Friday, October 30, 2020
Home > जीवनशैली > सुदूरको हेल्थपोष्ट हाँकिरहेकि निर्मला, भन्छिन्, – ‘महिनावारी भएबापत ५ सय बढी भाडा तिर्नुपर्‍यो’

सुदूरको हेल्थपोष्ट हाँकिरहेकि निर्मला, भन्छिन्, – ‘महिनावारी भएबापत ५ सय बढी भाडा तिर्नुपर्‍यो’

निर्मला जोशी हेल्थ पोष्टको नेतृत्व गर्ने गरी बैतडीको डिलासैनी— ५ पुगेकी थिइन् । त्यतिबेला उनी केवल २१ वर्षकी मात्रै थिइन् । भर्खरै लोकसेवा पास गरेर स्थायी भएकी उनले त्यसअघि केही महिना स्वास्थ्य चौकीमा बिरामी उपचारको अनुभव बटुलेकी थिइन् । तर, हेल्थ पोष्टका अन्य प्रशासनिकलगायत सबै जिम्मेवारी सम्हाल्नु परेको पहिलो पटक थियो । बैतडीका ६८ वटा स्वास्थ्य चौकीमध्ये महिलाहरुले मात्रै हाँकेको स्वास्थ्य चौकी त्यही एक हो ।

निर्मलासहित यो हेल्थ पोष्टमा काम गर्ने अहेब निर्मला नाथ, अनमीहरु नारायणी जोशी, पदमा चन्द र ललिता जोशी सबै महिला छन् भने वडा नं. ६ को वर्थिङ सेन्टरमा अनमीहरु गीता साउँद र आरती नाथ कार्यरत छन् । युवा निर्मलाले नेतृत्व गरेको ७ जनाको यही टिम कोभिड—१९ महामारीमा पनि खोप, क्वारेन्टाइन व्यवस्थापन, वर्थिङ सेवादेखि नियमित स्वास्थ्य सेवामा डटेर काम गर्‍यो । यो अवधिमा उनीहरुले भारतबाट फर्किएका ३ सय ५० जनालाई १४ दिन क्वारेन्टाइनमा व्यवस्थापन गरेर स्वास्थ्य परीक्षणपछि घर फर्काए । २५ जना महिलालाई गर्भवती सेवा लिए, अन्य स्वास्थ्य सेवा लिनेहरु पनि उत्तिकै थिए ।

दुर्गमका स्वास्थ्यका आफ्नै समस्याहरु छन् । जनशक्तिको अभाव, घरायसी समस्या, पर्याप्त साधन—स्रोतको अभावमै स्वास्थ्यकर्मी जोखिम मोलेरै काम गरिरहेका हुन्छन् । व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) एउटा मात्रै थियो । लामो समयसम्म त्यसबाट काम गरेपछि त्यो डिस्पोज गरियो । त्यसपछि फ्रन्टलाइनर निर्मलाले नेतृत्व गरेको स्वास्थ्यकर्मीको टोली मास्क र पन्जाका भरमा काम गर्न थाल्यो । तर, अभावकाबीच स्थानीय र गाउँलेहरुसँग काम गर्दा उनी खुशी छिन् । भन्छिन्, ‘तीन वर्षदेखि म यही काम गरिरहेकी छु । स्थानीयको सेवामा खटिन पाउँदा खुशी छु ।’ उनले जनस्वास्थ्य कार्यलय, गाउँपालिका, वडा कार्यलय र स्थानीयको सहयोगमा आफूहरुले सहज रुपमा काम गर्न सकेको भन्दैं धन्यवाद समेत व्यक्त गरिन् ।

डिलासैनी—७ खेतागाउँमा मध्यवर्गीय परिवारमा जन्मिएकी हुन्—निर्मला । उनका बुवा कृपादत्त जोशी शिक्षक हुन भने आमा धना जोशी अनमी थिइन् । गाउँका मानिसहरु टाउको दुख्दा, पेट दुख्दा, ज्वरो आउँदा उनको घरमा औषधिका लागि आइपुग्थे । एउटा औषधिमय वातावरणमा उनी हुर्किइन् । श्री शिक्षाकेन्द्र उच्च मावि धामीगाउँमा पढिरहेकी निर्मलाको मनमा पनि विस्तारै औषधि प्रेम अकुंराउन थाल्यो । अनमी आमा मेडिसिन पढ्न छोरीलाई हौस्याइरहिन् । कृपादत्त र धनाका ५ वटा सन्तानमध्ये जेठी निर्मलाले ९ कक्षामै एचए पढ्ने निधो गरिसकेकी थिइन् ।

त्यो बेला गाउँमा एचए पढेका कोही थिएनन् । त्यही कारण निर्मलालाई फरक विषय पढ्ने जागर चलेको थियो । वि.सं. २०६७ सालमा त्यही स्कुलबाट एसएलसी पास गरिन् । सुदूरका पहाडी सबै जिल्लाहरुमा प्राविधिक शिक्षा पढ्ने शिक्षालयको अभाव छ । त्यही कारण निर्मला एचए पढ्नकै लागि भनेर महेन्द्रनगर झरिन् । महेन्द्रनगरको फारवेष्ट स्कुल अफ मेडिसिनमा उनले एचएका लागि इन्ट्रान्स दिइन् । निर्मलालाई लागेको थियो औषधि त मैले घरमै चिनेको छु पढाइमा गाह्रो नहोला । तर, उनले जे सोचेकी थिइनन्, त्यो भयो । इन्ट्रान्स पास भएपछि बल्ल उनले यो कुरा थाहा पाइन् ।

‘९—१० कक्षामा पढ्दा एचए पढाइका विषयमाजस्तो सोचेको थिए, त्यस्तो रहेनछ,’ उनले सुनाइन्, ‘पहिलो र दोस्रो वर्षमा पढ्न अप्ठ्यारो ।’ तर, उनले कडा परिश्रम गरिन् । परिणाम नै मान्नुपर्छ, उनले २०७१ सालमा एचए उत्तीर्ण गरिन् । एचए पास गरेपछि उनी लोकसेवा तयारीका लागि भनेर काठमाडौं आइन् । लोकसेवा पनि अन्योल भएपछि घरमा बस्दा—बस्दा उनी हैरान भइसकेकी थिइन् । ०७३ मा सुुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले करारमा पाँचौ तहका एचए माग गर्‍यो । निर्मलाले पनि परीक्षा दिइन् । उनको करारमा नाम निस्कियो । करार जागिरे जीवनको पहिलो पोष्टिङ बैतडीको विकट ठाउँ मेलौलीको शिवनाथ हेल्थ पोष्टमा भयो । दुर्गमको पीडाः जहाँ महिनावारी भए बापत पाँच सय बढी भाडा घरबाट टाढा भएकाले जाने की नजाने भन्ने अन्योल भयो ।

अभिभावकले करारमा त्यहाँ नगएर लोकसेवाको तयारी गर्न सुझाए । तर, आफ्नो पढाइमा राम्रै पैसा खर्च भएको देखेकी निर्मला त्यतिकै बस्ने मुडमा थिइनन् । त्यसैले उनी शिवनाथ हेल्थ पोष्टको कमाण्ड सम्हाल्न त्यसतर्फ लागिन् । मेलौली पिएचसीमा डेढ महिना बसेर उनी शिवनाथ धाइन् । त्यहाँबाट उनी पोष्टिङ भएको स्वास्थ्य चौकी पुग्न डेढ घण्टा लाग्थ्यो । तलमाथि गर्दै हैरान भएपछि उनले शिवनाथ नै गएर बस्ने मुड बनाइन् । उनी जानुभन्दाअघि शिवनाथ स्वास्थ्य चौकी एक जना अहेबले चलाइरहेका थिए । अनमीहरु हेल्थ पोष्टबाट टाढा—टाढा बस्थे । हेल्थ पोष्टका तीन वटा कोठा थिए, ती सबै बिरामी हेर्ने र प्रशासनिक कामका लागि पर्याप्त थिए । त्यसकारण त्यहाँ बस्ने व्यवस्था थिएन् ।

अब के गर्ने ? दुर्गम भएकाले फोन पनि नलाग्ने । बस्ने ठाउँमा उचित प्रबन्ध भएन । उनी भाडामा कोठामा खोज्न थालिन् । तर, ‘महिनावारी हुन्छ’ भनेर कसैले कोठा दिन मानेनन् । एक जना अहेबले चलाइरहेको मेडिकलको भुइँतलामा उनले बल्लतल्ल बस्नका लागि ठाउँ पाइन् । त्यो ठाउँ बस्तीभन्दा अलि टाढा बाटैमा पर्थ्यो । पहिलो दिन त साँझपख मेडिकल बन्द भएपछि उज्यालो समेत पाइनन् । ‘पहिलो रात म नसुतेर टर्च बालेर बसे,’ उनले सुनाइन्, ‘त्यो रात निकै डर लाग्यो । बस्तीबाट टाढा र बाटैको घर भएकाले निस्सासिएजस्तो भयो ।’ जागिरको पहिलो पोष्टिङका क्रममा शिवनाथ पुगेकी उनी केही दिन त्यहाँ डरसँग जुझ्दैं बसिन । तर, विस्तारै उनमा ‘अब यहाँ बस्न सकिदैंन्’ भन्ने सोच पलाउन थाल्यो । त्यो बेला त्यहाँ ‘आरभीडब्लूआरएमपी’ नामक एक खानेपानी प्रोजेक्ट चलेको थियो । त्यसमा काम गर्ने केही कर्मचारी त्यही गाउँमा डेरा गरेर बसेका थिए ।

चिनजान भएपछि एक दिन उनीहरुले भने, ‘बहिनी के छ हालखबर ? काम कस्तो चल्दैछ ?’ एक्लै बस्तीभन्दा पर टाढाको घरको भुइँतलामा बसिरहेकी निर्मलाले आफू फर्किन लागेको बताइन् । भनिन्, ‘यहाँ अप्ठ्यारो छ । छोडेर जान्छु । गाउँमा बस्ने डेरा पनि पाइएन । यो डेरा बस्तीभन्दा टाढा भयो ।’ उनीहरुले निर्मलालाई ‘केही दिनमा डेरा मिलिहाल्छ’ भनेर थम्थम्याए । उनका लागि कोठामा व्यवस्था गर्न पनि उनीहरुले सहयोग गर्न थाले । तर, गाउँलेहरु कोठाको कुरा गर्दा ‘महिनावारी हुन्छ, हामीलाई देउता लाग्छ’ भनेर पन्छिन् थाले । निर्मलालाई आफ्नो घरमा डेरा दिन तयार भएनन् । बाहुनकी छोरी हुन् भनेर निकै सम्झाएपनि गाउँलेहरुले डेरा दिन मानेनन् । निकै लामो समय कन्भिन्स गरेपछि मात्रै डेरा दिन राजी भए । तर, उनले डेराको मूल्य ती कर्मचारीहरुले तिरिरहेको भन्दा ५ सय बढी । ‘उहाँ दाइहरुले १ हजार भाडा तिरिरहनुभएको थियो । तर, मलाई १५ सय लगाइयो,’ उनले भनिन्, ‘एक पटक महिनावारी भएको ५ सय रुपैयाँ ।’ त्यो खानेपानी प्रोजेक्टमै काम गर्ने कर्मचारीसँगै मेसमा खाना खान थालिन् । बस्तीमा डेरा र मेसमा खाना खाने वातावरण बनेपछि उनलाई काम गर्न सहज भयो । गोकुलेश्वर स्वास्थ्य चौकीको नेतृत्व झण्डै १ वर्ष शिवनाथ स्वास्थ्य चौकीमा करारमा काम गरिन् । ०७३ को जेठमा लोकसेवा पाँचौ तह हेल्थ असिस्टेन्ट (हेअ)को लिखित परीक्षा भयो । (फोटाे तथा समाचार सत्यसमाचार डटकमबाट सम्पूर्ण महिला दिदीबहिनीहरूकाे समर्पणमा साभार गरिएकाे छ ।)

Leave a Reply

error: Please Dont Copy My Content!! !!