Tuesday, August 11, 2020
Home > समाचार > काेराेनाले भयावह रुप लिँदैछ, पुनः लकडाउन गर्न ढिला नगरौँ !

काेराेनाले भयावह रुप लिँदैछ, पुनः लकडाउन गर्न ढिला नगरौँ !

कोरोना भाइरस राेग (कोभिड- १९) को महामारीले विश्व व्यवस्थालाई नै तहसनहस पारिरहेको छ । नेपालमा २ जना संक्रमित देखिएपछि संक्रमण नियन्त्रण गर्न सरकारले पहिलो पटक चैत ११ गते लकडाउन जारी गरेको थियो । त्यसपछि पटक पटक लकडाउनको अवधि थप गर्दै आएको थियो । संक्रमितको संख्या झण्डै १७ हजार नाघिसकेको अवस्थामा सरकारले लकडाउन अन्त्य गर्ने निर्णय गर्‍यो ।

लकडाउन खुलेको एक हप्ता पनि ननाघ्दै संंक्रमितकाे संख्या ह्वात्तै बढेर २० हजारको हाराहारीमा पुगेको छ भने कोरोना संक्रमणका कारण ५८ जनाले ज्यान गुमाइसकेका छन् । १ नम्बर प्रदेशको राजधानी विराटनगर, २ नं. प्रदेशको राजधानी जनकपुर र वीरगञ्जका साथै ३ नंबर प्रदेश अन्तर्गत काठमाडौं उपत्याकाको स्थिति भयावह हुने दिशातर्फ उन्मुख भएको देखिँदै छ । नेपाल प्रहरीको प्रधान कार्यालयमै २ दिनमा ७२ जना प्रहरी संक्रमित भएको पुष्टि भइसकेेको छ । कर्णाली प्रदेशमा समेत संक्रमणको संख्यात्मक स्थिति भयावह बन्दै गएको छ ।

दिनानु दिन संक्रमित बढ्दै गएको यो तथ्याङ्कले स्पष्ट रूपमा के बताइरहेको छ भने हामी कोरोना कहरको उच्च जोखिमको संघारमै आइपुगेका छौँ । लकडाउन खोल्दा हतारो नगरी चरणबद्द रूपमा नगरेकै कारण करिव एक हप्तापछि देखिएको यो परिदृश्यले खतरनाक संकेत गरिरहेको छ । सरकारी कार्यालय, बजार, फुटपाथ कहिँ पनि न सामाजिक दूरी कायम गरेको देखिन्छ, न त संक्रमणबाट जोगिन अत्यावश्यक सुरक्षा प्रवन्ध नै गरिएको पाइन्छ । अझ शैक्षिक संस्थाहरू खोलेर पठनपपाठन सुचारु गर्ने तयारी चलिरहेको जानकारी सार्वजनिक भइरहेको छ ।

लकडाउनलाई हठात अन्त्य गर्नु मनासिव थिएन । बरु समुचित व्यवस्थापन गर्नु पर्ने थियो । जनस्वास्थ्यसँग सम्बन्धित विज्ञहरू भनिरहेका छन् ‘हामी सबैलाई थाहा छ, लकडाउन अनिश्चितकालको लागि कायम राख्न असम्भव छ तर संक्रमण बढिरहेको अवस्थामा, सरकारले अस्पतालको क्षमता (आईसीयू, भेन्टिलेटर, अक्सिजन आदि) नबढाइ तथा पर्याप्त परीक्षण नगरी हठात् लकडाउनको अन्त्य गर्नु जनस्वास्थ्यको मर्म विपरीत छ । जीवन र जीविका दुवै बचाउने बाटो हामीले अबलम्बन गर्नुपर्ने थियो ।’

कोरोना संक्रमण बिस्तार हुँदै गएपछि रोजगार गुमाएर भारत र अन्य मुलुकबाट नेपाली दाजुभाइ दिदीबहिनी नेपाल फर्किने क्रम शुरु हुनासाथ हामीकहाँ संक्रमणले तिब्र रुप लिएको हो । आयातित संक्रमण अब समुदायमा पुगिसकेको छ । वीरगञ्ज र काठमाडौं उपत्याकामा दिनहुँ पुष्टि भएका संक्रमितहरूको संख्याले यसतर्फ प्रष्ट संकेत गरेकाे छ ।

विदेशबाट नेपाल फर्किने क्रम जारी छ र नेपाली समाज दशैंको सम्मुख हुँदैछ । दशैं सन्दर्भले भारतीय भूमिबाट नेपाल फर्कने संख्या क्रमशः दोब्बर तथा तेब्बर हुने सम्भावनालाई नकार्न सकिन्न । अर्कातिर अनियन्त्रित तबरले उपत्याका बाहिरबाट उपत्याका प्रवेश गर्ने क्रमले पनि काठमाडौंलाई संक्रमणको उच्च जोखिम प्रदान गरेको हो भन्न सकिने आधारहरू छन् । यही स्थिति कायम रहने हो भने अत्यधिक र अव्यवस्थित जनघनत्व बोकिरहेको काठमाडौंं संक्रमणको चपेटामा पर्ने र हजारौँ नागरिकले ज्यान गुमाउने खतरा हाम्रो नाकै अघि खडा भएको छ ।

संक्रमणको यो रफ्तारलाई नियन्त्रण गर्ने हो भने सरकारले उपत्याका सहित पहिचान भइसकेका सबै जोखिमयुक्त स्थानमा पुनः लकडाउन गर्नुको विकल्प छैन । फेरि पनि लकडाउनले मात्र अपेक्षित परिणाम आउँछ भनेर ढुक्क हुने अवस्था छँदै छैन । परीक्षणको दायरालाई व्यापक गर्नु अर्को महत्वपूर्ण शर्तलाई सरकारले गम्भीरतापूर्वक आत्मसात् गर्नै पर्दछ । सरकार, कोरोनाको भयावह र घातक आक्रमणबाट आम नागरिकलाई बचाउन संक्रमणको उच्च जोखिममा रहेका भूभागमा कडा लकडाउन पुनः शुरु गर्न अब ढिला नगरौँ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!