Friday, September 18, 2020
Home > समाचार > पाटनकाे जात्रा जात्रैजात्रा, हेर्दा हेर्दै यस्तो बिकरात बन्यो, किन?

पाटनकाे जात्रा जात्रैजात्रा, हेर्दा हेर्दै यस्तो बिकरात बन्यो, किन?

पाटनको सबभन्दा ठूलो सांस्कृतिक उत्सव रातो मच्छिन्द्रनाथको जात्रामा यसपालि ‘जात्रै’ भयो। एक त कोरोना महामारीबीच रथयात्रा हुने कि नहुने टुंगो नलाग्दै रथ बनाउने अनुमति दिइयो। दोस्रो, अन्यौलबीच नै बुंगद्यः (रातो मच्छिन्द्रनाथ) लाई रथमा विराजमान गराइयो र महिनौंदेखि सडकमा अलपत्र छाडियो।

त्यतिले नपुगेर, रातो मच्छिन्द्रनाथका मूल पुजारीले ‘कर्फ्यू लगाएर भए पनि जात्रा सम्पन्न गरौं’ भनी लिखित आग्रह गर्दागर्दै स्थानीय निकाय र प्रशासनबाट सुनुवाइ भएन। यी सबैको नतिजा हो बिहीबारको घटना, जब निशेधाज्ञा तोड्दै सयौं संख्यामा भेला भएका स्थानीय र गुठियारहरूले रथ तानेर बीच सडकमा ल्याए। प्रहरीले रोक्न खोज्दा पनि भीडले टेरेन।

स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा चलाए, अश्रुग्यास हाने।। जवाफमा आक्रोशित भीडले प्रहरीमाथि ढुंगा बर्सायो, मोटरसाइकल तोडफोड गर्‍यो। एक जना ट्राफिक प्रहरीलाई त लखेट्दै लखेट्दै निर्घात कुटपिट गर्‍यो। घाइते प्रहरीले ‘हेल्मेट फुस्केको भए आफ्नो ज्यान जान सक्ने’ समेत बताएका छन्।

संस्कृति, सभ्यता र परम्परासँग जोडिएको रातो मच्छिन्द्रनाथका नाममा पाटनको पुल्चोक क्षेत्र क्षणभरमै तनावपूर्ण बन्यो। उल्लासमय हुनुपर्ने जात्रास्थल रणमैदानमा परिणत भयो। पाटनमा नहुनु भयो । जे भयो, त्यो स्थानीय सरकार, प्रशासन र जात्रा आयोजकबीच समयमै तालमेल नहुनुको दुष्परिणाम हो।

यस्तै हुन सक्थ्यो काठमाडौंको वसन्तपुर क्षेत्रमा पनि, यदि समयमै सबै पक्षसँग छलफल गरेर जात्रा रोक्ने निर्णय नगरिएको भए। हामी सबैलाई थाहा छ, पाटनले जस्तै काठमाडौंले पनि यसपालि आफ्नो सबभन्दा ठूलो सांस्कृतिक उत्सव येँया पुन्ही, अर्थात् इन्द्रजात्रा ‘मिस’ गरेको छ। कोरोना महामारी नहुँदो हो र लकडाउनले हामी घरमै लक नहुँदा हौं त यति बेला इन्द्रजात्रामा रमिरहेका हुन्थ्यौं।

यति ठूलो जात्रा नहुँदा पनि काठमाडौंमा विरोधको स्वर चुइँक्क सुनिएन। न कसैले आक्रोश पोखे। बरू हरेक वर्ष मनाउँदै आएको जात्रा मिस गर्दै सर्वसाधारणले सामाजिक सञ्जालमा पुराना तस्बिर र भिडियोहरू सेयर गरे। इन्द्रजात्राप्रति सबैको सहानुभूति अभूतपूर्व रूपमा व्यक्त भयो।

जात्रापर्व भनेको मान्छेको संवेदनासँग जोडिएको कुरा हो। अलिकति पनि तलमाथि भयो भने मान्छेको हृदयमा चोट पुग्छ। त्यो चोटलाई समयमै मह्लमपट्टी गरिएन र सहमतिपूर्वक विकल्पको बाटो खोजिएन भने आक्रोशको रूप लिन सक्छ। बिहीबार पाटनको सडकमा त्यही आक्रोश पोखिएको हो।

काठमाडौंले भने यसलाई सफलतापूर्वक ‘ह्यान्डल’ गर्दा पाटनको जस्तो नियति बेहोर्नुपरेन। आखिर काठमाडौंले यति ठूलो घटनालाई कसरी शान्तिपूर्वक ह्यान्डल गर्‍यो? को थियो यसको पछाडि, जसले यति ठूलो जात्रा नमनाऊँ भनेर सबैलाई सहमतिमा ल्याए? यसको श्रेय जान्छ, इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यलाई।

उनी कुमारीघरका संरक्षकसमेत हुन्। ‘जीवित देवी’ कुमारीको दैनिक स्याहारसुसार र लालनपालन गौतमकै परिवारको जिम्मेदारी हो। उनले इन्द्रजात्रा मनाउने कि नमनाउने भनेर सम्बन्धित गुठियारहरूसँग तीन महिना अघिदेखि छलफल सुरू गरेका थिए।

त्यति बेला कोरोना लकडाउन खुकुलो थियो। काठमाडौं उपत्यकाको संक्रमित संख्या पनि अहिलेजस्तो ह्वारह्वार्ती बढेको थिएन। त्यही भएर सकेसम्म जात्रा चलाउनैपर्छ भन्ने धेरै गुठियारको राय थियो। त्यसैबीच सामान्य ढंगमा भए पनि गाईजात्रा सम्पन्न भयो। यसले इन्द्रजात्रा आयोजकहरू हौसिए।

इन्द्रजात्राको सुरूआत हनुमानढोका दरबारअगाडि यःसि अर्थात् लिंगो गाडेर हुन्छ। यसनिम्ति भक्तपुरको नालाबाट रूख काटेर ल्याउनुपर्छ। साइत हेरेर पहिले नै रूखमा चिनो लगाउन जाने चलन छ। इन्द्रजात्रा मनाउने तयारीस्वरूप सम्बन्धित गुठियारहरूले रूखमा चिनो लगाएर आइसकेका थिए। यसबाहेक कुन दिन लिंगो ठड्याउने, कुन दिन कहाँ रथयात्रा चलाउने भन्ने साइत पनि तय भइसकेको थियो।

तर, हेर्दाहेर्दै समय विकराल भयो।

परिस्थिति विचार गरेर व्यवस्थापन समितिका अध्यक्ष शाक्यले साउन ३० गते खुसीबुको नेपाः ब्याङ्क्वेटमा गुठियारहरूको भेला डाके। उक्त बैठकमा इन्द्रजात्रासँग सम्बन्धित २९ गुठी खलःका प्रतिनिधिले भाग लिएका थिए।

‘तुरुन्तै निर्णय लिइएन भने जति दिन घर्किँदै जान्छ, मान्छेलाई जात्रा हुन्छ कि हुन्न भनेर अन्यौल बढ्छ। पछि जात्रा हुन्न भन्यो भने स्थानीयको चित्त दुख्छ। त्यसैले हामीले जात्रा गर्ने कि नगर्ने भनेर समयमै निर्णय गर्नुपर्छ,’ बैठकमा शाक्यले भने।

उनले यो पनि भने, ‘जात्रा नगरौं भन्न सजिलो छैन। श्रद्धालुहरूको मनमा चोट पुग्छ। तर, अहिलेको कठिन परिस्थितिमा हामीले यसपालि जात्रा नगरौं, अर्को वर्ष धूमधामका साथ मनाऔंला भनेर सबैलाई सम्झाउनुपर्छ। त्यसको निम्ति सबभन्दा पहिला गुठियारहरूले नै यो कुरा बुझेर कठिन निर्णय लिन तयार हुनुपर्छ।’

उनको कुरामा अनेक टिप्पणी भए।

सबै विधि पूरा गर्न नसके पनि केही निश्चित उत्सव मात्र मनाउन सकिन्छ कि भनेर पनि कुराकानी भयो। तर, एकाध उत्सव गरेर अधकल्चो इन्द्रजात्रा मनाउनु व्यर्थ हो भन्नेमा गुठियारहरू सहमत भए।

काठमाडौं उपत्यकामा दैनिक दुई सयभन्दा बढी कोरोना संक्रमित थपिन थालेको समय थियो। देशकै नयाँ ‘हटस्पट’ बनेका बेला इन्द्रजात्राजस्तो ठूलो पर्व मनाउनु जोखिमपूर्ण हो भन्नेमा गुठियारहरूको मत मिल्यो।

सात दिन चल्ने उत्सव मनाउन लाखौंको संख्यामा मान्छे सडकमा निस्कन्छन्। यो समय कुमारी रथयात्रा मात्र हुँदैन, लाखे नाच पनि गरिन्छ, देवी नाच हुन्छ, महाकाली नचाइन्छ। पुलुकिसीलाई टोल–टोल घुमाइन्छ। पितृहरूका नाममा चोक–चोकमा बत्ती बालेर उपाकू यात्रा पनि गरिन्छ।

‘इन्द्रजात्रा मनाउनु भनेको यी सबै उत्सव गर्नु हो। प्रत्येक उत्सवमा लाखौं सहभागी हुन्छन्। यति धेरै मान्छे एकैचोटि सडकमा निस्कँदा हामी संक्रमण फैलिनबाट कुनै हालतमा रोक्न सक्दैनौं,’ शाक्यले बैठकमा भएको छलफलबारे जानकारी दिँदै सेतोपाटीसँग भने, ‘अधकल्चो जात्रा मनाएर यसको मर्म पूरा हुँदैन। त्यसैले हामीले राष्ट्रिय संकट विचार गरेर इन्द्रजात्रा नमनाउने निर्णय गर्‍यौं।’

त्यही बैठकले सरकारी प्रतिनिधि र स्थानीय जनप्रतिनिधिसँग पनि यसबारे छलफल गर्ने सहमति गर्‍यो। गुठियारहरू भोलिपल्टै काठमाडौं महानगरपालिका र गुठी संस्थानसँग कुराकानी गर्न गए।

‘तपाईंहरूले ठिक कुरा गर्नुभो, अहिले चार जना मान्छे पनि जमघट गर्न गाह्रो छ। यस्तो बेला इन्द्रजात्रा गर्दा संक्रमण चौगुना हुन्छ,’ गुठी संस्थान प्रमुखको भनाइ उद्धृत गर्दै शाक्यले भने।

उनका अनुसार, औपचारिक जात्रा नभए पनि मन्दिरहरूमा नित्यपूजा गर्न साविकबमोजिम आर्थिक सहयोग जारी राख्ने गुठी संस्थानले सहमति जनायो।

गुठियारहरू त्यसपछि यही कुरा लिएर काठमाडौं जिल्ला प्रशासन कार्यालय गए। त्यहाँ उनीहरूले सहमति गरे– इन्द्रजात्रा नगर्ने भनी सरकारको तर्फबाट विज्ञप्ति निकाल्ने र त्यसमा गुठियारहरूले सहमति जनाउँदै अर्को विज्ञप्ति निकाल्ने।

‘हामीले सबैको सहमतिमा भीडभाड हुने गतिविधि नगर्ने, देवी–देवतालाई सार्वजनिक स्थानमा प्रदर्शनमा नराख्ने, तर मन्दिरभित्र नित्यपूजा जारी राख्ने निर्णय गर्‍यौं,’ शाक्यले भने।

यसरी २९ वटै गुठीः खलहरूलाई सहमतिमा लिएर इन्द्रजात्रा स्थगित भयो।

विधिपूर्वक जात्रा नभए पनि सबै मन्दिरमा क्षमापूजा जारी छ। हरेक दिन कुमारी, गणेश, भैरवसहित आकाशभैरव, पुलुकिसी, लाखे लगायतको नित्यपूजा पनि भइरहेको शाक्यले जानकारी दिए।

इन्द्रजात्रामा नचाइने लाखे आजुको नित्यपूजा गरिँदै। तस्बिर सौजन्य: जयदास रञ्जित
यति मात्र होइन, इन्द्रजात्राको पहिलो दिन भदौ १४ गते कुमारी घरमा कुमारी, गणेश र भैरवलाई सँगसँगै राखेर पूजा गर्नुपर्ने थियो। सुरूमा यो पूजा नगर्ने भनिएको थियो। अन्तिममा सामाजिक दुरी राखेर भए पनि गर्नुपर्छ भनेर गुठियारहरूले भने। उनीहरूकै रायअनुसार सुरक्षित ढंगले पूजा गरियो।

इन्द्रजात्रामा कुमारी रथयात्रा गर्दा अगाडि–अगाडि गणेश र भैरवको छुट्टाछुट्टै रथ हुन्छ। जसरी कुमारी ‘जीवित देवी’ हुन्, त्यस्तै ‘जीवित देव’ मा पर्छन् गणेश र भैरव।

‘यी तीनै जना देवी–देवतालाई सँगै राखेर पूजा गरेपछि इन्द्रजात्राको औपचारिक सुरूआत हुन्छ। हामीले सामाजिक दुरी राखेर यो पूजा सम्पन्न गर्‍यौं,’ शाक्यले भने, ‘सामान्य अवस्थामा राति १० बजेतिर हुने यो पूजा यसपालि कोरोना महामारीका कारण दिउँसो २ बजे नै गरिएको थियो।’

जात्रा नमनाउने गुठी खल:हरूको निर्णयमा स्थानीयले पनि शान्तिपूर्वक साथ दिए। केही दिनअघि कुमारी रथयात्राको सम्झना गर्दै असनका स्थानीयले सानो खेलौना रथ बनाएर तानेका थिए। महामारीबीच थोरै उपस्थिति भए पनि सबैको अनुहारमा उल्लास झल्किन्थ्यो।

यस वर्ष पाटनमा जे भयो, आजभन्दा बाह्र वर्षअघि काठमाडौंको इन्द्रजात्रामा त्यस्तै घटना भएकाले पनि आफूहरू पहिल्यै सतर्क भएको उनी बताउँछन्।

यो २०६५ सालको कुरा हो। पुष्पकमल दाहाल नेतृत्वको माओवादी सरकारले इन्द्रजात्रामा देखाइने लाखे, पुलुकिसी र सव:भक्कू नाचलाई दिँदै आएको खर्च एकाएक कटौती गर्दा काठमाडौंका स्थानीय आक्रोशित भएका थिए। जात्रा भर्न आएकाहरूको भीड आन्दोलनमा परिणत भएको थियो। ठाउँ-ठाउँमा बाटो अवरूद्ध हुँदा कुमारी रथयात्रा बीचैमा फर्काइएको थियो। जात्राको अन्तिम दिन य:सि ढाल्नुपर्नेमा त्यो पनि रोकियो।

त्यो बेला जात्रा नै स्थगित गरेर काठमाडौं आन्दोलनमय भएको थियो। पछि सहमति गरेर जात्रा सम्पन्न गरिए पनि आन्दोलन केही दिन जारी रह्यो।

एउटा सानो कुराले कति ठूलो रूप लिन सक्छ भन्ने अनुभव संगालेका काठमाडौंका गुठियारहरूले यसपालि सरकारी निर्णयको प्रतीक्षा गरेनन्। बरू आफैंले स्वतस्फुर्त रूपमा जात्रा रोक्ने प्रस्ताव अघि बढाए।

तीन महिना अघिदेखि छलफल गर्दै कुनै बाधा–अवरोधबिना इन्द्रजात्रा नगराउन भूमिका खेलेका शाक्य पाटनको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्छन्।

‘यसमा म निशेधाज्ञा उल्लंघन गर्दै रथ तान्न आएका जनताको दोष देख्दिनँ। उनीहरू त रातो मच्छिन्द्रनाथप्रति आस्था र आफ्नो संस्कृतिप्रतिको भावनाले आएका हुन्,’ उनले भने, ‘यो स्थिति ल्याउन गुठी संस्थान, त्यहाँको प्रशासन र स्थानीय सरकार चुकेको छ।’

स्थानीय सरकार र प्रशासनले रातो मच्छिन्द्रनाथसँग सम्बन्धित गुठी खलःहरूलाई समयमै डाकेर जात्रा गर्ने कि नगर्ने र गर्ने भए कसरी गर्ने भनी निर्णय लिनुपर्थ्यो।

‘यस्तो अवस्थामा जात्रा गर्नुपर्छ र गर्नुहुन्न भन्ने दुईथरी समूह हुनु स्वाभाविक हो। सबैलाई विश्वासमा लिएर बीचको बाटो अपनाउनु सरकार र प्रशासनको जिम्मेवारी हो,’ उनले भने।

उनले अगाडि भने, ‘सरकार र प्रशासन आफ्नो काममा चुक्दा रातो मच्छिन्द्रनाथको जात्रा ‘महाजात्रा’ भयो। यही अवस्था नआओस् भनेर हामीले पहिलैदेखि तयारी गरेका हौं।’

Leave a Reply

error: Please Dont Copy My Content!! !!