Tuesday, September 29, 2020
Home > समाचार > बेसारपानीको भर नपरेर चाँडो अस्पताल ल्याएको भए बुवा बाँच्नुहुन्थ्यो कि!

बेसारपानीको भर नपरेर चाँडो अस्पताल ल्याएको भए बुवा बाँच्नुहुन्थ्यो कि!

कोरोना संक्रमण देखिएपछि हिजोआज म पाटन अस्पतालको आइसोलेसनमा छु। मेरो आमा, भाइ, र छोरा पाटनकै आइसोलेसनमा छौं। हामीलाई यहाँ एउटै कोठामा बस्ने व्यवस्था अस्पतालले मिलाएको छ। आमालाई डाइबेटिजले पनि पिरोलेको छ । कोरोनासँगै डाइबेटिज उच्च विन्दुमा पुगेकोले उहाँलाई गाह्रो भइरहेको छ। मेरो बुवा पनि पाटन अस्पतालमै हुनुहुन्थ्यो। ७४ वर्षीय उहाँको भदौ ८ गते मृत्यु भयो। उहाँ पनि कोरोना संक्रमित हुनुहुन्थ्यो।

गत साउन अन्तिम साता बुवामा कोरोना देखिए पनि केही दिन घरमै राख्यौं। हामीलाई सल्लाह दिनेहरूले बेसार पानी, तातोपानी खाँदा निको हुन्छ भनिदिए । त्यसैले बुवालाई अस्पताल ल्याउन पनि केही दिन ढिला भयो । कोरोना देखिनेबित्तिकै उहाँलाई मैले अस्पताल किन ल्याइनँ होला? बचाउन सकिन्थ्यो कि! अहिले मलाई यो कुराले निकै पीडा भइरहेको छ।

हामी काठमाडौंको विशालनगर बस्छौं। मेरो बुवा यज्ञमान श्रेष्ठ समाजसेवा र राजनीतिमा लाग्नुभएको धेरै समय भएको थियो। उहाँलाई धेरैले चिन्छन् पनि। विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरममा बुवा काठमाडौं जिल्ला अध्यक्ष भएर काम गर्नुभयो। उहाँ इमान्दार हुनुहुन्थ्यो, ढाँट-छल गरेको मलाई याद छैन।

यहाँ अस्पतालले हामीलाई सक्दो सहयोग गरिरहेकै छ। डाक्टर तथा नर्सहरू आवश्यकताअनुसार रहेनछन् कि क्या हो अलि थौरै देख्छु। राम्रो रेस्पोन्स गरिरहेका छन्। डाक्टरहरू बेलाबेला चेकअप गर्न आइरहन्छन्।

हामीलाई कसरी कोरोना लाग्यो नै थाहा छैन। गत साउनको कुरा हो, म घरमा सुतिरहेको थिएँ, छोराले ज्वरो आयो भन्यो। छोरा र मेरो बुवासँगै सुत्नुहुन्थ्यो। जताततै कोरोनाका कुरा भइरहेका बेला ज्वरो आएको भनेपछि म झस्किएँ। तुरून्तै बुवा र छोरा ह्याम्स अस्पताल लगें।

अस्पताल छिर्नुअगाडि त्यहाँ ज्वरो नाप्ने रहेछन्। दुबैको ९७ देखायो। हामीसँग बुवाको एक जना साथी पनि सँगै जानुभएको थियो। दुई जनाकै कोरोना परीक्षण नगरौं एकजनाको मात्रै गरौं पोजेटिभ देखिए फेरि गरौंला भन्ने कुरा भयो।

बुवाको स्वाब दिइयो। अस्पतालले २४ घण्टामा रिपोर्ट आउँछ भनेको थियो। भोलिपल्ट बेलुकी करिब ९ बजेतिर भाइ रिपोर्ट लिन अस्पताल गएको थियो। बुवाको पोजेटिभ रिपोर्ट आएको भन्ने सुनेर हामी आत्तियौं।

अस्पताल खोज्नतिर लागियो। तर बेड खाली छैन भन्ने जवाफ धेरै अस्पतालबाट आयो। बुवाले पनि घरमै कोठामा बस्छु। तिमीहरूले खाना ल्याइदिनू भन्नुभयो। अस्पताल जाऊँ न बुवाभन्दा बेसार पानी खानुपर्छ, तातोपानी खानुपर्छ निको हुन्छ भन्नुभयो।

बुवालाई कोरोना देखिएपछि परिवारका सदस्यलाई पनि कोरोना परीक्षण गराउनु पर्ने भयो। कहाँ गएर परीक्षण गर्ने भन्ने भइरहेको थियो वडाका प्रतिनिधि आए। हाडीगाउँमा परीक्षण भइरहेको भनेपछि त्यहाँ गइयो। हाम्रो परिवारमा आठ जना थियौं। हामी सबैले हाडीगाउँमा गएर स्वाब दियौं। २४ घण्टामा रिपोर्ट आउँछ भनियो तर दिइएन।

तीन दिनसम्म पनि रिपोर्ट आएन। यसबीचमा हामीलाई धेरैले अस्पताल जाऊ भनेनन्। बरू तातोपानी खानुपर्छ, बेसारपानी खानुपर्छ भन्ने सल्लाह दिइरहे। बिरामीलाई अस्पताल लैजानै पर्छ भनिदिने मानिस भएन। यसबीचमा हाम्रो पनि कोरोना पोजेटिभ भएको रिपोर्ट आयो। मेरो र भाइको श्रीमतीलाईबाहेक अरूलाई कोरोना पोजेटिभ देखियो।

हामीलाई पनि कोरोना लागेको भन्ने रिपोर्ट बेलुकीको करिब ५ बजेतिर आएको हुँदो हो। यो कुरा बुवाले पनि थाहा पाउनुभएछ। पहिले हार्ट अट्याकसमेत भइसकेका बुवालाई परिवारका अधिकांश सदस्यलाई कोरोना लागेको थाहा पाएर हुनुपर्छ निकै गाह्रो भइरहेको थियो।

अब अस्पताल जानुपर्छ भनेर मेरो आमाले भन्नुभयो। बुवालाई पनि अस्पताल जानुपर्छ भन्नुभयो। हामीले अस्पतालमा फोन लगायौं। धेरैजसोले बेड खाली छैन भने। पाटनमा खाली रहेछ। एम्बुलेन्सले बुवाआमालाई पाटन अस्पतालमा पुर्‍यायौं। म पनि आफ्नै गाडीमा एम्बुलेन्सको पछिपछि पाटन पुगेँ।

बुवालाई आइसियू र आमालाई आइसोलेसनमा लग्यो। लिफ्टसम्म मैले नै बुवालाई छाडिदिएको थिएँ। आमालाई प्रेसर पनि छ। बुवालाई आइसियूमा राखेको दुई दिनमै डाक्टरहरूले मलाई फोन गरेँ- बुवाको निधन भयो भने।

बुवालाई राखेको ठाउँमा दौडेर गएँ। हामीलाई काजकिरिया गर्न नदिने, आर्मीले नै शव जलाउँछ भन्ने कुरा गरे। म टाढै बसेर धुपबत्ति बाल्छु भन्दा पनि चिकित्सकहरूले नियम छैन भने। त्यो दिन शव पशुपति नलैजाने कुरा भयो।

हामीलाई त्यसअघि अस्पतालको विभिन्न कोठामा राखिएको थियो। बुवाको निधनपछि सबैलाई एउटै कोठामा बस्ने व्यवस्था गरिदिए। म यहाँ अस्पताल आएकै आमालाई रेखदेख गर्न हो भनेर कडासँग कुरा राखेपछि हामीलाई एउटै कोठामा राखिएको हो।

बुवाको निधन भएकोबारे आमालाई जानकारी दिइएको थिएन। केहीबेर अगाडि बुवालाई हेर्न आमालाई लगेर ल्याइएको थियो। तर आमाले बुवा हुनुहुन्न भन्ने अनुमान गरिसक्नु भएको रहेछ। रोइरहनुभएको थियो। भोलिपल्टको कुरा हो। हामीलाई राखेको ठाउँ नजिकै स्टोर रूममा मैले तीन वटा शव देखेँ। ती शवहरू हेर्दा एउटामा बुवाको नाम लेखेको रहेछ। मैले बुवालाई पानी चढाएँ। पानी खुवाइदिएँ। बत्ती बालेँ।

केहीबेरमा नेपाली सेनाहरू शव लैजान भन्दै आए। बुवाको शव भएको ठाउँमा आमा पनि आउनुभयो। बुवाको खुट्टा ढोग्नुभयो। बुवाको अन्त्येष्टिमा म जान पाउनुपर्छ भन्ने मेरो माग सुनुवाइ भएन। म जेठो छोरा हुँ। हाम्रो आफ्नै हिन्दु संस्कार पनि छ। हामी आइसोलेसनमा बसिरहँदा डाक्टर, नर्स आउनुहुन्छ। म रोइरहेको छु भने पनि मेरो आँशु पुछिदिनुहुन्छ, नरून र कमजोर नहुन सम्झाउनुहुन्छ। चिकित्सकहरू कोरोनाका बिरामीसँग डराउनुहुन्न। पिपिईलगायत सुरक्षाका उपाय लगाउनुभएको हुन्छ।

मैले के भन्न खोजेको भने कोरोनाबाट परिवारका सदस्यको मृत्यु भएपछि किन परिवारका सदस्यहरूलाई अन्त्येष्टिमा सहभागी हुनबाट बञ्चित गरिएको छ? कोरोनाबाट आफन्तको मृत्यु भएको छ भने लापरवाही तरिकाबाट शव छुनेखालका गतिविधि त परिवारले पनि गर्दैन। सजग त भइहाल्छ। एउटा मापदण्ड बनाएर शव अन्त्येष्टिका बेला आफन्त जान दिइनुपर्छ।

परिवारका सदस्य जान पाउने सिष्टम नै छैन भनेर पन्छिन खोज्छन्। सिष्टम नभए बनाउनुपर्‍यो नि। बरू निश्चित दूरीसम्म मात्रै जान पाउनेजस्ता मापदण्ड राखियोस् न। बुवाको अन्तिम संस्कार गर्न नपाउँदा मलाई सन्तोष भएन। मलाई जिन्दगीभर चोट पुग्ने काम भएको छ।

अर्को एउटा विषयले मलाई अहिले पोलिरहेको छ। पछुतो लागिरहेको छ, घरमा तातोपानी, बेसारपानी खाएर राख्नुभन्दा बुवालाई एकदुई दिन पहिले अस्पताल ल्याउन सकेको भए बचाउन सकिन्थ्यो कि भन्ने। यो पीडा पनि मनमा गहिरोसँग परेको छ।

हामीले ख्याल गर्नुपर्ने अर्को महत्वपूर्ण कुरा पनि म भन्न चाहन्छु। कोरोना संक्रमण भएका व्यक्तिले प्रयोग गरेका सामानहरू अरूले प्रयोग गर्दा पनि कोरोना सर्छ। मानिसहरू घरमा बस्दा मास्क लगाउँदैनन्, सामाजिक दूरी कायम गर्दैनन् यसले पनि एक जनामा कोरोना लागे सबैमा सर्ने रहेछ।

कोरोना लागे पनि हामीलाई लक्षण देखिएको थिएन। अहिले पनि म त बलियो नै छु जस्तो लाग्छ। पुस अप गर्न सक्छु जस्तो लाग्छ। हामी लामो समयदेखि आइसोलेसनमा बसिरहेकोले आज कुन दिन के बार भन्ने पनि कन्फ्युज भइरहेको छ।

कोरोनाको लक्षण नदेखिए पनि चेकअप गर्नुपर्ने रहेछ। किनभने हामीले बिरामी बुवाआमालाई सार्न सक्छौं त्यसैले पछिल्ला दिनमा संक्रमितहरू वृद्धि भइरहेका छन्। घरमा एउटै भाँडामा खाना नखाने, एउटै चम्चाको पनि प्रयोग गगर्ने र साबुनपानीले हात पटकपटक धोइरहने गरी सावधानी अपनाउनु पर्ने हुन्छ।

कोरोनाबारे मानिसहरूले दिमागमा भरिदिएको भ्रमले गर्दा के गर्ने नगर्ने हुँदो रहेछ। अस्पतालले पनि शैया खाली भए पनि खाली छैन भनिदिने रहेछन्। यहीँ पनि कति वटा बेड खाली छ तर खाली छैन भनिदिइरहेका छन् किन हो कुन्नी?

सेताेपाटीमा प्रकाशित सामाग्री ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!