Wednesday, December 8, 2021
Home > Uncategorized > कलेजका युवाहरूलाइ प्रयोग गर्दै गोलघरबाटै गोरेले थाले फेरि सुन तस्करी …

कलेजका युवाहरूलाइ प्रयोग गर्दै गोलघरबाटै गोरेले थाले फेरि सुन तस्करी …

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्रिँदै आएकोमा सरकारले विशेष कडाइ गरेपछि नयाँ नाकाबाट सुन भित्रिन थालेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मङ्गलबार साँझ पाँच किलोग्राम सुन चीनको केरुङ नाका हुँदै काठमाडौँ ल्याउँदै गरेको अवस्थामा तारकेश्वर नगरपालिकास्थित तीनपिप्लेबाट एकजनालाई नियन्त्रणमा लिएको छ । गोलघरबाटै गोरेले फेरि तस्करी थालेको छ । भेटीएको पाँच किलो सुन गोरेको भएको खुलासा भएको छ ।

परिसरले आज पत्रकार सम्मेलन गरी पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई कडाइ गरेपछि केरुङ नाका हुँदै भित्रिने क्रम बढेको जानकारी दिएको छ । परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले पेटीमा बाँधेर सार्वजनिक यातायातमा चढेर सुन ल्याएको अवस्थामा पाँच किलोग्राम सुनसहित रसुवा गोसाइकुण्ड–९ घर भएका सोबहादुर तामाङलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

“प्रतिकिलोग्राम रु ५० हजार पाउने आशमा सुन ओसारपसार गरेको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो । प्रहरीले सुनसहित एक थान मोबाइलसमेत बरामद गरेको छ । यसअघि असोज ९ गते परिसरको टोलीले मोटरसाइकलमा तीन किलोग्राम सुन ल्याउँदै गरेको अवस्थामा दुईजनालाई पक्राउ गरेको थियो ।

सोही समयमा केरुङ नाकाबाट सुन तस्करी भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खोजतलास गर्दा रसुवा गोसाइँकुण्ड गाउँपालिकाका नरबहादुर घले र पेम्बा तामाङलाई नियन्त्रणमा लिएको थियो । परिसरका प्रमुख लामा सुनको मालिक अर्को भएको र भरियालाई मात्र प्रहरीले नियन्त्रणमा लिएको बताउनुहुन्छ । पक्राउ परेकालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाएको परिसरले जनाएको छ ।

पक्राउ व्यक्तिलाई भन्सार ऐन २०६४ को दफा ५७ (१) (ङ) अनुसार एक करोडभन्दा बढी पाँच करोडसम्मको बिगोमा एक वर्षदेखि तीन वर्षसम्म कैद हुने व्यवस्था रहेको छ ।

कलेजको ‘फी तिर्न’ सुन तस्करीमा, १ किलो बोकेको ५० हजार
महानगरीय प्रहरी परिसर काठमाडौंलाई मंगलवार दिउँसो सूचना आयो, रसुवाको केरुङ नाका हुँदै काठमाडौंतर्फ सुन तस्करी हुँदै छ । प्रहरीले रसुवाबाट काठमाडौं भित्रिने सबै नाकामा हाइ अलर्ट जारी गर्यो । मंगलवार दिउँसो ४ बजेदेखि नै सुन समात्न परिचालन भएको प्रहरीको टोलीका सदस्यलाई साँझ साढे ७ बजे वकिटकीमा निर्देशन आयो, सुन फेला परिसक्यो मूभ हुनु ।

प्रहरीले मंगलवार साँझ ७ : ३० बजे नुवाकोटबाट काठमाडौं भित्रिने नाका काठमाडौंको पिप्ले बालाजुमा ५ किलो सुनसहित १ जनालाई पक्राउ गर्यो । सार्वजनिक बस चढेर काठमाडौं आएका ती व्यक्तिसँग सुन होला भन्ने कसैले अनुमान पनि गर्नसक्ने अवस्था थिएन् ।

रसुवाबाट नुवाकोट हुँदै काठमाडौं पुग्दासम्म उनी अरु यात्रुजस्तै सामान्य रुपमै सार्वजनिक यातायात चढेर काठमाडौं पुगेका थिए । तर, प्रहरीले उनीसँगै सुन रहेको यकीन सूचनाका आधारमा चेकजाँच गर्दा ५ किलो सुन फेला पर्यो ।

सुनसहित पक्राउ पर्ने व्यक्ति थिए, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–९ थमान घर भएका १८ वर्षीय सो बहादुर तामाङ ।

कलेजको फी तिर्न सुन तस्करी !
१८ वर्षीय सो बहादुर काठमाडौंको एक कलेजमा कक्षा १२ मा अध्ययन गर्छन् । बिदाको बेला घर गइरहने सो बहादुरको केही समय अगाडि चिनियाँ व्यापारीसँग सम्बन्ध बढ्यो । गाउँका छिमेकीले नै उनलाई चिनियाँ व्यापारीसँग चिनाएका थिए । पहिलो भेटमै चिनियाँ व्यापारीले अाफूसँग काम गर्ने भए ठूलै पैसा पाइने प्रस्ताव राखे ।

प्रहरीको अनुसन्धानबाट खुलेअनुसार चिनियाँ व्यापारीहरुले एक पटकको कामबाट कलेजको फीदेखि अन्य दैनिक खर्च गर्न पुग्ने पैसा दिने प्रस्ताव सो बहादुरसँग राखेका थिए । ठूलै पैसा आम्दानी हुने भएपछि सो बहादुर पनि राजी भए । त्यसपछि मंगलवार कम्मरमा लगाएको पेटी र जुत्तामा सुनका डल्ला कोचेर काठमाडौंका लागि हिँडे ।

उनलाई सामाजिक सञ्जाल वीच्याटमा सम्पर्क व्यक्तिको विवरण दिइएको थियो । काठमाडौं पुगेपछि चीनमा भएका व्यक्तिलाई वीच्याटमा खबर गरे सुन लिने व्यक्ति आउने भन्ने निर्देशन दिइएको थियो सो बहादुरलाई ।

तर, काठमाडौंको जमिन टेक्दा नटेक्दै उनलाई प्रहरीले पक्राउ गर्याे । उनले कम्मरमा लगाएको कपडाको पेटीमा पकेट बनाएर १–१ किलोको ३ टुक्रा सुन लुकाएका थिए भने दुवै खुट्टामा १–१ टुक्रा सुन लुकाएका थिए । रसुवाबाट काठमाडौं पुर्याएबापत उनले १ किलो सुन बराबर ५० हजार पाउने सहमति भएको बुझिएको छ ।

प्रहरीले सो बहादुरबाट बरामद भएको सुनको बजारमूल्य २ करोड ५० लाख रुपैयाँ बराबर भएको बताएको छ । जसअनुसार उनमाथि भन्सार ऐन २०६४ को दफा ५७ (१) बमोजिम थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त लामाले जानकारी दिए ।

भन्सार ऐन २०६४ को दफा (५७) को उपदफा (१) को (ङ) बमोजिम १ करोडदेखि ५ करोड रुपैयाँभन्दा बढीको बिगो भएमा १ देखि ३ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

विमानस्थलका तस्कर केरुङतर्फ
२०४४ साल अगाडिदेखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर हुने गरेको सुन तस्करीको मुद्दा अहिले जिल्ला अदालत मोरङमा बिचाराधीन छ । विमानस्थलबाट हुने सुन तस्करीको घटना सार्वजनिक भइसकेपछि तस्करहरु भने चीनको नाकातर्फ गएको प्रहरीको दावी छ ।

साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी प्रकरणको छानबिनमा समेत सहभागी भएका एसएसपी लामा विमानस्थलबाट हुने तस्करीमा सक्रिय भएका तस्कर अहिले चीनको नाकामा सक्रिय भएको बताउँछन् । ‘विमानस्थलबाट हुने सुन तस्करी अहिले लगभग बन्द जस्तै भएको छ,’ एसएसपी लामाको दाबी छ, ‘विमानस्थलमा तस्करी गर्नेहरु अहिले केरुङतर्फ गएको जस्तो देखिन्छ ।’

मंगलवारसहित असोज महिनामा मात्रै काठमाडौं प्रहरीले ८ किलो सुन बरामद गरिसकेको छ । प्रहरीले गत सोमवार (असोज ८ गते) टोखाबाट ३ किलो सुनसहित २ जनालाई पत्राउ गरेको थियो । केरुङ नाकाबाट नेपाल भित्र्याइएको ३ किलो सुनसहित रसुवाको गोसाइँकुन्ड गाउँपालिका–१ घर भएका २४ वर्षीय नर बहादुर घले र २० वर्षीय पेम्वा तामाङ पक्राउ परेका थिए ।

प्रहरीका अनुसार मंगलवार पक्राउ परेका सो बहादुर र गत सोमवार ३ किलो सुनसहित पक्राउ परेका नर बहादुर र पेम्बाबीच चिनजान थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!