Sunday, July 11, 2021
Home > साहित्य > बिनारानीको कथाः स्वप्निल नीरव

बिनारानीको कथाः स्वप्निल नीरव

बिनारानीको कथाः स्वप्निल नीरव । राजारानीको कथा मैले खास सुनिन । सानो छँदा बाजे र बाले जहिल्यै भूतप्रेत र बोक्सीकै कथा सुनाउनुहुन्थ्यो । आमा लोकगीतका टुक्राटुक्री मात्रै सुनाउनुहुन्थ्यो । बाजेको कथा सुन्न हामी गोलो भएर बस्थ्यौं । कथाको कलाइमेक्ससम्म आइपुग्दा म सबैको बीचमा पुगिसकेको हुन्थेँ । डरले मुटु काँपिरहेको हुन्थ्यो । तर कथा सुन्ने बानी यसरी बिकसित भएको थियो कि, बाजेको कथा नसुनी चित्त बुझ्दैनथ्योे ।

राजारानीको कथा त कथा सुन्न र पढ्न थालेको धेरैपछि मात्र पढेँ । मुमताज शाजहाँको कथा, हीर राँझाको कथा । र पछिल्लो पटकरानी तेजकुमारी र राजा खड्ग शमशेरको कथा । शाहजहाँले मुमताजका लागि ताजमहल बनाए रे । खड्ग शमशेरले चाहिं रानीमहल । ताजमहल धेरै पटक पढेको छु । कल्पनामा कहिले काँही प्रियसँग त्यहाँ पुगेको पनि छु । के गर्नु ? कुनै कुनै कथा र कथाका पात्रले यसरी लोभ्याउछ कि, त्यही कथाको जीवन बाँच्न मन लाग्छ । पात्रको अनुभूति बोकेर हिंड्न मन लाग्छ । रानीमहलको बारे चाहिँ धेरैपछि मात्र पढेँ । भनिन्छ नि, नजिकको तिर्थ हेला । यस्तै ठान्नुस् । आफ्नै आँगनको अर्थात आफ्नै ठाउँकोबारेमा धेरै पछि मात्र पढेँ । नजिकका साथीभाइ भेला भएको बेला यसको प्रसङ्ग चल्न थालेपछि रानीमहलसँग झनै गहिरो प्रेम भयो । तर परिस्थिति यस्तो भइदियो कि, त्यहाँसम्म पुग्न वर्षाै प्रतिक्षा गर्नु पर्‍यो ।

स्वप्नील र उनका साथीहरू

ब्यक्तित्व जत्तिकै आकर्षक लाग्छ उहाँका कविता । उहाँ अर्थात बिना तामाङ । सुरुवात ताका कथा विशेष लाग्थ्यो । तर पछि कथा जत्तिकै उहाँको ब्यक्तित्व आकर्षक लाग्न थाल्यो ।‘छुकी’ कथा संग्रह सुरक्षित छ मसँग । मैले तिब्बत नैनासँग उहाँको बारे खुब चर्चा पनि गरेँ । कसैबाट प्रभावित भएपछि उसको चर्चा गर्नु स्वभाविक हो । केही वर्ष काठमाडौ टिकेको भए उहाँको नजिक जान्थेँ हुँला । थुप्रै कवितात्मक सहयात्रा जुर्थ्यो होला । तर मैले काठमाडौ छाडेँ । अनि हराएँ बालुवामा पानी हराए झै । म हराएपछि उहाँका कविता आउन थाले । ‘रातो घर’ कविता संग्रह पनि आयो । उहाँको ब्यक्तित्व र कथाबाट कवितातिर ध्यान मोडियो । फोन च्याटबाटै भएपनि निकटता कायम राख्ने कोशिस गरेँ । यही निकटताकै परिणती हुनुपर्छ । एकदिन भन्नुभयो —पाल्पा आउँछु । मैले सोधिहालेँ—पाल्पा आएर के हेर्ने ? उहाँको जवाफ थियो—रानीमहल र श्रीनगर ।

श्रीनगरको डाँडोमा बसेर प्रियको कल्पना गर्दै कविता लेख्दाको थुप्रो अनुभव छ मसँग । मलाई यस्तो लाग्छ, पुरै रात गुजारुँ प्रियसँग त्यहाँ । र एउटा गतिलो कविता लेखुँ प्रेम र प्रकृति मिलाएर । के बिना तामाङहरु पनि कविता र प्रेम खोज्न आउदैछन् रानीमहल र श्रीनगरमा ?

कच्ची सडक धुलौटे बाटो भएर बिना तामाङ र डोल्मा लामा रामपुर आउनु भयो । राजधानीको सडकमा गुड्ने बानी लागेकाहरुका लागि तीन हात माथि उफ्रने गाडी चढ्नु,त्यो पनि धुलाम्मे सकडमा मुस्किल थियो । यद्यपि बिना र डोल्मा आउनु भयो रामपुर । डोल्मा लामासँग खास पुरानो चिनजान थिएन । यद्यपि जब भेटेँ । लाग्यो— कञ्चन हिउँखोला हो डोल्मा । जसमा पौडिने रहर धेरैमा हुन्छ । तर त्यो मौका कमैलाई जुर्छ । त्यस्ता कञ्चन बगाइ डोल्माहरुमै मात्र हुनसक्छ । ढुङ्गाहरुको ठेस् बिर्सेर पाखा पर्वतहरुलाई डाह लाग्ने गरी बग्न सक्ने खुबी र हिम्मत कमै हिउँखोलाहरुमा हुन्छ । त्यै हिउँखोला हो डोल्मा ।

साँघुरो सडक, कोचाकोच मान्छे । सिलुवा पुग्दा एउटा मान्छे गाडी चढ्यो । मैले सोधेँ—कहाँबाट आउनुभयो ? उसले भन्यो—ओ अर्चलेबाट आउनुभाको । म हाँसेँ आफैसँग । मगर कुरा ज्यादा बोल्ने मान्छे कहिले काँही अरुलाई सम्मान गर्छु भन्दा आफ्नै सम्मान हुन्छ । मगर कुरामा तिमी तँ तँपाई हजुरको खास भेद हुँदैन । अतः खस कुरा बोल्दा पनि झुक्किने सम्भावना ज्यादा हुन्छ । त्यो मान्छेले झोलामा बेलौती बोकेको थियो । ऊ चढेदेखिनै बेलौतीको बासना आइरहेथ्यो ।
बडो मुस्किल भयो तानसेनसम्म पुग्न । मलाई त जिऊ बिसाउन मन थियो । तर डोल्मा र बिनाको श्रीनगर जाने रहर । ट्याक्सीले श्रीनगर पुर्‍यायो । तर रात उदाइसक्यो ।

कति रहर थियो श्रीनगरको डाँडोमा लगेर तानसेन बजार, मदनपोखरा माडीफाँट देखाउने । चैतबैशाख लागेपछि डाँडै रात्तिने गरी गुराँस फुल्ने पाखा देखाउने । पाल्पाली ढाका र करुवाको महत्व बुझाउने । श्रीनगरको डाँडोमा बसेर दुइचार प्रेम कविता सुन्ने । र सुनाउने पनि । तर रात उदाइहाल्यो । मैले त भनेको पनि हुँ—हजुरहरुलाई डर लाग्दैन भने जूनको उज्यालोमा पनि श्रीनगर देखाउन सक्छु । तर उहाँहरुलाई डर लाग्यो । डर त्यहाँ भेटिएका ठिटाहरुसँग थियो या आफैसँग ? यो प्रश्नको जवाफ त बिना डोल्मासँग नै होला । मलाई भने खास डर लागेको थिएन । सत्य भनुँ ? मलाई डर कमै लाग्छ । अझ एक दुइ साथी साथ भएको बेला त झन् लाग्दै लाग्दैन । केटाहरुले हमला गरिहाल्यो भने फाइट ब्याक गर्न सक्छु जस्तो लाग्छ । तर जहीं तहीं खतरा मोलिहाल्न सकिन्न । अझ रातको बेला एकान्त कुरी बस्नेहरुसँग त झन् जोखिम हुन्छ ।

राती पटक्क निंद परेन । दुबै कविता लेख्न बस्यौं । उहाँको त तयार भइहाल्यो तर मेरो त केही हरफ केरिए मात्रै । जवरजस्ती पनि कविता लेखिने चीज हो र ? दश बजेतिर दुबै तामाड्डनीहरु निदाउनु भयो । तर मगर्नीलाई निंद परेन । टाउको घुमाइरह्यो । भोलि भयो । जाँगर पटक्क थिएन ममा । तर फेरि ओरालियौं रानीमहल तर्फ । चिसो मौसम, कच्ची सडक भएर रानीघाटसम्म पुग्दा मेरो जिउको तागत सबै हराइसकेको थियो । तर त्यहाँको मौसम र बिना डोल्माको उत्साहमा यस्तो मादकता थियो कि, म पनि रमाउन थालेँ । हल्ला नगरी बगिरहेकी काली, कालीको किनारमा उभिएर थपक्क बसेको रानीमहल । अझ त्यसै माथि बिना डोल्माको भर्खर भर्खर चढ्दै गरेको बैशालु उत्साह । यस्तो लाग्यो, यी दुइ जीवन बाँचिरहेछन् कि ? मलाई जीवन बाँच्न सिकाइरहेछन् ? दुइ जना रानीमहलका चोटा कोठा चहार्दै दर्गुन थाल्नुभयो ।

भर्खर उदाएको सूर्यनारानको तातो स्पर्श पाएर म पनि तङग्रिएँ । हामी कालीको छेऊमा धेरैबेर गफियौं । प्रेम आफै मा सुन्दर नाम हो । अझ यसको अनुभूति त झनै सुन्दर हुन्छ । एकदमै कमलो, सुवासित र लचिलो । रानीमहलले प्रेम ब्युँताइदियो । म कल्पना गर्दैथेँ, यहाँ मेरो प्रिय भएको भए मेरो अनुभूति पनि रानीको भन्दा कम हुने थिएन । तर त्यो कल्पना पनि यस्तो तितो कि, निलुँ कि ओकलुँ जस्तो । रानीमहलको छेऊको भिरको रुखमा झुण्डिएको लहराको तीन वटा फल टिपेर ढुंगालो त्यसमा स्वप्निल बिना अनि डोल्मा लेखेँ । अल्लारे छँदा हाम्रा साथीहरु केत्तुकेमा मन परेको मान्छेको नाम लेख्थे फलाना+फलाना भनेर । म पनि केही क्षणका लागि अल्लारे बनेँ ।

महलको चारैतिर पारिजात फुलेर सेताम्मे झरेका । यी पारिजातहरु पनि म जस्तै कमजोर हुन्छन् । फुल्ने हिम्मत त गर्छन् । फुलिरहने हिम्मत गर्दैनन् । अझ भनुँ, फुलेर मस्त यौवन छर्दै भमराको स्पर्श सहने हिम्मत गर्दैनन् । त्यै झरेको पारिजातलाई डोल्मा र मैले झारमा उनेर बनाएको सुन्दर माला बनाएर पहिराइदियौं बिना रानीलाई । उहाँ रानी भन्दा कम हुनुहुन्छ र ? डोल्मा रानी या कुनै परी भन्दा कम हुनुहुन्छ र ?रानीमहलको विशाल प्रकृतिको अगाडि उहाँहरुको चञ्चलता र गुनगुनले परीको सम्झना दिलाइरहेथ्यो ।

नदीपारि स्याड्डजा । पारिपट्टि बिशाल जंगल छ । पारि जाने एउटा पुल छ । पुल त बिना र म बीच पनि छ । कविता कथाको पुल । पुल तरेर गइयो भने ओ माथि स्याङ्जाको डाँडामा आलमदेवीको मन्दिर छ । हिंडेर कम्तीमा डेढ दुइ घण्टामा त अवस्य पुग्थेँ । तर बिना डोल्माको हिम्मत होला त्यहाँसम्म हिंडेर पुग्ने ? मसँग त अभ्यास छ उकालो ओरालोको । अतः त्यसैले भनेको उहाँहरुसँग त यस्ता हिंडाइको अभ्यास छैन ।

शाह राजाहरुको कुलदेवताको रुपमा परिचित आलमदेवीको मन्दिरमा केही वर्ष अघिसम्म शाह परिवार आएर पुजा गर्थेरे । अहिले शाहहरुको अहम पनि ढल्यो । र आलमदेवीमा शाहहरुले पुजा गर्ने चलनको पनि अन्त भयो । पुलको नजिकै भिरमा एउटा सानो झुपडी छ खरले छाएको । झुपडीमा थिइन् एउटी आमा । साठी निख्रिइसकेकी ती आमामा अझै जिन्दगीसँग जुध्ने हिम्मत छ । यस्ता कति आमाहरु छन् जसको जिन्दगीको खम्बा कमजोर भइसक्यो । तर ठड्याउने कोशिस गरिरहन्छन् । भिरमा लहरिएका बन्कसी ल्याएर चुहिएको छानो छाउने हिम्मत गर्छन् । हिम्मत र जिन्दगी त तिनै आमा बाहरुबाट सिकिन्छ ।

रानीघाटबाट तानसेन फर्केपछि टुडिखेल छेवैको रुखको छहारीमा सुस्तायौं । तर समय यस्तो निष्ठुर कि, क्षणमै हामीलाई अलग पार्न तम्सिइहाल्यो । अरुको जहान परिवारलाई आफ्नै ठानेर रोक्न कसरी सक्थेँ । जिन्दगीमा यस्ता भेटघाट र रमाइलोका अलावा पनि कति महत्वपुर्ण दैनिकी हुन्छ । उहाँहरुको पनि आफ्नै जिन्दगी र दैनिकी थियो । अघिल्लो साँझ उहाँको छोरोले आफ्नो टाइ, अरु पनि सामान कहाँ छ भनेर फोनबाट जानकारी लिंदै थियो ।

यसबाट प्रमाणित हुन्छ कि, एउटी महिलाले घर छोेडेर हिंडेपछि कति काम बित्छ । ऊ त सानो बच्चा भइहाल्यो । ठाउँ ठाउँमा सस्तै घरहरु छन् जहाँ श्रीमती बिना श्रीमानको टाइ भेटिन्न । जुत्ता मोजा भेटिन्न । मेरी एउटी साथी छे । त्यो पनि लेख्थी । तर श्रीमानको सेवा, सानो नानीको सेवा घरधन्दा र जागिरले उनको लेखनलाई नै ओझेलमा पारिदियो । बिना तामाङ सायद ती हराइहाल्ने वा आसा मारिहाल्नेमा पर्नुहुन्न । वा उहाँलाई घरपरिवार र श्रीमानबाट सहयोग होला र त यहाँ हुनुहुन्छ । नत्र उहाँलाई पनि घरधन्दा र जागिरले खाइसक्थ्यो । र कवि कथाकार बिना तामाङ ओझेलमा परेर एउटी श्रीमती या आमा बुहारी बिना तामाङ मात्र बाँकी रहने थियो । अनि म ? के म हराउनेमा पर्छु ? बारम्बार आफैसँग सोध्ने गर्छु । र जवाफ दिन्छु आफैलाई -नाइ हराउनेमा पर्दिन । तर कस्तो अमिलो जवाफ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!