Sunday, January 24, 2021
Home > समाचार > दुःखद खबरः विश्वभरी कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दश लाख

दुःखद खबरः विश्वभरी कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दश लाख

एजेन्सी, १३ असोज । विश्वभरी कोरोना भाइरसबाट मृत्यु भएकाहरुको सङ्ख्या दश लाख भन्दा बढी पुगेको छ ।विश्वलाई नै प्रभावित पार्नेगरी नौ महिना अगाडिदेखि फैलिएको महामारीका कारण मानवीय क्षतिसँगै अन्य क्षेत्रमा पनि व्यापक नोक्सानी भएको छ ।कोरोना महामारीले विश्व अर्थतन्त्रलाई नराम्रोसँग गाँजेको छ भने विश्वका नेताहरुको परीक्षा लिएको छ । त्यसैगरी विज्ञानलाई पनि कोरोना महामारीले चुनौती दिदै निरिह बनाएको छ ।

“मृत्यु भएकाहरुको यो केबल सङ्ख्या मात्रै होइन, यसमा मानवीयताको कुरा छ, लाखौ मानिसको प्रेम जोडिएको छ, त्यसैले पनि यो धेरै फराकिलो र गहिरो छ,” चिकित्सा इतिहासका प्राध्यापक होवार्ड मर्केलले भन्नुभयो । मिचिगन विश्वविद्यालयमा कार्यरत मर्केलले यही कोरोना महामारीकै क्रममा ८४ बर्षिया आफ्नी आमालाई गुमाउनु भएको थियो । “निधन भएकाहरुको सङ्ख्यामा कोही हाम्रा दाइ छन्, कोही भाइ छन्, कोही हाम्रा दिदिबहिनी छन्, कोही बुवा आमा हुनुहुन्छ, त्यसैले यसले धेरैलाई प्रभावित पारेको छ ।

हामीमा मानवीयता छैन भने मात्रै यो सङ्ख्याले कुनै असर पार्दैन, नत्र यसले विक्षिप्त पार्दछ,” उहाँले भन्नुभयो । जोन हकिङ्स विश्वविद्यालयले सोमबार सार्वजनिक गरेको मृतकहरुको सङ्ख्या जेरुसेलम वा अस्टीनकोभन्दा धेरै भएको पनि उहाँले बताउनुभयो । त्यसैगरी सन् २००४ मा हिन्द महासागर क्षेत्रमा आएको भूकम्प र आँधीले गरेको क्षतिभन्दा धेरै मानवीय क्षति भएको पनि उल्लेख गरिएको छ । औसतमा दैनिक पाँच हजार मानिसको कोरोनाभाइरसका कारण मृत्यु भइरहेको विवरणहरु सार्वजनिक भइरहेका छन् ।

बेलायत र युरोपेली मुलुकहरुमा महामारीको दोस्रो चरण चलिरहेको छ । संसारका अधिकांश देशहरुमा अहिले पनि दैनिक रुपमा हजारौ मानिसको मृत्यु भइरहेको छ । पछिल्लो विवरण अनुसार कोरोनाका कारण विश्वभरी कुल मृतकको सङ्ख्या दश लाख छ हजार ४७१ पुगेको छ ।

त्यसैगरी कुल सङ्क्रमितको सङ्ख्या भने तीन करोड ३५ लाख ५७ हजार ९५९ पुगेको अधिकारीहरूले जानकारी दिएका छन् । कुल सङ्क्रमितमध्ये दुई करोड ४८ लाख ८२ हजार १८६ जना सङ्क्रमणमुक्त भएका छन् भने ७६ लाख ६९ हजार ३०२ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

कुल सङ्क्रमितमध्ये ६५ हजार ३२५ जना मात्रै गम्भीर अवस्थामा छन् भने अरु ७६ लाख तीन हजार ९७७ जनाको अवस्था सामान्य रहेको छ । सङ्क्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् भने त्यसपछि भारत, ब्राजिल, रुस कोलम्बीया, पेरु, स्पेन, मेक्सिको, अर्जेन्टीना र दक्षिण अफ्रिका क्रमशः अग्र दश मुलुकमा रहेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!