Friday, October 30, 2020
Home > जीवनशैली > कोरोना पजिटिभको रिपोर्ट झोलामा छ, फोक्सो नै फुट्ला जसरी खोक्छन्, सास फेर्दा घरघर आवाज आउँछ तर मान्छे सडकपेटीमा

कोरोना पजिटिभको रिपोर्ट झोलामा छ, फोक्सो नै फुट्ला जसरी खोक्छन्, सास फेर्दा घरघर आवाज आउँछ तर मान्छे सडकपेटीमा

टेकु अस्पतालले दिएको कोरोना पजिटिभको रिपोर्ट झोलामा छ । आँखा सुन्निएका छन् । फोक्सो नै फुट्ला जसरी खोक्छन् सास फेर्दा घरघर आवाज आउँछ । ६२ वर्षीय सोम बहादुर लामा आइसियूमा स्वास्थ्यकर्मीको निगरानीमा हुनुपथ्र्यो, तर घामले तात्तिएको सडक किनारमा भेटिन्छन । राजधानीको गौशाला र पुरानो बानेश्वरबीचको बत्तीसपुतली सडक । आइतबार मध्याह्न १२ बजेको चर्को घाम । कभर स्टोरी र समाचार हेर्न तलकाे लिङ्क क्लिक गर्नुहाेस्***

कालो ज्याकेट, निलो जिन्स पाइन्ट लगाएका सोमबहादुर लामा सडकपेटीको फुटपाथमा बसिरहेका छन् । काँधमा कालो झोला छ, झोलाभित्र कोभिड पजिटिभ भन्ने रिपोर्ट छ । ज्वरोले जिउ थरथर कामिरहेको छ । चर्को घाम र प्यासले मुख पनि प्याकप्याक भएको छ । रिँगटा लागेर ढल्छन् कि भन्ने डर छ । आफैँलाई सम्हाल्न उनी आँखा चिम्म गर्छन्, दुवै हातले टाउको समाउँछन् र लामो सुस्केरा हाल्छन् ।

मुहारबाट कान्ति हराएको छ । रातै भएका उनका आँखा सुन्निएका पनि छन् । फोक्सो नै फुट्ला जसरी खोक्छन् पनि । सास फेर्दा घरघर आवाज पनि आउँछ । विश्व स्वास्थ्य संगठनको गाइडलाइनअनुसार उनी यतिखेर अस्पतालको आइसोलेसनमा हुनुपथ्र्यो ।

ज्वरो अनियन्त्रित र सास फेर्न पनि गाह्रो भएकाले उनी अस्पतालको आइसियूमा स्वाथ्यकर्मीको निगरानीमा हुनुपथ्र्यो । तर, घामले तात्तिएको सडककिनारमा छन् सोमबहादुर लामा किनकि ‘उनी बेहोस भएका छैनन्’ । कोभिड नियन्त्रण र उपचारका लागि सरकारले तीन महिनाअघि नै १२ अर्ब खर्च गरिसक्यो । तर, एउटा कर्मशील नागरिक देशको राजधानीकै सडकमा जीवन र मृत्युसँग संघर्ष गरिरहेका छन् ।

बारा, निजगढ नगरपालिका– ८ का लामा ६२ वर्ष पुगे । डकर्मी÷सिकर्मीको सीप भएका उनको जीवन दुःखसुख चलेकै थियो । साथीहरूसँग मिलेर काठमाडौंको सामाखुसीमा कोठा लिएका थिए । तर, चैतमा पहिलो लकडाउन भएपछि उनको काम खोसियो, काठमाडौंबाट हिँडेरै निजगढ पुगे ।

चार महिना गाउँमा खाली बस्नुपरेपछि परिवारको पेट पनि खाली हुन थाल्यो । ‘काठमाडौंका धेरै मान्छे गाउँ फर्किएका छन्, यो वेला काम पाइएला भनेर असारमा यता आएको हुँ । पैसा कमाइएला भनेर पाँच सयको ठाउँमा हजार रुपैयाँ तिरेर आएको हुँ,’ उनी सुनाउँछन् ।

काठमाडौं आइपुगेपछि उनले साँखुमा काम पाए । तर, तीन दिन मात्र काम गरेपछि साहुले नयाँ अर्डर आएको छैन, आयो भने बोलाउँला भनेर कामबाट निकाले । फेरि काम सुरु हुने आशामा उनी १७ दिनजति साँखुमै बसे । तर, साहुको फर्निचरमा काम सुरु भएन ।

परिवार पाल्न रोजगारीको खोजी गर्दै राजधानी आएका सोमबहादुर आफै भोकै पर्न थाले । त्यसैले उनी जीवन जोगाउन काठमाडौंको मुख्य सहरतर्फ आए । केही रात पशुपतिमा बिताएपछि उनी मैतिदेवी आएर रोकिए जहाँ एउटा समूहले निःशुल्क खाना वितरण गरिरहेको छ । ‘घरमा कमाउने कोही छैन,’ बोल्दाबोल्दै खोक्न थाल्छन्, अनि रोकिएर भन्छन्, ‘दुई–चार पैसा लिएर आउँछु भनेर आएको, आफ्नै बिजोग भयो ।’ नयाँ पत्रिका बाट साभार

Leave a Reply

error: Please Dont Copy My Content!! !!