल्ला प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र, सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकाय लगायतसितको छलफल, परामर्श एवम् निष्कर्षका आधारमा सेवा प्रवाह बन्द गरिएको हो । जिल्लाका नगरपालिकाहरुले समेत अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!