Tuesday, August 11, 2020
Home > समाचार > फेरि लकडाउन सहि कि गलत? सरकार भन्छ– के गर्ने तपाईंकै हातमा छ

फेरि लकडाउन सहि कि गलत? सरकार भन्छ– के गर्ने तपाईंकै हातमा छ

काठमाण्डाैं । बिगत ४ महिना अगाडि सरकारले १ सय २० दिन लामो लकडाउन अन्त्य गरेपछि यतिबेला जनजीवन सहज बनेको छ । सार्वजनिक बस चल्न थालेका छन् । उद्योग कलकारखाना, व्यापार, व्यवसाय पूर्ववत् अवस्थामा फर्किंदै छन् । साउन १५ गतेदेखि पर्यटन क्षेत्र, होटल, रेस्टुराँ, ट्राभल एजेन्सीहरू पनि खुला गरेको छ । आगामी भदौ १ गतेदेखि विद्यालय भर्ना र हवाई उडान पनि सुरु गर्ने सरकारको तयारी छ ।

तर राजधानी काठमाडौँसहित देशका केही भागमा कोरोना सङ्क्रमण दर बढ्दै गएकाले यसको जोखिम कम नभएको विज्ञहरूले बताउँदै आएका छन् । काठमाडौँस्थित प्रहरी मुख्यालयमा ७२ जना प्रहरीलाई सङ्क्रमण भएको छ भने महानगरीय ट्राफिक प्रहरी महाशाखामा २ जनामा कोरोना सङ्क्रमण देखिएपछि महाशाखा प्रमुख एसएसपीसहित ३ सय ७५ प्रहरी क्वारेन्टिनमा बसेका छन् । पहिलेभन्दा काठमाडौँमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।

नेपालमा हालसम्म २० हजार ८६ जनामा कोरोना सङ्क्रमण भएकोमा १४ हजार ४ सय ९२ जना उपचारपछि फर्किएका छन् । ५६ जनाको निधन भएको छ भने ५ हजार ५ सय ३८ जनामा सङ्क्रमण सक्रिय रहेको छ ।

सबैले मास्क लगाए लकडाउन हुँदैन : सीसीएमसी प्रवक्ता

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का प्रवक्ता महेन्द्र गुरागाईं फेरि लकडाउन हुने हल्ला चले पनि लकडाउन गर्ने सम्भावना नभएको बताउँछन् । उनले लकडाउन गर्ने कि नगर्ने भन्ने कुरा नागरिको हातमा रहेको बताउँछन् । उनले मास्क लगाउने, दूरी कायम गर्ने, स्वास्थ्य सुरक्षा सावधानी अपनाउने हो भने सङ्क्रमणको दर कम हुने र लकडाउन नहुने बताए । यसका लागि सबै पक्ष सचेत हुनुपर्ने प्रवक्ता गुरागाईंले रातोपाटीलाई बताए ।

उनले भने– ‘सबैले मास्क लगाएको छ कि छैन पुलिसले मात्र हेर्न सक्दैन, तपाईं हामी सबै सिपाही हुनुप¥यो । प्रहरीले हेरिरहेको छ, सीडीओबाट जरिवाना गराउने काम पनि भइरहेको छ । झन्डै ४० लाख जनसङ्ख्या छ, सबै प्रहरीले रुँघेर पनि सक्दैन । सबै प्रहरी बन्नुपर्ने अवस्था छ । आफू सुरक्षित हुने अरूलाई पनि सुरक्षित राख्नुपर्ने भएको छ ।’

यस्तै खुला गरिएका सेवाहरू मापदण्डका आधारमा चलाउन सरकारले अनुगमनको काम थालेको उनले बताए । होटल रेस्टुराँहरू, पर्यटन क्षेत्र साउन १५ देखि खुला गरेपछि ती क्षेत्रमा मापदण्ड पूरा गरे नगरेको बारे अनुगमनका लागि पर्यटन मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । यस्तै बजार क्षेत्रमा स्वास्थ्य मापदण्ड पूरा गरे नगरेको बारे अनुगमन गर्नका लागि वाणिज्य विभागलाई जिम्मेवारी दिइएको छ । त्यसका लागि गृहमन्त्रालयले सघाउने उनले बताए । सरकारले कोरोना सङ्क्रमण फैलिएको क्षेत्रबाट राजधानी प्रवेश गर्नेहरूको स्वास्थ्य परीक्षण गरी मापदण्ड पूरा गरेर मात्र राजधानी भित्रिन दिने उनको भनाइ छ ।

उनले भने– ‘सङ्क्रमणको सम्भावना भएकाहरूको स्वाब सङ्कलनको काम भइरहेको छ । सङ्क्रमण भएकाहरू अस्पताल जान्छन् । त्यो भएपछि सङ्क्रमण फैलिँदैन तर सबै यता र उता गर्ने हो भने भीडभाडमा बस्ने, मास्क नलगाउने, स्वास्थ्य प्रोटोकललाई पालना नगर्ने हो भने आफू पनि जोखिममा हुने भयो अरूलाई पनि जोखिममा पार्ने भयो । यसका लागि सबै सचेत हुन जरुरी छ ।’

भारतबाट आउनेहरूलाई सिमानामै पीसीआर परीक्षण गरेर क्वारेन्टिनमा राख्ने र त्यसो गर्दा कोरोना नफैलिने अपेक्षा लिएको प्रवक्ता गुरागाईंले बताए । दैनिक १० हजारसम्म स्वाब सङ्कलन गर्ने, बाहिरबाट आएकाहरूको कन्ट्याक्ट ट्रसिङका आधारमा परीक्षण गर्ने र सङ्क्रमण फैलिन नदिने सरकारले नीति लिएको उनले बताए । अहिले नेपालमा औसत दैनिक ३ सय हाराहामीमा सङ्क्रमित फेला परिरहेका छन् ।

भदौ १ बाट विद्यालय भर्ना मात्रै, विश्वविद्यालयको परीक्षा हुन सक्छ

सरकारले कोरोना भाइरस नियन्त्रणमा नआएसम्म बिद्यालयमा पठन पाठनको कामलाई अघि नबढाउने भएको छ । विद्यालयमा भर्ना गर्ने तर परिस्थिति सामान्य भएपछि मात्रै पढाइ सुरु गर्ने प्रवक्ता गुरागाईंले बताए । उनले भने– ‘कति विद्यार्थी हुन्छन् भनेर अभिलेखीकरण गर्नका लागि मात्रै विद्यालयलाई छोडिएको छ । पठनपाठन अब जोखिम छैन भन्ने बेलासम्म हुँदैन ।’ तर विश्वविद्यालयको बाँकी परीक्षा भने सुरक्षा सतर्कता अपनाएर गर्न सकिने उनले बताए ।

लकडाउनबारे जनस्वास्थ्यविद्का फरक फरक तर्क

सरकारले पूर्वतयारी बिना एकैचोटि लकडाउन खुला गरेका कारण सङ्क्रमण समुदाय स्तरमा फैलिएको र त्यो भयावह रूपमा अघि बढ्ने जनस्वास्थ्यविद्हरूले चिन्ता प्रकट गरेका छन् । जनस्वास्थ्यविद् डा. रवीन्द्र कोइराला सङ्क्रमण बढेको क्षेत्रमा १५ दिन कफ्र्यु लगाउनुपर्ने तर्क गर्छन् । यता डा. समीरमणि दीक्षित भने लकडाउनले मात्र समस्या समाधान नगर्ने भएकाले मास्क अनिवार्य गर्ने, व्यक्तिबिचको दूरी कायम गरेर यसको सामना गरेर जानुपर्ने तर्क राख्छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!