Wednesday, May 27, 2020
Home > जीवनशैली > परदेशीले सोध्छन् : रोगले भन्दा भोकले मरिन्छ जस्तो छ, दिदी प्लेन कहिले चल्छ ?

परदेशीले सोध्छन् : रोगले भन्दा भोकले मरिन्छ जस्तो छ, दिदी प्लेन कहिले चल्छ ?

म प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) मा काम गर्छु । जसले परदेशमा रहेकाको समस्या सुन्ने र समाधानको लागि सम्बन्धित निकायसँग समन्वयको काम गर्छ । यो संस्थामा आवद्ध भएपछि परदेशमा रहेका र उनीहरुका परिवारका गुनासा सुन्दै, उनीहरुको समस्याको समाधान खोज्दै कयौं दिने बिते । वर्ष बिते ।


तर यसपालि कल्पनै नगरेको समस्याले संसारलाई छोप्यो । सामान्य अवस्थामा त कहिले म्यानपावरको झुटले त, कहिले खाडीको धुपले पोलेका परदेशीलाई कोरोनाले थप नयाँ र कल्पना नै नगरेका समस्या थपिदिएको छ ।

परदेशमा मात्र होइन, कोरोनाले नेपालमा पनि प्रभाव पारेको छ । तर हामी काममा निरन्तर खटिएका छौं । अफिसको फोन मोबाइमा डाइर्भट गरिएको छ । बिहानदेखि रातिसम्म अनेक समस्या र समाधानको आशासहित फोनमा परदेशबाट नेपालीले घण्टी बजाउँछन् । तर कुनै कुनै फोन यस्ता हुन्छन्, जुन कल्पना गर्दा पनि मन चसक्क हुन्छ ।

काम नै परदेशीको समस्या सुन्ने । तर कोरोना कहर सुरु भएपछि मैले असाध्यै पीडादायी समस्या सुनें । साउदीमा रहेका एक नेपालीको फोन रहेछ । पहिलेजस्तै सोधें, तपाईँलाई कस्तो समस्या परेको छ ? उनले भने, ‘कोरोनाको बेला मेरो त सद्दे आँखा देख्न नसक्ने भएँ ।’

उनको समस्याबारे थप सोधें । उनी भन्दै गए । फलाम तताउने कम्पनीमा काम गर्दा रहेछन् । फलामे तारले देब्रे आँखाान चोट लाग्यो । कम्पनीले अस्पताल त लग्यो। तर कोरोना महामारीका कारण सम्बन्धित विशेषज्ञ भेटिएनन् । आँखाको अप्रेशन भयो । तरिका मिलेन या के भयो । सही समयमा डाक्टर नभेटिंदा उनी आँखा देख्न नसक्ने भए ।

आँखा दिनहुँ दुख्छ उनको । दुखाई बढिरहेको छ । अहिले त आँखाभन्दा बढी दुख्ने त कम्पनीको व्यवहार छ । भिसाको म्याद सकियो । साउदीको परिचय पत्र (इकामा)को पनि म्याद छैन । कम्पनीले घर फर्कनले अनुमति (एक्जिट परमिट) दिइसक्यो । साउदीको आईडी नहुँदा अस्पतालमा गएर उपचार गराउन सक्ने अवस्था छैन । घर फर्कन जहाज चल्दैनन् । के गर्ने ? उनी मलाई सोध्छन् । यसको जवाफ शायद सरकारले दिनुपर्छ ।

यस्तो समस्या सुनिरहँदा मन भारी हुन्छ । तर संसार कोरोनासँग आक्रान्त भइरहेका बेला परदेशमा ज्यान दाउमा राखेर खटिरहेकाहरुका धेरै समस्या ओझेल परेका छन् । उनलाई आफ्नो आँखाको ज्योति गुम्दा घर परिवार चाहिँ अँध्यारो हुने हो कि भन्ने चिन्ता छ । भर्खर २९ वर्षको उमेर । आँखाले संसार देख्न छोड्यो । घरमा श्रीमती र छोरी उनकै आशमा सुखी संसारको कल्पना गरिरहेका छन् । उनीले भने, ‘म त कोरोना नलागे पनि यही पीरले मर्छु जस्तो छ ।’

भन्छन्, ‘तपाईँले भन्दा हुन्छ भने मेरो नाम पहिलो प्राथमिकतामा राखिदिनुहोस् न, तपाईँले भनेको त सुन्लान्, सरकारलाई मेरो कुरा र समस्या सुनाइदिनुहोस् न ।’ उनले यसो भनिरहँदा लाग्छ, परदेशीले विभिन्न माध्यममार्फत रोइकराइ गरेको सरकारले नसुनेको होला र ! तर उनलाई चाँडै फर्कनु छ । चाँडै घर फर्कन पाए काठमाण्डौका अस्पतालमा आँखा उपचार गराउने उनको योजना छ । आँखा जोगाउन सक्थें कि भन्ने मनमा आश छ ।

यस्तो समस्या सुनिरहँदा मन भारी हुन्छ । तर संसार कोरोनासँग आक्रान्त भइरहेका बेला परदेशमा ज्यान दाउमा राखेर खटिरहेकाहरुका धेरै समस्या ओझेल परेका छन् । अहिले परदेशमा हुने धेरैका आँखाले नेपालबाट उनीहरुलाई लिन आउने जहाज हेर्न अतुर छन् । काम छैन । कमाइ छैन । कम्पनीले एक छाक खान दिएको छ । त्यो पनि ठिक छ । तर अहिले कोरोना महामारीका बेला परदेशीहरु कहाँ सुरक्षितसाथ बस्न पाएका छन् र ?

साउदीमै कार्यरत अर्का एक नेपालीले फोनमा सुनाए, ‘क्याम्पमा यति भिडभाड छ, बिरामी पनि यहीँ छन्, निरोगी पनि यही छन्, डर यति लाग्छ कि कसरी बसौं ?’ उनलाई विश्व स्वास्थ्य संठगनले अपनाउनका लागि सुझाएका उपायहरु त बताएँ, तर यसै गर भनेर कसरी भन्नु, यो बेला अर्को ठाउँमा जाने या नेपाल नै फर्कने अवस्था छैन ।

उनी सुनाउँछन्, कोरोनाजस्ते लक्षण देखिए उनीहरुलाई कम्पनीले क्याम्पभित्रै क्वारेण्टीनमा राख्ने रहेछ । तर जाँच भने नहुने रहेछ । सबैजना त्यसरी बस्नुपर्दा धेरैलाई मानसिक तनाब सुरु हुन थालेको छ । उनी सुनाउँछन्, ‘एउटा साथीको अवस्था अलि नाजुक छ, तर उपचार पाएको छैन, कतै हाम्रो पनि अवस्था त्यस्तै हुने त होइन, हामी डराइरहेका छौं ।’

उनी मात्र हैन, समस्या सुनाउन फोन गर्ने धेरैजना भन्छन्, ‘मरिन्छ कि के हो ? परिवारसँग यो जुनीमा भेट हुँदैन जस्तो छ, कोरोनाले भन्दा डरले मरिने भइयो ।’ सम्झाउन त म सम्झाउँछु उहाँहरुलाई । जति मैले बुझेको छु, त्यति उपाय र बाटाहरु पनि देखाउने कोशिस गर्छु । उनीहरुसँगको कुराकानी सकिएपछि सोच्छु, ‘आफ्नै माटोमा, आफ्नैको काखमा त हामी आत्तिएका छौं, सात समुद्रपारी उनीहरुलाई डर किन नलागोस् ।’

हामी आफ्नै घरमा त कोरोनासँग डराइरहेका छौं । झन् परदेशमा कम्पनीको क्यापमा कोचाकोच गरेर, अरुकै अर्डरमा बाँच्नुपर्दा मन किन नआत्तियोस् ! यस्तै सोच्दासोच्दै कहिले त म आफैं पनि उनीहरुको पीडामा डुब्दो रहेछु । आफूलाई नै उनीहरुको ठाउँमा राखेर सोच्दो रहेछु ।

तर खै प्लेन कहिले चल्छ ? उनीहरुका पीडालाई म आफैं पनि शब्दमा उतार्ने कोशिस गर्छु । दिनमा मेरो मोवाइलमा धेरैको फोन आउँछ । उनीहरुमध्ये धेरैजसोको समस्या र गुनासो भने उस्तैउस्तै हुन्छ । भिसाको म्याद सकिएकोे, कम्पनीले एक्जिट परमिट दिएको अथवा घर फर्कनका लागि अनुमति दिएको । जुन अनुमति दिएपछि त्यहाँको कानुन अनुसार स्वदेश फर्कनु पर्छ ।

सुन्दर सपनाको भारी बोकी आफ्नो र परिवारको उज्जवल भविष्य कोर्न अर्थात हामीहरुको मिठो भाषामा भन्नुपर्दा परदेशी बनेकाहरु र उनीहरुको प्रतीक्षामा रहेका घरदेशीहरु तड्पिएर बाँच्न विवश छन् । आफ्नै पैसाले खान खर्च व्यर्होन परेको, आफूसँग पैसा सकिएर त्यही पनि खान नपाइने अवस्था आएको समस्या धेरैले सुनाउनुहुन्छ ।

कतिले कम्पनीले नै कोठामा बस्न दिएको र योभन्दा बढी गर्न नसक्ने भन्दै नेपाल फर्कनको लागि भनिरहेको भन्ने गुनासो पनि गर्नुहुन्छ । यस्तो अवस्थामा हुनेहरु सोध्नुहुन्छ, उडान कहिले खुल्ला ? हामी कहिले फर्कन पाउँछौं ? सरकारले नै निर्णय गर्न नसकेको विषयमा म के जवाफ दिउँ । थाहा छैन, निश्चित छैन भन्न पनि मन मान्दैन । सरकारी नियम र यहाँको परिस्थितिका बारेमा बताउँछु। आशा लिएर फोन गर्ने उनीहरु कोही त निराश पनि हुन्छन् ।

सुन्दर सपनाको भारी बोकी आफ्नो र परिवारको उज्जवल भविष्य कोर्न अर्थात हामीहरुको मिठो भाषामा भन्नुपर्दा परदेशी बनेकाहरु र उनीहरुको प्रतीक्षामा रहेका घरदेशीहरु तड्पिएर बाँच्न विवश छन् । आज हरेक नेपाली घरको एउटा मन परदेशमा रहेका आफन्तसँग उतै छ । स्वदेशमा समेत कोरोनाको उस्तै कहर छ । उता परदेशिएकाहरु लाश पनि परदेशी भूमिमा नै विलीन हुने भयो भन्दै भगवान भरोसामा बस्न बाध्य छन् ।

समस्या जता हेर्यो उस्तै उस्तै छ । लकडाउन भएसँगै हाम्रो संस्था पीएनसीसीको काम पनि ‘वर्क फ्रम होम’ भएको छ । जहाँ सामाजिक सञ्जाल, ह्वाट्स्अप, इमो, भाइबर, म्यासेन्जर, इमेल लगायत समन्वयका माध्यम बनेका छन् । यसरी समस्यामा परेर हामीसम्म आइपुग्नेलाई हामी विभिन्न सम्बन्धित निकायसँग जोडेर समाधानका लागि प्रयास गर्छौं ।

यो परिस्थितिलाई पनि हामी जित्नेछौं । परदेशीले पनि जित्नुहुनेछ । आशा गरौं परदेशी र घरबासीको भेट पनि छिट्टै हुनेछ । खानाको समस्या आएलगत्तै हाम्रा सम्बन्धित देशमा रहेका प्रतिनिधिमार्फत समन्वय गरी व्यवस्थापन र सहयोग पनि गर्छाैं । अलपत्र पर्नुभएकालाई सुरक्षित आवासगृहमा बस्ने प्रबन्ध पनि मिलाउँछौं । यस्ता कार्यमा सम्बन्धित देशमा रहेका नेपाली दूतावासले समेत महत्वपूर्ण सहयोग र समन्वय भैरहेको छ । साथै गैरआवासीय नेपाली संघ (एनआरएनए)सँगको सहकार्यसमेत महत्वपूर्ण छ ।

सबैको सहयोग र समन्वयमा तत्काललाई समस्या समाधन त भइरहेको छ । अहिलेको यो महामारीबाट बचेर स्वदेश फर्किने सबैको ठूलो इच्छा छ । तर उडान बन्द हुँदा रोकिनेको सङ्ख्या पनि ठूलो छ ।

परिस्थिति नै यस्तो छ कि पहिलोजस्तो जहाज खुल्नासाथ आउने र घर गइहाल्ने अवस्था कहिले बन्ला यकिन भन्न सकिन्न । तर सकारात्मक सोचौं । हामीले जीवनमा अनेक परिस्थिति भोग्यौं । यो परिस्थितिलाई पनि हामी जित्नेछौं । परदेशीले पनि जित्नुहुनेछ । आशा गरौं परदेशी र घरबासीको भेट पनि छिट्टै हुनेछ । उज्यालोअनलाइनबाट ।

Leave a Reply