Tuesday, July 7, 2020
Home > Uncategorized > घामै छेकेर आयो सलह, धुँवा र ढ्वाङ ठटाएर पनि भागेनन्

घामै छेकेर आयो सलह, धुँवा र ढ्वाङ ठटाएर पनि भागेनन्

काठमाडौं । गत शनिबार नेपाल प्रवेश गरेको सलह सोमबार गुल्मीको रेसुंगामा पुग्यो । रेसुंगा-१३ का वडाध्यक्ष खुमबहादुर खत्री आफ्नो वडामा मंगलबार साँझसम्म पनि सलह नभागेको बताउँछन् । थालको आवाज र आगोको धुवाँले पनि सलहलाई भगाउन नसकेको उनले जानकारी दिए ।

कृषि ज्ञान केन्द्र, गुल्मीका कृषि अधिकृत सनबहादुर राना मगर रेसुंगा, रुरु, छत्रकोट लगायतमा सलहको ठूलो संख्या आएको बताउँछन् । उनी भन्छन्, ‘घामै छेकेर आएको सलहको बथानलाई विभिन्न उपाय लगाउँदा पनि भगाउन सकेका छैनौं ।’

स्थानीय एफएमबाट सलह कसरी भगाउने भन्ने सूचना प्रवाह गरिएको उनले जानकारी दिए । केन्द्रले स्थानीयलाई धानको बिउ, तरकारीलाई जाली, तन्नाले छोप्न, आगो बाल्न सल्लाह दिएको छ ।

मकवानपुरमा पनि सलह भगाउन नसकिएको स्थानीयवासी बताउँछन् । मकवानपुरगढी-७, बतासेका सोमबहादुर स्याङतान् थाल ठटाउने, राँको बाल्ने गरेको जानकारी दिए । सिमल, चिलाउने जस्ता ठूला रुखमा बसेको सलह नभागेको स्याङतान् बताउँछन् । ‘ठूलो संख्यामा आउँदा घाम डुबेको जस्तो हुँदो रहेछ’ उनी भन्छन्, ‘चार दिन भयो भगाउन सकेका छैनौं ।’

दाङको राप्ती नगरपालिकाको वडा नम्बर २ र ३ मा ठूलो संख्यामा सलह आएको नगर प्रमुख नुमानन्द सुवेदीले जानकारी दिए । उनी आफ्नो पालिकामा सबैभन्दा बढी क्षती मकैमा पुर्‍याएको र केही स्थानबाट अझै पनि भगाउन नसकेको बताउँछन् ।

एक घर एक आगो अभियान

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले सलह जम्मा गरेर ल्याउनेलाई प्रतिकिलो एक सय रुपैयाँ दिने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष खिमबहादुर थापा जनताको सहभागितामा बिना सलह भगाउन गाह्रो भएपछि यस्तो निर्णय गर्नुपरेको बताउँछन् ।

गाउँपालिकामा एक घर एक आगो अभियान चलाएको अध्यक्ष थापाले जानकारी दिए । ‘आकाशभरि मुस्लो जस्तो भएर आएपछि गाउँपालिकाभरि नै हल्लाखल्ला भयो’ अध्यक्ष थापा भन्छन्, ‘नियन्त्रण गर्न गाह्रो होला जस्तो भए पछि प्रदेश सरकार गुहारेका छौं ।’

कालीगण्डकीका कृषि अधिकृत मनिष श्रेष्ठ मन्दिरमा भजन, शंख र स्पिकर बजाएको बताउँछन् । ‘उडिरहेको सलह ठूलो आवाज आएपछि नबस्दो रहेछ तर बसीसकेको छ भने घाम नलाग्दासम्म भाग्दो रहनेछ’ आफ्नो अनुभव सुनाउँदै श्रेष्ठ भन्छन् ।

‘सकेसम्म विषादी छर्दैनौं’

सिन्धुलीको कमलामाई नगरपालिकाको १, २, ४, ५, ७ र ८ नम्बर वडामा १३ असारदेखि सलह देखिएको छ । नगरपालिकाको विपद् नियन्त्रण समन्वय समितिले धुँवा बाल्ने, ध्वाङ बजाउने र सलह ल्याउनेलाई प्रतिकेजी ३० रुपैयाँ दिने निर्णय गरेको छ ।

कमलामाईकी उपमेयर मञ्जु देवकोटा विपद् समितिले सकेसम्म विषादीको प्रयोग नगर्ने निर्णय गरेको बताउँछन् । ‘निगुरो, गाभा टिपेर खानेहरूलाई असर गर्ला भनेर विषादी नछर्ने निर्णय गरेका छौं’ देवकोटा भन्छिन्, ‘गाईवस्तुलाई पनि असर पर्छ भनेर स्थानीयलाई पनि विषादी नछर्न भनेका छौं ।’

ओसिलो ठाउँबाट सलह नभागेको देवकोटाले जानकारी दिइन् । उनका अनुसार सलहले सिन्धुलीमा पाखाबारीको मकै, कोदाको ब्याडमा क्षती पुर्‍याएको छ ।

धान-मकै मात्रै होइन, रुखसमेत छाडेन

कपिलवस्तुमा भने सलहले धान, तरकारी, घाँस र आँपको पात सखाप पारेको छ । आधा दर्जन कृषकले क्षतिको दाबी गरेर निवेदन दिएको शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले जानकारी दिए । यद्यपि आफूहरू राहत दिने अवस्था नरहेको उनको भनाइ छ ।

मकवानपुरगढीमा भने सिमल, चिलाउने र जामुनको पात खाएको स्थानीयले बताएका छन् । मकवानपुरगढी-७ का स्थानीय सोमबहादुर स्याङतान मकैको धान जमरा र पात दुबै सखाप भएको बताउँछन् ।

स्याङ्जाको कालीगण्डकीमा ६ रोपनीमा लगाएको मकै खाएको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए । थापाका अनुसार कालीगण्डकी-४ का युवाहरूले भने सलहलाई भुटेर खाएका छन् ।

सरकारको सुझाव के छ ?

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले सलह आएको थाहा पाउनासाथ पालिका, कृषि ज्ञान केन्द्र वा स्थानीय निकायमा सूचना दिन आग्रह गरेको छ । त्यस्तै सलहबारे समुदायमा जानकारी दिन र घरको झ्याल ढोका थुन्न केन्द्रको सुझाव छ ।

केन्द्रका अनुसार भाँडाकुँडा, बाजा, लाउडस्पिकर बजाउने, आगो बाल्ने गरेर सलहको झुण्डलाई बस्नबाट रोक्न सकिन्छ । मालाथिन, ल्याम्डा साइहेलोथ्रीन, क्लोरपाइरिफोेस, डेल्टामेथ्रीन आदि पानीमा घोलेर छर्किन सकिने केन्द्रको सुझाव छ ।

धानको ब्याड, तरकारी आदिलाई भने जाली वा त्रिपालले ढाकेर राख्दा पनि हुन्छ । सलह प्रोटिनयुक्त भएकाले जम्मा गरेर हाँस, कुखराको आहारा बनाउन सकिने केन्द्रले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!