Friday, September 25, 2020
Home > जीवनशैली > हामी त बल्लतल्ल बाँच्याै तर साथी गुमाउनुको पीडा…

हामी त बल्लतल्ल बाँच्याै तर साथी गुमाउनुको पीडा…

घरबाट निस्कँदा ढोरपाटन पुग्ने निधो थिएन । घुम्ने रहर न हो–कृष्ण, दिलु खड्का, इन्द्र र नवीन भण्डारी बुधबार मध्यान्ह मोटरसाइलमा हुँइकिए । गलकोटदेखि मध्यपहाडी लोकमार्ग हुँदै बुर्तिबाङ बजार पुगे । खाजा खाइवरी त्यहाँबाट अघि बढ्ने योजना बुने । पहिले ढोरपाटन जाने सल्लाह भयो । सडक बिग्रेको थाहा पाएपछि निसीखोला हुँदै रुकुमसम्म पुग्ने सोच बनाए । रुकुमतर्फको सडक पनि अबरुद्ध भएको खबर साथीबाट पाए ।

त्यसपछि फेरि ढोरपाटनतिरै यात्रा तय गर्ने बरु जहाँसम्म सडक राम्रो छ त्यहाँ पुग्ने र फर्किने निचोड निकाले । सालझण्डी–ढोरपाटन कच्ची सडक हुँदै उनीहरुको यात्रा अघि बढ्यो । दुई मोटरसाइकलमा चारजना सवार थिए । शुरुमा बोबाङसम्म भएपनि पुगौँ भनेर बुर्तिबाङबाट हिँडेको कृष्णले सुनाउनुभयो । “बोबाङसम्म पुग्दा सडक ठीकै लागेपछि अझै अघि जाऔँ भन्ने लाग्यो”, उहाँले भन्नुभयो, “साँझ ५ बजेतिर हामी लाकुँरीबोट भन्ने ठाउँमा पुग्यौँ ।”

लाँकुरीबाट ढोरपाटन नगरपालिका–९ मा पर्छ । उनीहरु त्यहाँ पुग्दानपुग्दै पानी पर्न थाल्यो । वर्षा रोकिने छाँटकाँट नदेखिएपछि गाउँलेको होटलमा ओत लागे । “फल्लेघरसम्म पुगेर बास बसौँ, त्यहाँबाट हिँडेरै भएपनि ढोरपाटन पुगिन्छ भन्ने सोचेका थियौँ तर होटल पनि नयाँ र केही व्यवस्थित लागेपछि लाकुँरीबोटमै बसियो”, कृष्णले भन्नुभयो ।

“हामी खाना खान तल झर्दैँ थियौँ, त्यतिबेला होटलभित्र भल पसिसकेको रहेछ”, उहाँले भन्नुभयो, “नजिकै खोला भएकाले थप जोखिम हुने हो कि भनेर होटल सञ्चालक र छिमेकीसहित बाहिरको अवस्था हेर्न निस्कियौँ ।”

भुजीखोलाको बहावले होटलदेखि अलि माथि रहेको झोलुङ्गे पुल छुन लाइसकेको थियो । कृष्ण र उहाँका साथीहरुले घरमा क्षति हुन सक्ने भन्दै होटल सञ्चालकलाई बालबच्चा र सरसमान बाहिर निकालेर सुरक्षित हुन सुझाव दिए । उनीहरुले पनि होटलभन्दा माथि अग्लो ठाउँमा रहेको घरमा मोटरसाइकल राख्ने र त्यही जोगिएर बस्ने उपाय निकाले ।

कृष्णले मोटरसाइकल त्यहीँ छाडेर आफू बारीको कान्लो उक्लेर माथितिर भागेको बताउनुभयो । दिलु र इन्द्र पनि ज्यान जोगाउन सुरक्षित ठाउँतिर लागे । एक घण्टापछि बल्ल कृष्ण, दिलु र इन्द्रको भेट भयो । नवीन भने सम्पर्कमा आउनुभएन । “पाँच सेकेण्डले बाँच्यौँ, नत्र हामीलाई पनि बाढीले बगाउने थियो”, कृष्णले भन्नुभयो । मोटरसाइकलबाट सुरक्षित स्थलतर्फ जान लाग्दा नवीन भने बाढीमा बेपत्ता हुनुभएको छ । मोटरसाकइलसमेत भेटिएको छैन ।

बाढीले कृष्णको मोटरसाइकल पनि बगाएको छ । राति करिब ११ बजेतिर बाढी बस्तीतिर पसेको कृष्णले बताउनुभयो । उहाँले कल्पना नगरेको घटना आँखा अघिल्तिर भएको उल्लेख गर्नुभयो । “पहिलोपटक गएका थियौँ, भूगोल कस्तो छ, थाहा थिएन, माथि जाऔँ भीर, तल खोला ज्यान जोगाउन पनि कठिन भयो”, उहाँले भन्नुभयो ।

नवीन बाढीमा बेपत्ता भएको खबर पाए लगत्तै खोजी र उद्धारका लागि गलकोटबाट वडाध्यक्षसहितको टोली घटनास्थल पुगेको थियो । सकुशल रहेका तीन जनालाई उद्धार गरी बुर्तिबाङमा राखिएको गलकोट नगरपालिका–३ का वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताउनुभयो । बेपत्ता नवीनको खोजी कार्य चलिरहेको उहाँको भनाइ थियो ।

नवीन गलकोट नगरपालिका–४ र अन्य तीनजना वडा नं ३ का हुनुहुन्छ । उहाँहरु बसेको लाँकुरीबोटको होटलमा पनि बाढीले क्षति पुर्याएको छ । वस्तुभाउ बगाएको छ । मानिस भने भागेर बाच्न सफल भएका छन् । त्यहाँका दर्जन बढी घर बाढीले क्षतिग्रस्त बनेका छन् । केही स्थानीयवासी बेपत्ता छन् ।

बाढीपहिराले ढोरपाटन नगरपालिका–९ लाँकुरीबोट, सुप्राङ, भुसुण्डे, फल्लेघर, दुनेपँधेरालगायतका बस्तीमा ठूलो जनधनको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म बाढीमा ज्यान गुमाएका १४ जनाको शव फेला परेको छ भने बेपत्ताको संख्या एकिन हुन सकेको छैन ।

बेपत्ताको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिँह भण्डारीले बताउनुभयो । बाढीले विद्यालय, सडक, झोलुङ्गे पुल, लघुजलविद्युत्, खानेपानी आयोजनालगायतका भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ । बाढीग्रस्त क्षेत्रका मानिस राहत र पुनःस्थापनाको पर्खाइमा छन् । स्रोत्:रेडियोगलकोट (रासस)

Leave a Reply

error: Please Dont Copy My Content!! !!